सात दशकको महान जनसंघर्ष र बलिदानको जगमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अनेक प्रश्न उठिरहेका छन् । गरिबी, बेरोजगारी, भ्रष्टाचार, अनियमितता जस्ता अपराधलाई मुल विषय बनाएर वर्तमान व्यवस्थालाई बदनाम गर्न पश्चगामी, यथास्थितिवादी र लोकप्रियतावादी शक्तिहरूलाई सक्रिय भइरहेका छन् । यता आफूलाई परिवर्तनकारी शक्ति हौ भन्नेहरूका लोभी, पापी र भ्रष्ट प्रवृत्तिका कारण पनि वर्तमान व्यवस्थामाथि प्रश्न उठेको सहज अनुमान गर्न सकिन्छ ।
साथै, राणाविरोधी आन्दोलन, जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन र दोस्रो जनआन्दोलनले सिर्जना गरेका असाधारण सम्भावनालाई राजनीतिक शक्तिहरुले सही ढंगले अंगाल्न नसक्दा आज हाम्राबीच चुनौतीको पहाड उभिएको हो भन्ने कुरा घामजस्तै छ । यस्तो बेला विगतमा भएका गल्ती कमजोरीमाथि निर्मम समीक्षा गरेर अग्रगामी शक्तिहरुले देशलाई नयाँ दिशा दिन सक्नु नै बुद्धिमता हुनेछ ।
जब संघर्ष र बलिदानलाई भुल्ने काम हुन्छ, त्यो बेला हुने यस्तै उकुसमुकुस वातावरण हो । समाजवादका कुरा गर्दा कार्ल माक्र्सपछिकी सबैभन्दा प्रभावशाली नेता रोजा लग्जमवर्ग हुन् । उनले जर्मनको प्रतिक्रियावादी सेनाका हातबाट मारिनु पर्याे । रोजाले विश्वमा वर्वता या समाजवाद ? भनिन् । हामी कहाँ जाने ? समाजवादमा । यता हाम्रा घनश्याम भुसालले भने, ‘हामी सच्चिने या सक्किने ? संविधानमा समाजवाद त लेखियो । तर, हाम्रा नेता, मन्त्री, सांसदहरुले गरेका क्रियाकलाप हेर्दा हामी उल्टो गतिमा जाँदैछौँ ।’ अर्थात्, समाजवादमाथि हमला हुन्छ । प्रहार हुन्छ । तर, विचलित हुनुहुँदैन । हामी सच्चिनुपर्छ ।
हाम्रो सामु अर्को खतरा उत्पन्न भएको छ । समाजवादबारे नयाँ भाष्य खडा गर्न खोजिँदैछ । समाजवाद, संघीयता, समावेशिता, धर्मनिरपेक्षता काम लाग्दैन भन्नेहरू देखिन थालेका छन् । आजको दिन किन यस्तो अवस्था आयो ? यस सवालमाथि जवाफ खोज्न समाजवादीहरूले यहाँनेर लेनिनलाई स्मरण गर्नुपर्छ । लेनिनले क्रान्ति गर्दा उनीमाथि दुनियाँ जाईलागेको थियो । अर्धविकसित देशमा समाजवाद आउछ ? के खोजेको तैँले भनेका थिए । लेनिनले भनेका थिए, ‘मैले एक्लै समाजवाद ल्याउने होइन । समाजवाद अन्तर्राष्ट्रिय विषय हो । उ हेर जर्मनमा समाजवादी आन्दोलन हुँदैछ ।’
भलै, जर्मनमा समाजवादी आन्दोलन सफल भएन । रोजाको मृत्युपछि जर्मनमा समाजवादका नाममा दुईवटा पार्टी गठन भए । एउटा सोसल डेमोक्रेट पार्टी, अर्को कम्युनिष्ट पार्टी । जर्मनमा त्यतिबेला आज हाम्रो जस्तै व्याप्त निराशा थियो । भ्रष्टाचार, गरिबी, बेरोजगारी थियो । त्यहिबेला हिटलर अगाडि आए र भने, ‘म पो असली समाजवादी हुँ । अरु सब नक्कली समाजवादी हुन् । मेरो समाजवाद राष्ट्रहितमा छ । अरुको समाजवाद राष्ट्रहित विरोधि छ ।’ नेशनल सोसियलिष्ट पार्टीकोे नाममा जनमत पाएपछि हिटलरको असलियत विश्वले देख्न पायो ।
ठीक त्यस्तै हाम्रो मुलुकमा २०७४ को निर्वाचनमा समाजवादप्रति आस्था राख्नेहरु संसदमा पुगे दुईतिहाइ बहुमतसहित । तर, आखिर भयो के ? केपी ओली सत्तामा पुगे । समाजवादको नभएर उग्रराष्ट्रवादको नाराले ओलीलाई सत्ता प्राप्त भएको थियो ।
०७२ को भारतीय आर्थिक नाकाबन्दीविरुद्ध कडा रुपमा प्रस्तुत भएका ओलीलाई लोकप्रियताको भुतले नराम्रोसँग गाँजिसकेको थियो । फण्डा, अन्टसन्ट बोल्दा जनमत आर्कषर्ण हुँदो रहेछ भन्ने भ्रममा ओली परे । त्यतिबेला ओलीको उचाइ ह्वात्त बढेको थियो । उनी वरपर बस्नेहरुले ओलीलाई राजनेताको पगरी गुथाए । महान् लेनिनभन्दा ठूलो नेता बनाए ।
त्यसपछि नेपालको दशा लाग्यो । क्षितिजमा सन्नाटा पर्खेको मुलुकले समाजवाद स्थापनाका निम्ति पुनः एकपटक निर्णायक लडाई लड्नुपर्ने दिन आयो । रफ्तारमा अघि बढिरहेको देश फेरी अवरुद्ध बन्यो ।
राष्ट्रवाद र समाजवादको नचाहिने भाष्यले खतरा उत्पन्न गराउँदैछ । आजका सचेत युवाले जर्मनीबाट शिक्षा लिनुपर्छ । रसियन, चिनीयाँ क्रान्ति पढ्नुपर्छ । भारतीय स्वतन्त्रताको क्रान्तिबारे जान्नुपर्छ । जनताको अधिकारको लागि लड्नुपर्छ । लेख्न पाउने, बोल्न पाउने, संगठन बनाउन पाउने, जनताको बीचमा जाने अधिकारलाई समाजवादसँग जोडेर हेर्न सक्नुपर्छ ।
समाजवादका बारेमा अनेकन परिभाषा छन् । अनेक समाजवादी चिन्तकहरूको नाम लिन सकिन्छ । तर, एउटा परिभाषामा सबैले सहमति हुनैपर्छ । समाजवाद भनेको ठोस् परिस्थितिको ठो विश्लेषण हो ।
समाजवादको अर्को नाम हो ऐतिहासिक भौतिकवाद । समाजवादका बारेमा नचाहिने भाष्य निर्माण–विनिर्माण गरेर जनताको अधिकार हरण गर्न पाईँदैन । नागरिक अधिकारको प्रत्याभूति प्रत्येक समाजमा हुनुपर्छ । समाजवादी युगिन यात्रा मात्रै होइन, समाजवाद निर्माण जटिल कार्य पनि हो ।
अर्कातर्फ देश बनाउने अभिभारा पनि युवाकै हो । युवाहरूको सहभागिता बिना विश्वको कुनै मुलुक बनेको छैन । कुल जनसंख्याको ४०–४२ प्रतिशत युवा भएको देश बनाउन खासै समय लाग्दैन । तर, आजका युवा लोकप्रियतावादको पछि दौडिन थालेपछि देश झन् खतराको भासमा जाकिन्छ ।
आज देशभित्र र बाहिर रहेका लाखौं युवाले एकफेर इतिहासलाई फर्केर हेर्न सक्नुपर्छ । आजको विश्व दुनियाँले मानेका कुनै पनि व्यक्तिले आफ्नो उर्जाशिल र संघर्षपूर्ण समयमा आफूलाई उत्कृष्ट सावित गरेका देखिन्छ ।
कार्ल माक्र्स, एंगेल्स, रोजा, लेनिन, माओ, गान्धिले पाको उमेरमा विश्वलाई योगदान दिएका होइनन् । युवा उमेरैमा आफूलाई प्रभावशाली सावित गरेका हुन् । नेपालकै कुरा गर्दा विपीले राणाविरोधी आन्दोलन गर्दा जम्मा ३२ वर्षका थिए । पुष्पलाल विपीभन्दा कान्छा थिए । भनेपछि आज हामीसँग के कुराको कमी छ ? त्यसको प्राप्ति कसरी हुन्छ ? आजको मूल समस्या के हो ? त्यसको उचित समाधान के हो ? यसका बारेमा सोच्न, बुझ्न र बोल्न नसक्ने पनि युवा हुन्छ ? कुनै शासनको होस् कि समयको ? युवा दास बन्नु हुँदैन । युवा उज्यालो शक्ति हो । युवामा निराशा हुनु भनेको देश निराश हुनु हो । युवा आशावादको अर्को नाम पनि हो ।
अन्त्यमा, राज्यको संस्थापक शक्ति राजनीतिक, वैचारिक र सैद्धान्तिक रुपमा इमान्दार हुनपर्छ । मुलतः कम्युनिष्ट र कांग्रेसले यो समयमा जिम्मेवार हुनैपर्छ । आज लोकतन्त्र, गणतन्त्र र समाजवादी बहसलाई विफल पार्न अनेकन प्रयास भइरहेका छन् । संविधानमा समाजवाद लेखेर मात्र हुँदैन । संविधानको कार्यान्वयनमाथि गम्भीर बन्न सकिएन भने यस्ता चुनौती र्सिजना भइरहन्छन् । व्यवस्था खतरामा पर्ने सम्भावना बढेर जान्छ ।
नेपाली समाज समाजवादको बाटोमा हिँड्न खोज्दैछ । समाजमा रहेका विभिन्नखाले अन्तरविरोधको अन्त्यका निम्ति संघर्षरत परिवर्तनकारी शक्तिहरूले दुनियाँलाई सुन्ने गरी विगतका कमी कमजोरीलाई भन्न सक्नुपर्छ । आज सच्चिने समय बाँकी छ । विगतको निर्मम समीक्षा गरेर अगाडि बढ्न सक्नुपर्छ । विचार र व्यवहारबीचको तादात्म्यता खोजिनुपर्छ । खासगरी युवा पलायन रोक्ने र देश निर्माणमा लगाउनेतिर ध्यान जानुपर्छ । यति गर्ने हो भने सन्नाटा पर्खिरहेको देश पुनः मूलबाटोमा हिँड्नेछ ।