धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज (सोमबार) दिउँसो २ बजे बस्दैछ । प्रदेशसभा सचिवालयका अनुसार बैठकका लागि सरकारले कुनै बिजनेस भने दिएको छैन ।
बिजनेस नभएकाले प्रदेशसभा नियमावली संशोधन गर्न समिति प्रस्ताव गर्ने कार्यसूची रहेको सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए । जनप्रतिनिधिहरुको आवाज सुनिने थलो प्रदेशसभालाई सरकारले सुरुदेखि नै महत्त्व नदिएको सत्तारुढ दलका सांसदहरुले नै पनि गुनासो गर्दै आएका छन् ।
हालसम्म सभामुख, उपसभामुखको चयन, मुख्यमन्त्रीको विश्वासको मत प्रयोजन, नीति तथा कार्याक्रम र बजेट बजेटका अनिर्वाय सन्दर्भहरुबाहेक संसद् बैठक चलेको छैन । चालु अधिवेशन असार ३० गते आर्थिक वर्ष ०८०–८१ को बजेट पारित भएयता पहिलो पटक बस्न लागेको हो । हालसम्म प्रदेशसभामा संसदीय समितिका सभापतिसमेत चयन हुन सकेका छैनन् ।