कलाकारले ‘पर्फमेन्स’ गरेपछि पारिश्रमिक लिन्छन् । यो सामान्य प्रक्रिया हो । तर, कोही यस्ता कलाकार छन्, जो ‘पर्फमेन्स’ गरेर उल्टै पैसा दिन्छन् । सुन्दा अनौठो लाग्ला । यस्ता मनकारी कलाकार अर्थात गायिका हुन् सोना अमात्य । मोडलसमेत रहेकी सोनाले केही स्थानमा ‘म्युजिकल पर्फमेन्स’ गरेर उल्टै पैसा दिएर हिँडेकी छन् । ६ वर्षयता नेपाली सांगीतिक क्षेत्रमा साधनारत सोना भन्छिन्, ‘म गीत गाउँछु तर पैसाका लागि होइन । त्यसैले म च्यारिट शो गर्न रुचाउँछु ।’ काठमाडौं, डल्लुकी सोना व्यवसायी पनि हुन् । ‘फुलसर्कर एडभरटाइजिङ’ नामको विज्ञापन एजेन्सी सञ्चालन गर्दै आएकी सोनाले सयौँ गीत गाइसकेकी छन् । उनले केही नेपाली फिल्ममा पनि स्वर दिएकी छन् । दिनभरी अफिसको काम, बिहान संगीत साधना । उनलाई फुर्सदै छैन । यिनै गायिका तथा व्यवसायी सोनासँग एमपी सुब्बाको जम्काभेट ।
हिजोआज के गर्दै हुनुहुन्छ ?
दिउँसो त अफिसकै काममा व्यस्त हुन्छु । त्यसबाहके मेरो नयाँ गीतको एरेञ्जमेन्ट हुँदैछ । ‘सोच बैलैमा’ भन्ने बोलको गीत छ । १५÷२० दिनभित्र भिडियोसहित बजारमा ल्याउँने तयारी गर्दैछु ।
कहिलेदेखि गाउन थाल्नुभएको हो ?
मैले ५ वर्षकै उमेरदेखि गाउन सुरु गरेकी हुँ । तर, पूरै समय दिएर व्यवसायीरुपमा चाहिँ त्यस्तै पाँच÷छ वर्ष भयो । त्यसअघि गीतसंगीतसम्बन्धी हुने ‘अल नेपाल कम्पिटिशन’हरु भाग लिन्थेँ । म जहिल्यै प्रथम वा दोस्रो हुन्थेँ ।
कस्ता गीत बढी गाउनुहुन्छ ?
म सबै प्रकारका गीत गाउँछु । एउटा कलाकार भएपछि सबै किसिमका गाउनुपर्छ भन्ने मेरो मान्यता हो । मैले, लोक, पप, आधुनिक र फिल्मी गीत पनि गाएकी छु ।
तपाइँको अफिस पनि छ । गायनमा कसरी समय मिलाउनुहुन्छ ?
म बिहान सबेरै उठ्छु र मेरो संगीत गुरु शशिविक्रम थापासँग केही घण्टा अभ्यास गर्छु । यसरी संगीत अभ्यास गर्न थालेको पाँच वर्ष भयो । त्यसपछि खाना खाएर अफिस जान्छु । रेकर्डिङ छ भने स्टुडियोतिर जान्छु । समय मिलिरहेकै छ ।
तपाइँ मोडलिङ पनि गर्नुहुन्छ हैन त ?
अहिले गर्दिनँ । आफ्नो गीतमा मात्र मोडलिङ गर्छु । प्रायः मेरो गीतमा आफैले मोडलिङ गरेकी छु । यसअघि गायक फूर्वा शेर्पाको एउटा गीतमा मोडलिङ गरेकी थिएँ । तर, अब अरुको गीतमा मोडलिङ गर्दिनँ । मसँग समय पनि छैन ।
गायक क्षेत्रमा के देखेर लाग्नुभयो ?
केही देखेर पनि लागेकी होइन । पाँच वर्षकै उमेरदेखि गाउन थालेकी हुँ । गीत गाएर पैसा कमाउँछु भन्ने सोचेकी छैन । म प्रायः बालबालिका र असाहयको सहयोगमा च्यारिटी शो गर्न रुचाउँछु । केही ठाउँमा कार्यक्रममा गीत गाएर मैले उल्टै त्यहाँ भएका बालबालिकालाई पैसा दिएर आएकी छु ।
तपाइँको रुचि समाज सेवातिर पनि हो ?
त्यो त गर्नु प¥यो नि होइन र ? यहाँ एकले अर्कालाई सहयोग गरेन भने त संसार नै चल्दैन नि ।
कहिलेसम्म यसरी गाइरहनुहुन्छ ?
संगीत साधना र खाना खानु मेरो रुटिङ नै बनिसक्यो । चलेपनि नचलेपनि गाइरहन्छु । गायन मेरो निरन्तर चलिरहन्छ । संगीत मेरो जीवनको अभिन्न अंग बनिसक्यो ।
संगीत र अफिसमै व्यस्त भएर अहिलेसम्म अविवाहित बस्नु भएको हो ?
हो, अहिलेसम्म अविवाहित नै छु । विवाह गर्ने त सोच नै बनाएकी छैन । बिहान उठ्यो संगीतको रियाज, दिउँसो अफिस । कहिले रेकर्डिङ त कहिले जर्ज बस्न बोलाउँछन् । विवाहको बारेमा सोच्ने समय नै छैन ।
प्रेम प्रस्तावहरु त आइरहेकै होला नि ?
खै, मलाई त आएको छैन । विश्वास लाग्दैन होला, साँच्ची मलाई प्रस्ताव आएको छैन । अफिसको स्टाफ र क्लाइन्टले प्रेम प्रस्ताव राख्न मिलेन । अरुतिर समय छैन ।
तपाइँलाई पाउने भाग्यमानी पुरुष कस्तो हुनुपर्छ ?
सिम्पल, मेरो ‘क्राइटएरिया’ छैन । हिजोआज मान्छेहरु मान्छेजस्तो हुन छाडे, त्यसैले मेरो मान्छेको चाहिँ मान्छेजस्तै होस भन्ने चाहन्छु ।