Logo
Logo

जनप्रतिनिधिको उल्टो रबैया


945
Shares

भैरहवा । कहीँ नभएको जात्रा कपिलवस्तु जिल्लामा देखिएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिकाका जनप्रतिनिधिले सडकमा सवारी जाँच गरेको भन्दै प्रहरी निरीक्षकलाई कारबाहीको माग गरेका छन् । समाजमा शान्ति सुरक्षा कायम गर्नु, अवैध गतिविधि रोक्नु र घटना अनुसन्धान गर्नु प्रहरीको दायित्व हो ।

तर, जनप्रतिनिधिले आफूले भनेअनुसार नभएपछि प्रहरी निरीक्षकलाई नै कारबाहीको माग गरेका छन् । चेकजाँचका नाममा सर्वसाधरणलाई दुःख दिएको जनाउँदैं प्रहरीमाथि कारबाहीको माग गर्दै जनप्रतिनिधि प्रशासन कार्यालय पुगेका छन् ।

्गाउँपालिका अध्यक्ष बलिउद्दीन मुसलमानसँगै ७ जना वडाध्यक्ष प्रहरी निरीक्षकमाथि कारबाही माग गर्दै जिल्ला प्रशासन पुगेका थिए । उनीहरूले इलाका प्रहरी कार्यालय, पकडीका प्रहरी निरीक्षक शिव क्षेत्रीलाई कारबाही गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र नै बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई भेटेर उनीहरूले ज्ञापनपत्र बुझाएका हुन् । जनप्रतिनिधिहरूले जिल्ला प्रशासनमार्फत गृहमन्त्रालय र लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताए । ज्ञापनपत्र बुझाउन प्रशासन जाने समूहमा लुम्बिनी प्रदेशसभा सदस्य मधुसुदनशरण चौधरी पनि थिए ।

चेकजाँचका क्रममा जनप्रतिनिधिका आफ्नो मान्छे परेका थिए । तर, प्रहरीले कसैलाई नछाड्ने बताएपछि प्रहरी निरीक्षकविरुद्ध जनप्रतिनिधि लागेका हुन् । प्रदेशसभा सांसद र पालिका प्रमुखसहितका जनप्रतिनिधिको यो कार्यको चर्को आलोचना भइरहेको छ । कर्तव्यनिष्ट प्रहरीलाई कारबाही माग गर्नु गलत भएको धेरैको ठहर छ ।

पकडी भारतसँगको सीमा क्षेत्र हो । यहाँ भारतीय सवारी अधिक चल्छन् । नेपाली सवारी चालकले पनि लाइसेन्स र गाडीका कागजात बोक्दैनन् । त्यस्तालाई चेकजाँच गरी कारबाहीको दायरामा ल्याउनु दायित्व हो ।

एक प्रहरी सहायक निरीक्षक भन्छन्, ‘मनलाग्दी गर्न नपाएपछि इन्स्पेक्टर सरलाई कारबाहीको माग गरिएको हो । हामीले चोरीतस्करी गर्न मनलाग्दी कागजातविनाका सवारी चल्न दिएको भए विवादै हुने थिएन ।’

यहाँका कयौं जनप्रतिनिधिले तस्करहरूलाई साथ दिँदै आएको आरोप छ । सीमा क्षेत्रमा तस्करी खुकुलो गराउन, प्रहरीले समातेको तस्करीको सामान छाड्न प्रहरीमाथि दबाब छ ।

गाउँपालिकाको केन्द्रमा इलाका प्रहरी कार्यालय छ । अध्यक्ष मुसलमानले प्रहरी निरीक्षकका गतिविधिमा स्थानीयलाई दुःख दिने नियत देखिएकाले खबरदारी गर्न ज्ञापनपत्र बुझाइएको बताए । गत आइतबार राति ८ बजेतिर पानी परिरहेका बेला इप्रका अघिको बाटोमा सवारी जाँच गरेर क्षेत्रीले अनावश्यक दुःख दिने ब्यवहार गरेको गुनासो आएपछि सहजीकरणका लागि पुगेका जनप्रतिनिधिलाई पनि दुव्र्यवहार गरेको मायादेवी–३, का वडाध्यक्ष शैलेन्द्र यादवले आरोप लगाए । तर, प्रहरी निरीक्षक क्षेत्रीले उक्त आरोपको प्रतिवाद गरेका छन् । आफूले कसैलाई नियतसंगत अन्याय नगरेको उनले दाबी गरे ।

गाउँपालिका र इप्रकाबीच विवाद बढेपछि गत सोमबारदेखि प्रहरीले ठाउँठाउँमा सवारी चेकिङका नाममा सर्वसाधारणलाई सास्ती दिइरहेको आरोप अध्यक्ष मुसलमानले लगाएका छन् । अघिल्लो सोमबार गाउँपालिकाको कार्यपालिका बैठकले इप्रका पकडी अन्तर्गतका प्रहरी चौकीको घरभाडा लगायतका अन्य सुविधा नदिने निर्णय गरेको थियो ।

प्रहरी निरीक्षक क्षेत्री कागजपत्र नभएका सवारीसाधनलाई कारबाही गरेको विषयलाई ठूलो बनाउन खोजिएको बताउँछन् । प्रहरीले आफ्नो नियमित कार्य गर्दा जनप्रतिनिधि नै विरोधमा उत्रिनु विडम्बना हो । ‘भोलिका दिनमा लाइसेन्स नभएका, कागजपत्र नभएका सवारीले कसैलाई ठक्कर दियो, अरु कुनै घटना भयो भने समस्या हुन्छ, यसलाई रोक्नु प्रहरीको दायित्व हो’, एक प्रहरी अधिकारीले भने ।

यहाँ चल्ने भारतीय मोटरसाइकल, कार लगायतलाई चेकजाँच गर्दा पनि जनप्रतिनिधि असन्तुष्ट हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्