Logo
Logo

तस्करका हाइड्रोपावरमा लगानी गर्ने बैंकहरु डुब्दैछन्


- दृष्टि न्युज/संवाददाता

630
Shares

काठमाडौं, २२ पुस । रक्तचन्दन, सुन र हुन्डीको अवैध कारोबारमा संलग्न सिन्धुपाल्चोकका ब्यापारीको लगानी रहेका दुई हाइड्रोपावरमा बैंकको करोडौं लगानी डुब्ने भएको छ । बैंकका उच्च अधिकारीसँग मिलेर बिष्णु खत्री मुख्य लगानीकर्ता रहेको शिवश्री हाइड्रोपावरले माथिल्लो चाकु ए आयोजनाको निर्माण गरिरहेको छ । २२ मेघावाटको शिवश्री हाइड्रोपावरको सेयर विवाद समाधान हुनसकेको छैन । शिवश्रीले सेयर निष्कासन गरेको प्राथमिक सेयर सर्वसाधारणलाई बाँडफाट गरेपछि अन्डराइटरको विवाद थप बढेको थियो । जुन विवाद अझै समाधान हुन सकेको छैन ।

सेयर निष्कासन गर्नु पूर्व गरिएको सम्झौता र सेयर निष्कासन गरेपछिको अवस्थामा आमूल परिवर्तन भएको भन्दै अन्डरराइटरले सेयर सकार्न अस्वीकार गर्दै आएका छन् । शिवश्री हाइड्रोका मुख्य लगानीकर्ता विष्णु खत्री हुन् । जो रक्तचन्दन तस्करीका बादशाह नै हुन् । शिवश्री हाइड्रोका अध्यक्ष पौडेल भए पनि मुख्य लगानीकर्ता खत्री नै हुन् । खत्रीले तातोपानी नाका सुचारु हुँदासम्म रक्तचन्दन तस्करी गरे । भूकम्पपछि तातोपानीबाट रक्तचन्दन कारोबार बन्द भएपछि उनी अवैध सुन चीनबाट नेपाल हुँदै भारततर्फ लाने गोरखधन्दामा लागे । रक्तचन्दन र सुनबाट आर्जित अथाह सम्पत्ति हाइड्रोदेखि विभिन्न क्षेत्रमा लगानी गरेकाले त्यसको संरक्षण गर्न नेपाली कांग्रेसबाट २०७४ को प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकबाट उम्मेदवारी दिए । अबैध ब्यापारबाट आर्जित कालोधनलाई बैध बनाउनका लागि राजनीतिक संरक्षण प्राप्त गर्न उनी चुनावमा उठेका थिए । तर पराजीत भए । उनलाई कांग्रेसले उम्मेदवार बनाए पनि उनलाई कांग्रेस मान्न कोही तयार छैनन् । खत्रीले रक्तचन्दन, सुनबाट आर्जन गरेको धन शिवश्री र भैरवकुण्ड हाइड्रोमा लगानी गरेका छन् । शिवश्री हाइड्रोमा बैंकका अधिकारीसँग मिलेर अत्यधिक मूल्यांकन गराई ऋण लिएका छन् । बैंक नै डुबाउने नीति उनले अंगालेका छन् । शिवश्रीमा बच्चु पौडेल देखिएका पात्र मात्र हुन् । भूकम्पअघि शिवश्रीले प्रतिमेगावाट लागत २२ करोड ४५ लाख ९४ हजार रुपैयाँमा उत्पादन गर्ने लागत निकालेकोमा त्यो बढ्ने देखिन्छ ।

बच्चु पौडेल, उमेश कसजुसमेत शिवश्रीका लगानीकर्ता हुन् । बच्चु पौडेल र उनका दाजुभाइ नारायण पौडेल, ध्रुव पौडेलहरु सुन, हुन्डी र डलर कारोबारमा मुछिएका छन् । बच्चु पौडेल मौसम अनुसार राजनीतिक दल फेर्ने गर्दछन् । उनी पहिला नेपाली कांगे्रेस निकट थिए, हाल नेकपा निकट भएका छन् । बच्चु र बिष्णु खत्री फरक पार्टी देखिए पनि ब्यापारमा उनीहरु एक ठाउँमा छन् ।

तस्करीबाट आर्जित लगानी सुरक्षित गर्नकै लागि बच्चु नेकपा निकट भएका हुन् । नारायण पौडेल ऊन आयात गर्ने भनेर एलसी खोली ऊन नै नल्याई अबैध डलर कारोबार गरेकोमा जेल संजाय नै भोगेका ब्यक्ति हुन् । बच्चुका दाजुभाइकै सेटिङमा चिनियाँ अपराधीहरुले नेपालमा कारोबार गर्दैआएको स्रोत बताउँछ । स्रोतका अनुसार ती चिनियाँलाई नेपालमा ल्याउने र संरक्षण गर्ने, उनीहरुको बसाइको ब्यवस्थापन गर्ने, नेपालमा कारोबार गर्ने कानुनी आधार तयार गर्ने काम बच्चु पौडेलकै दाजुभाइले गरेका हुन् । उनीहरुकै सेटिङमा चिनियाँहरुले घरभाडामा लिएर अपराध गर्दैआएका थिए । तीमध्ये केही चिनियाँ पक्राउ परिसकेका छन्, ठूलो संख्यामा चिनियाँहरु भगाइएका छन् । जुन काम बच्चुकै दाजुभाइले गर्दैआएका छन् ।

बच्चु पौडेलले अवैध रुपमा हुन्डी र डलर कारोबारबाट आर्जित रकम यति समूहद्वारा संचालित नारायणहिटी दरबारअगाडिको नेपाल ट्रष्टको जग्गामा ब्यापारिक कम्लेक्समा पनि गरेको खुलासा भइसकेको छ । बच्चुका दाजुभाइको हुन्डी, डलर र सुनको कारोबारबारे नेपाल प्रहरीका केही उच्च अधिकारीलाई पनि थाहा छ, तर उनीहरुले लाभ लिएर संरक्षण र सहयोग गर्दैआएका छन् ।

बिष्णु खत्री, बच्चु पौडेल समेतका बिरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा छानबिन गर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रबैंकमार्फत् बैंकबाट भएको ऋण लगानीको बारेमा समेत चासो राखिरहेको छ । यसरी बैंकका अधिकारीसँग मिलेमतो गरी धितोको मूल्यांकन अत्यधिक गरेर शिवश्री हाइड्रोमा ऋण लगानी गरेकोमा समेत राष्ट्रबैंकले छानबिन गरी बैंकिङ कसुरमा समेत कारबाही हुनसक्ने स्रोत बताउँछ । बैंकका उच्च अधिकारीसमेत हाइड्रो विवादमा तानिने स्रोत बताउँछ ।

भैरवकुण्ड हाइड्रोका संचालकलाई बैंकको ताकेता

तातोपानी नाकाबाट ब्यापार गर्नेहरुले नै लगानी गरेको ३ मेघावाटको भैरवकुण्ड हाइड्रोपावरको ऋण डुब्ने भएपछि बैंकले असुलीका लागि अन्तिम पटक सूचना निकालेको छ । तस्करी र भन्सार छलीको व्यापार गरेर रातारात करोडौँपति बनेका राजेन्द्र श्रेष्ठदेखि विष्णु खत्रीसमेत जलविद्युत आयोजनाका लागि लिएको ऋण तिर्न नसक्दा बैंकको ताकेतामा परेका छन् । व्यक्तिहरू करोडौँपति भए पनि विवादका कारण ऋण नतिरेपछि उनीहरूको नाम सार्वजनिक हुन पुगेको हो । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि भैरवकुण्ड हाइड्रोपावर लिमिटेडलाई ३५ दिनभित्र ऋण तिर्न आउन बैंकले सार्वजनिक सूचना निकालेको छ । सिन्धुपाल्चोकको लार्चामा सञ्चालन भएको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले ३ मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । जुरेको पहिरो, भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोसीमा आएको बाढीका कारण क्षति पुगेको परियोजना पुनर्निर्माण सम्पन्न भएपछि पुनः सञ्चालनमा आएको थियो । सो आयोजनालाई सानिमा बैंकको अगुवाईमा बैंक अफ काठमाडौँ, एनएमबी बैंक, एनआइसि एशिया बैंक र मञ्जुश्री फाइनान्स र ग्लोबल आइएमईले करिब ४० करोड रूपैयाँ ऋण लगानी गरेका थिए । यसअघि पनि बैंकहरूले ३५ दिने सूचना सार्वजनिक गरेपछि जलविद्युत कम्पनीका सञ्चालकहरूले थारै ऋण तिरेका थिए । पटक–पटक ताकेता गर्दा समेत ऋण तिर्न नआएकाले पुनः सूचना प्रकाशित गरेको छ । सबैजसो सञ्चालकहरू करोडौँपति छन् । तर पनि विवादका कारण उनीहरूले ऋण तिरेका छैनन् । पटक–पटक ऋण तिर्न आउन आग्रह गर्दा समेत सञ्चालकहरू तयार नभएपछि पुनः ३५ दिने सूचना निकालेको छ । यो सूचनालाई बेवास्ता गरिएमा संचालकहरु नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्नेछन् । कर्जा सुरक्षणका लागि बैंकमा धितो रहेको परियोजनालगायत चल अचल सम्पत्तिसमेत लिलाम गर्न सकिने उल्लेख गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कम्पनी रजिष्ट्रारको कार्यालयमा सो कम्पनी २०५९÷६० मा दर्ता भएको र केन्द्रीय कार्यालय कमलपोखरीमा रहेको छ ।

बैंकबाट ऋण लिँदा भैरवकुण्ड हाइड्रोपावर लिमिटेडका नाममा मालपोत कार्यालय सिन्धुपाल्चोकमा दर्ता रहेको साविक तातोपानी गाविस ४ को कित्ता नम्बर १९२ को १० रोपनी ५ आना ३ पैसा र कित्ता नम्बर २०६ को ४ रोपनी ३ आना १ पैसा १ दाम जग्गा धितोका रूपमा राखिएको छ । त्यस्तै त्यो जग्गामा निर्मित ३ मेगावाट जडित क्षमता रहेको भैरवकुण्ड हाइड्रोपावर परियोजना र सोअन्तर्गत रहेका घर, भवन, टहरा र आयोजनामा जडान भएका मेसिनरी उपकरणलाई समेत धितोका रूपमा राखिएको छ । यो आयोजनाका लागि ऋण लिँदा काठमाडौँ महानगरपालिका– २५ मा रहेको सामना मल्टिपल इन्भेस्टमेन्ट प्रालि, वडा नम्बर ३४ मा रहेको एनएमके ग्रुप प्रालि, ललितपुर साविक वडा नम्बर ९ मा रहेको सुविधा शक्ति इन्भेष्टमेन्ट कम्पनी प्रालि तथा मल्टिपल इन्भेस्टमेन्ट कम्पनी प्रालि र ललितपुर उपमहानगरपालिका ३ मा रहेको लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जमानीकर्ता बसेका छन् ।

बैंकले सो आयोजना २३ जना सञ्चालकलाई ऋण तिर्न आउन ताकेता गरेको हो । त्यसमा सिन्धुपाल्चोकका अर्जुनबहादुर थापा, डोरबहादुर भण्डारी, साङ्बु शेर्पा, नरेशलाल श्रेष्ठ, ज्ञानेन्द्रप्रसाद मल्ली, सुरेश श्रेष्ठ, राजेश श्रेष्ठ, विष्णुबहादुर खत्री, अमृतकुमार खड्का, कमलकुमार श्रेष्ठ, सिताराम बस्नेत, रामकाजी पौडेल, चन्द्रबहादुर शेर्पा, श्यामबहादुर श्रेष्ठ, केदारबहादुर थापा, बच्चु पौडेल, साङदोर्जे शेर्पा, अनिलभक्त श्रेष्ठ, सुधिरप्रसाद तिम्सिना, विष्णुबहादुर श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, शिवराम श्रेष्ठ, मुकुन्दप्रसाद तिमिल्सिनालाई ३५ दिनभित्र ऋण तिर्न आउन आग्रह गरेको छ । विपदका कारण विभिन्न समयमा प्रशारण रोकिएको सो हाइड्रोपावरको उत्पादित विद्युत् ३४ किमि ३३ केभीए ट्रान्समिसन लाइनमार्फत् लामोसाँघु सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । हाइड्रोपावरले कम्पनी पब्लिकको जारी पुँजी ६५ करोड रूपैयाँ रहेको छ । उक्त कम्पनीका सञ्चालकहरुमा दुर्गाबहादुर श्रेष्ठ, विष्णुबहादुर खत्री र बच्चु पौडेल हुन् ।

प्रतिक्रिया दिनुहोस्