काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माण पनि ढिलाई गर्ने चलखेल भएको छ । डिजाइनको त्रुटीले निर्माणको सुरुमै क्षति पुगेको छ । वर्षायाममा काम नगर्न भन्दा भन्दै ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले काम गर्दा सुरुङमार्गको प्रस्थान बिन्दुमा पहिरो रोकथाम गर्न बनाइएको स्लोप प्रोटेक्सन पहिरोले भत्काएको हो । यसले सुरुङमार्गको डिजाइनमै प्रश्न उब्जाएको हो ।
पाँच वर्षभित्र पूरा गर्ने गरी ११२६ मिटर लामो बुटवल चिडिया खोला रामापिथेकस पार्कबाट सुरु भएर पाल्पाको दोभानसम्मको सुरुङमार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख नेपाली रुपैयाँको लागत अनुमान गरिएको छ । तर, निर्माण लागत बढाउने पूर्वयोजनाले १० अर्ब पुग्ने देखिन्छ । ठेक्का पार्ने चाइना स्टेट बुटवल नारायणगढ सडकखण्डमा ढिलाईले विवादमा पर्दै आएको छ । काम ढिलाई गरी लागत बढाउने योजना बनाउने कम्पनीलाई नै त्यसै क्षेत्रको सुरुङमार्ग ठेक्कामा छनोट गर्नुलाई ठूलै चलखेलको आशंका गरिएको छ ।
ठेक्का पाएको १४ महिना हुँदा निर्माणको प्रारम्भिक काम वर्षायाममा गर्न खोज्नुले आशंका जन्माएको छ । जसका कारण पहिरो गई सुरुमै क्षति पुगेको छ । काम ढिलो गर्ने र लागत बढाउने गतिविधिहरु नेपालको ठूलो निर्माण आयोजनाहरुमा हुँदै आएको छ । पहिरो र क्षति देखाएर यसमा पनि ढिलाई गर्ने पूर्वयोजना बुनिएको देखिन्छ ।
नत्र वर्षायाममा काम नगर्न भन्दा भन्दै ठेकेदार कम्पनीले काम गरेको देखिएको छ । क्षति पुग्दा तीन महिनाको लगानी खेर गएको छ । अब पहिरो पन्छाउन समय लाग्ने देखिएको छ । यसले काममा झन् ढिलाई हुने निश्चित छ । १४ महिना त्यसै पनि बितिसकेको छ । अब क्षतिका कारण थप समय लाग्ने देखिन्छ ।
२०७८ सालमा खरिद प्रक्रिया थालेकोमा नौ महिनापछि मात्र ठेकेदार कम्पनी छनोट गरिएको थियो । सबैभन्दा न्यून आर्थिक प्रस्ताव गर्ने चाइना स्टेटलाई ठेक्का दिइएको थियो । २०७८ असोज देखि निर्माण थालेर २०८२ भित्र पूरा गर्नुपर्नेमा दुई वर्ष बितिसकेको छ । आयोजनाको डिजाइन, खरिद र निर्माणको काम चाइटा स्टेटले नै गर्ने सम्झौता छ । तर, निर्माण सुरु गर्न पूर्वतयारीमै पहिरोले मुख्य ढोकानै क्षति पुग्नुले डिजाइनमाथि प्रश्न उठेको हो ।
निर्माण सकेको पाँच वर्षसम्म सञ्चालन र मर्मतको जिम्मा निर्माण कम्पनीले लिने समझदारी छ । सिद्धबाबा सुरुङमार्गले बुटवल तानसेन सडकको उक्त खण्डमा भएको जनधनको क्षति रोक्ने अपेक्षा गरिएको छ । उक्त क्षेत्रमा सयौंको सडक दुर्घटनाबाट ज्यान गइसकेको छ । तर, निर्माण कम्पनीले पहिरोको बेवास्ता गरेर काम गर्दा सुरुमै क्षति व्यहोरेको छ । यसले निर्माणको डिजाइनमाथि प्रश्न उठेको छ ।