काठमाडौं । प्राइम कमर्सियल बैंकको आज २०८० भदौ ८ गते सम्पन्न सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउण्टेन्ट सञ्जीव मानन्धरलाई प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण समारोहमा संक्षिप्त सम्बोधन गर्दै लामो समयदेखि बैंकमा आबद्ध नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गरी निजको कार्यकालको पूर्ण सफलताको लागि अध्यक्ष राजेन्द्रदास श्रेष्ठले शुभकामना व्यक्त गरे ।
स्थापनाकालदेखि यस बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि यसै बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ करिअर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रही काम गरेको अनुभव छ ।