Logo
Logo

सिंगापुरमा लागूऔषधको अभियोगमा एक सय ३० जना पक्राउ


एजेन्सी

567
Shares

सिंगापुर । सिंगापुरका अधिकारीहरूले लागूऔषध बोकेको अभियोगमा एक सय ३० जनालाई पक्राउ गरेका छन् । केन्द्रीय लागू औषध नियन्त्रण विभाग (सिएनबी)ले शनिबार विज्ञप्ति निकालेर यही अगस्ट १४ देखि २५ सम्म गरिएको देशव्यापी खोजतलासको कारवाहीमा एक सय तीस ३० जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

सिएनबीले दुई साता लामो कारवाहीका क्रममा करिब एक हजार तीन सय १८ ग्राम हेरोइन, दुई हजार पाँच सय ३५ ग्राम गाँजा, चार सय ८६ ग्राम ‘आइस’ र एक सय ८८ ग्राम केटामाइनलगायत लागूऔषध बरामद गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिबन्धित लागू औषध राखेको अभियोगमा पक्राउ परेकामध्येमा एक जना १५ वर्षकी किशोरी र १७ वर्षका किशोरसमेत छन् । सिएनबीले पक्राउ परेका सबै संदिग्धमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।

सिंगापुर लागूऔषध तस्करी गर्नेलाई मृत्युदण्डको कठोर सजाय दिने मुलुकमध्येको एक हो । उसले मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको छ ।

हालै पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका एक पुरुष र तीस ग्राम हेरोइन बोकेको आरोपमा दोषी ठहर गर्दै एक महिलालाई मृत्युदण्ड दिएको थियो । सिंगापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिएको हो । बीस वर्षअघि कपाल काट्ने एक महिलालाई यस्तै अपराधमा मृत्युदण्ड दिइएको थियो ।

सिंगापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिनेक्रम जारी राख्नु अनुचित भएको टिप्पणी एम्नेस्टी इन्टरनेश्नललगायत मानवअधिकारवादी सङ्घसंस्थाले गर्दै आएका छन् ।

विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागू औषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अङ्गीकार गरिरहेको परिप्रक्ष्यमा सिंगापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्