Logo
Logo

उच्च पहाडी क्षेत्रमा फेरि हिमपात, जनजीवन प्रभावित


- दृष्टि न्युज/संवाददाता

0
Shares

डोटी, २४ पुस । यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । मंगलबारदेखि मौसममा आएको परिवर्तनसँगै भएको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।
डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै सिमाना जोडिएको पूर्वीचौकी गाउँपालिकाका स्थानीयले बताएका छन् ।
यहाँका उच्च लेकाली भेगमा हिमपात भइरहेको छ । स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्पटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले जनाए । चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइएको छ । उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ । दिपायल, सिलगढीलगायतका ठाउँमा मसिनो पानी परिरहेको छ । पानी र हिमपातका कारण यहाँको तापक्रम निकै घटेको छ ।
यसैबीच हिउँदे अन्नबालीमा पर्याप्त मात्रामा पानी नपुग्ने यहाँका लेकाली क्षेत्रमा तेस्रोपटक हिउँ परेका कारण स्थानीय किसान हिउँदेबाली सप्रिने आशामा खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्