एक सयम थियो, ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ भन्ने गीत घन्काउँदै जनता जगाउने । श्याम तमोटले रचना गरेको र रामेश—रायनहरूले स्वरबद्ध गरेको त्यो क्रान्तिकारी गीत चिनियाँ, हिन्दी र फ्रेन्चसहित दर्जनौं विदेशी भाषाहरूमा समेत स्वरबद्ध छ । त्यस्ता गीतहरूले सुतेको चेतनालाई ब्युँझाउने र लुकेको प्रतिभालाई जगाउने कामगर्थे । राज्यसत्ताका विरुद्ध जनतालाई आन्दोलनमा उभ्याउन र विद्रोही चेतना निर्माण गर्न क्रान्तिकारी गीत साहित्यको अहम् भ्ूमिका रहन्छ ।
गाउँबाट जनता जगाएर कम्युनिष्ट आन्दोलनले सफलता हासिल गरेको हो । आज समय बदलिएको छ । दर्शनमाथि विज्ञान र राजनीतिमाथि लोकप्रियतावादले हमला गरिरहेको छ । यस्तो बेला कुन गीत गाउने ? कुन साहित्य सुनाउने ? मान्छेहरू निक्कै स्वार्थी र अवसरवादी बनिसकेका छन् ।
आफ्नै नागरिकलाई शरणार्थी बनाएर बेच्नेहरुको कथा सहतमै छ । यस्ता मान्छेहरूले क्रान्तिकारी गीत सुन्नेवाला छैनन् । समाज मानवताभन्दा पर पुगेको देखिन्छ । व्यक्तिगत सुख, समृद्धि, सम्पन्नता र विलाशीताको पछि दौडिएको समाजलाई क्रान्तिकारीहरुले अझै कुरुप पारेका छन् । आज नेपाली समाजमा चारैतिर सन्नाटा र उकुसमुसले छपक्कै ढोकेको छ ।
खासगरी युवामा निराशा देखिन्छ । जनताहरू सरकारी सेवा प्रवाहप्रति असुन्तुष्टि देखिन्छन् । राजनीतिको नाममा अराजकता बढ्दैछ । दलहरूभित्रको अराजकता, तानाशाही प्रवृत्ति र दलीयतन्त्रको सिकार बन्दै गइरहेको छ ।
एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्धको मुद्दालाई एजेन्डाको रुपमा उठाउनुपर्छ र क्रान्तिकारी पार्टीका रुपमा रुपान्तरण गर्न सक्नुपर्छ । श्रेणीवद्ध पार्टी संरचनाले वर्गविहीनताको औचित्यमाथि प्रश्न खडा गरिरहेको छ । वर्ग दृष्टिकोण के हो ? आधुनिक युगको लोकतन्त्र कस्तो हुन्छ ? समाजवादको नेपाली मोडलको खाका प्रस्तुत गरेर अगाडि बढ्न सक्नुपर्छ ।
यी र यस्ता अनेकखाले चुनौतीको सामना गर्न र मुलुकले खेपिरहेको सबैखाले संकटको अन्त्यका लागि ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ होइन, हरेक पार्टीभित्रबाट उठ, गुटबाट उठ, गिरोहबाट उठ भन्नुपर्ने हुन्छ । नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित गर्नका लागि पनि गाउँ–गाउँबाट उठ्नुपर्ने भएको छ ।
कम्युनिष्ट पार्टी निकै लामो इतिहास र राजनीतिमा आमूल परिवर्तनमा ठूलो योगदान पुर्याएको पार्टी हो । खैर, आज उसले लिनुपर्ने बाटो नलिदा देशमा अनेकौंखाले विकृति, विसंगति जन्मिएको छ । अर्कोतर्फ छिन्नभिन्न अवस्थामा कम्युनिष्ट पार्टीहरु छन् । पछिल्लो परिर्वतनको मुख्य हकदार माओवादी केन्द्र सत्तामा छ । माओवादी पार्टी जनयुद्ध र माआवादीको जडतामा बाँचिरहेको छ । अर्कातिर एमाले छ । त्यसको के कुरा गर्नु ? केपी ओलीको फोटोको सामुन्नेमा बसेर आरती गर्नु एमालेजनको दिनचर्या बनेको छ । जबजलाई जप गर्नेबाहेक एमालेसँग कुनै सम्भावना छैन । यस्तो बेला युवाहरुले वैकल्पिक पार्टी राजेको सत्य हो ।
यस्तो बेला एमालेबाट विद्रोह गरेको एकीकृत समाजवादी पार्टीले विद्रोहलाई पुष्टि गर्न सकेको छैन । मुलुक र जनताको सुनौलो दिन ल्याउने उद्घोष गरेको एकीकृत समाजवादी पार्टीले २०७९ को चुनावमा थ्रेसहोल्ड कटाउन नसक्नुलाई विद्रोहको पुष्टिसँग जोडेर हेर्नु असान्दर्भिक होला । तर, एमाले अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद् विघटन गरेर संविधान र लोकन्त्र मास्ने अपराध गरेको र त्यो अपराधलाई टुलुटुल हेरेर बस्न सकिने अवस्था थिएन । कोही न कोही प्रतिगामी कदमका विरुद्ध उभिनै पथ्र्यो । माधव नेपालको नेतृत्वमा उभिएका समाजवादी योद्धाहरूले मुलुकको राजनीतिक स्थितिलाई मुल बाटोमा फर्काए । संविधान र लोकतन्त्र जोगाए ।
आजको दिनमा यो पार्टी कमजोर बनेको टिप्पणी सुनिन्छन् । म त के भन्छु भने यो पार्टी बन्छ । यदि नेतृत्वलाई पार्टी बन्दैन भन्ने लाग्छ र पार्टी बिचौलीया, दलाल र अवसरवादीको कब्जामा जान थाल्यो भन्ने लाग्छ भने विघटन गरेपनि हुन्छ ! होइन, कम्युनिष्टहरुबीचको एकता आजको आवश्यकता हो भन्ने लाग्छ भने विचार मिल्नेपार्टीसँग एकता गरेपनि हुन्छ । किन कि इतिहासको पानामा एकीकृत समाजवादी पार्टीका बारेमा सुन्दर अक्षर रचना बनिसकेका छन् ।
कथा यत्तिकैमा सकिँदैन । अब पनि मुलुकको भविष्य मुलतः एकीकृत समाजवादी पार्टीसँगै जोडिएको छ । स्मरण रहोस्, ‘यात्रा समृद्धिको, लक्ष्य समाजवाद’ को भन्ने नारा लिएर जनताको बीचमा जाँदा तीन लाख भोट पाउनु चानचुने कुरा थिएन । एमालेहरू पार्टी विभाजन गरेको आरोप बोकेर जनताबीचमा गएका थिए । माओवादी केन्द्र र कांग्रेसले सक्दो घात गरेकै हो । पछिल्लो समय उक्त पार्टीका कार्यकर्ताहरूमा केही निराशा र असन्तुष्ट बनको देखिन्छ । यहाँनेर समाजवादी क्रान्ति र लोकतान्त्रिक आन्दोलनबारे कमजोर कार्यकर्ता अवसरवादको चक्करमा पर्न सक्छन् । तर, जो असली क्रान्तिकारी छन्, ति कोही पनि दायाँबायाँ हुँदैनन् । समाजवाद निर्माण कठिन विषय हो भनेर बुझेका योद्धाहरू निःसर्त र निःस्वार्थ रूपमा आन्दोलनको मैदानमा उभिन्छन् ।
आज सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केही राम्रो काम गरौं भन्नेमा देखिन्छन् । तर, सत्ता गठबन्धनमा रहेका दल कांग्रेसका नेताहरु पक्राउ परेका छन् । यसले सत्ता संकट ननिम्त्याउला भन्न सकिन्न । सुशासनबिना समृद्धि सम्भव छैन । भ्रष्टाचारले हरेक पार्टी र तिनका नेताहरु बदनाम भएका छन् । ललिता निवास, नक्कली भुटानी शरणार्थी, वाइडबडी, ओम्नी, यती, गिरीबन्धु टि स्टेट, पशुपतिको जलहरि जति पनि काण्डहरु सतहमा आएका छन्, तिनमा हरेक पार्टीका नेताहरुको नाम जोडिएको छ । माओवादीमाथि पनि नक्कली लडाकुको पैसा घोटाला गरेको आरोप छ । यी सबै काण्डहरुको छानबिन गरिनुपर्छ ।
यस्तो बेला एकीकृत समाजवादीले पार्टीले भ्रष्टाचारविरुद्धको मुद्दालाई एजेन्डाको रुपमा उठाउनुपर्छ र क्रान्तिकारी पार्टीका रुपमा रुपान्तरण गर्न सक्नुपर्छ । श्रेणीवद्ध पार्टी संरचनाले वर्गविहीनताको औचित्यमाथि प्रश्न खडा गरिरहेको छ । वर्ग दृष्टिकोण के हो ? आधुनिक युगको लोकतन्त्र कस्तो हुन्छ ? समाजवादको नेपाली मोडलको खाका प्रस्तुत गरेर अगाडि बढ्न सक्नुपर्छ ।
जनप्रिय पार्टी बनाउनका निम्ति एक पद, एक व्यक्ति, पार्टीमा युवाहरू उपस्थिति, राष्ट्रिय विषयमा लिनुपर्ने अडान, वर्गप्रतिको घारणा दुनियाँलाई भन्नुपर्छ । त्यस्तै सांगठनिक संरचना निक्कै भद्दा छ । पार्टीभित्रको र देशको संकट मोचनका निम्ति क्रान्तिकारी पार्टी सानै भएपनि हुन्छ । ‘कता कता देखेजस्तो लाग्यो नि’ यो वाला संरचनाले क्रान्ति अगाडि बढ्दैन ।
यसका निम्ति विगत दुई वर्षमा भएका गरेका राम्रा नराम्रा कामहरूको निर्मम समीक्षा गर्नुपर्छ । रुपान्तरणसहितको पुस्तान्तरण आजको आवश्यकता ठान्नुपर्छ । हिन्दू–मुुसलमानबीचको प्रेम खोजेका गान्धीले नाथुराम गोट्सेको हातबाट गोली खाएर मर्नुपरेको इतिहास साक्षी छ ।