Logo
Logo

प्रधानसेनापति शर्माको अमेरिकी मोह


38.1k
Shares

काठमाडौं । चीन सरकारले दुई साता अघि नेपालको सीमामा सूचना संकलन गर्न भन्दै २० थान शक्तिशाली ड्रोन दिने घोषणा गरेको केही दिनमै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा इण्डो प्यासेफिक क्षेत्रका चिफहरुको सम्मेलनमा जाने निर्णय गरेका छन् ।

नेपाली सेनाले चीनबाट ल्याउन लागिएको हतियार केही प्राविधिक कारणले रोकिएपछि उनी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने इण्डो प्यासेफिक क्षेत्रका चिफहरुको सम्मेलनमा जाने लागेका हुन् । असोज ८–१० मा नयाँ दिल्लीमा सो सम्मेलन हुँदैछ । इण्डो प्यासेफिक सैन्य संगठनबारे नेपालमा विवाद रहेको छ । यसलाई उनले ख्याल नगरी जान लागेको स्रोतको दाबी छ ।

चार वर्षअघि अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डले आयोजना गरेको पहिलो इण्डो प्यासेफिक ल्याण्ड पावर सम्मेलनमा नेपाली सेना सहभागी भएको थियो । सम्मेलनमा नेपाली सेनासहित विश्वका २३ देशका उच्च सैनिक अधिकारी सहभागी भएका थिए । सम्मेलनमा नेपाली सेनाका तर्फबाट तत्कालीन बलाध्यक्षरथी हालका प्रधानसेनापतिशर्माले सहभागिता जनाएका थिए ।

अमेरिकी सेनाको इण्डोप्यासेफिक कमाण्ड र भारतीय सेनाको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा प्यासेफिक क्षेत्रका सेनापतिहरु सहभागी हुनेछन् । दिल्लीमा हुने उक्त सम्मेलनमा सैनिक अधिकारीहरुले आ आफ्नो क्षेत्रमा भोगेका समस्या, मतभेदहरु, चुनौतीहरुको समाधान गर्न र बहुराष्ट्रिय सैनिकहरुको बिचमा समानता खोज्न सहयोग पुग्ने विश्वास गरिएको बताइएपनि चीनले यसलाई सकारात्मक दृष्टिबाट हेरेको छैन ।

क्वाडजस्ता महत्वपूर्ण संस्थाहरुको प्रतिनिधित्व गरिएको इण्डो प्यासेफिकमा संयुक्त राज्य अमेरिकाको बहुपक्षीय सुरक्षा साझेदारीलाई अघि बढाउनको लागि एक महत्वपूर्ण कोसेढुंगा मानिएको छ । यो विषयमा नेपालमा धेरै पटक विवाद भएको र तत्कालीन नेकपा कालमा भीम रावललगायतका नेताहरुले यो सैन्य संगठनको विरोध गरेका थिए ।

इन्डो प्यासिफिक आर्मी चिफ सम्मेलन एक प्रमुख फोरम हो । जहाँ सैन्य नेताहरूबीच अन्तर्दृष्टि, दृष्टिकोण र रणनीतिक विचारहरूको आदानप्रदान गर्न मद्दत गर्ने बताइएको छ । सेनापति शर्माले अमेरिकी सेना र भारतीय सेनाका समकक्षीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम राखेको स्रोतको दाबी छ ।
शर्माको भारतीय सेनाका समकक्षीसँग द्विपक्षीय हितका बारेमा समेत छलफल गर्ने कार्यक्रम तय भइसकेको छ । प्रधानसेनापति शर्मा भारतको भ्रमणलगत्तै चीन भ्रमणमा जाने तयारीमा छन् ।

उनको चीन भ्रमण अक्टोम्बरमा तय भइसकेको छ । चीन भ्रमणको बेला नेपाली सेनाले खरिद गर्न लागेको हातहतियारको विषयमा कुराकानी हुने स्रोतले बताएको छ । यसअघि नेपाली सेनाले चीनबाट ठूलो परिणामको हतियार खरिद गर्न लागेकामा भारत र अमेरिकाले चासो दिएका थिए । भारतीय रक्षा सचिवले प्रधानसेनापतिलाई फोन गरेर चासो राखेको स्रोतको दाबी छ ।

यसैबीच अमेरिकी सेनाको इण्डो प्यासेफिक कमाण्ड र फिजी मिलिटरी फोर्सेसको आयोजनामा फिजीमा भएको चिफ अफ डिफेन्स सम्मेलन (चोड)मा सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा त्यहाँ पुगेर फर्केका छन् । प्रधानसेनापतिको प्रतिनिधित्व गर्दै राणा फिजी गएका थिए । फिजीमा पनि अमेरिकी सैनिकको आयोजनामा सो सम्मेलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्