काठमाडौं । महोत्तरीबाट प्रहरीले स्रोत नखुलेका ठूलो परिमाणको नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
महोत्तरीको मटिहानी–३ स्थित जनकपुर मटिहानी सडक खण्डमा पर्ने प्रतापी बाबा मन्दिर अगाडिबाट भारत विहारको मधुवनी जिल्लास्थित मधवापुर ग्राम पञ्चायतका २६ वर्षीय सुमित साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनको साथबाट स्रोत नखुलेको २६ लाख बराबरको नेपाली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवं डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए। उनीबाट एक हजार, एक सय र पचास दरका नेपाली रुपैयाँ बरामद भएको हो।
ज १२ प १६४४ नं को मोटरसाइकलबाट आउँदै गरेका साहलाई चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाई राखेको अवस्थामा नोट फेला परेको हो।