Logo
Logo

प्रवक्ता आफैँ अन्योलमा


27.8k
Shares

काठमाडौं । जेठ १६ गते अपराह्न ४ः२५ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका खण्डमा बस र कार ठोक्किँदा दुई जनाको मृत्यु भयो । त्यसमा एक जना सशस्त्र प्रहरी बलमा कार्यरत चालक थिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको मे १ ख ३३३५ नम्बरको बस ठोकिँदा कार चालक सुवास अधिकारी र त्यसमा सवार डा. सञ्जु खाती खड्काको मृत्यु भएको थियो ।

यो दुर्घटनाको समाचार त त्यसै दिन सार्वजनिक भएको थियो, तर पछाडि लुकेको एउटा गम्भीर विषय धेरैलाई थाहा थिएन ।

यो दुर्घटनाले भीआईपीहरूले पीएसओ तथा सरकारी सुविधाका चालकको दुरुपयोग गर्दै आएको तथ्यलाई छर्लङ्ग पारिदिएको छ । मृतक सञ्जु खाती उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारी हुन् । साथै, सुवास उपप्रधानमन्त्री खड्काका लागि सरकारले उपलब्ध गराएका सवारी चालक हुन् ।

सशस्त्र प्रहरीका कामु वरिष्ठ हवल्दार अधिकारीलाई गृह मन्त्रालयमार्फत सशस्त्रले उपप्रधानमन्त्री खड्काको सवारी चालकका रूपमा उपलब्ध गराएको थियो । आफूलाई सरकारी सुविधामा उपलब्ध गराएको चालकलाई मन्त्री खड्काले बुहारीलाई रारा लगिदिनुस् भनेर आफ्नो चालक पठाएका थिए । आफ्नी भाइबुहारी (असम्बन्धित व्यक्ति)लाई रारा घुमाइदिने उपप्रधानमन्त्री खड्काको निर्देशन पालना गर्ने क्रममा सुवासले ज्यान गुमाउन पुगे । त्यसको भोलिपल्ट सशस्त्र प्रवक्ता राजेन्द्र खड्का दर्जन पत्रकारसहितको जमघट कुरिनटारमा थियो ।

उक्त घटना समाचारमा आएपछि त्यहाँ सोधीखोजी हुन थाल्यो । मन्त्रीको गाडी चलाउने भनेर खटिएका सशस्त्रका अधिकारी कसरी बाँके पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता खड्काले त्यसबारे अनुसन्धान भैरहेको भनेर तत्काललाई मिडियामा आएका समाचारलाई न्यूनिकरण गर्ने प्रयास गरे ।

त्यो विषय सशस्त्र प्रहरीको आन्तरिक अनुसन्धान थियो होला । तर, बाहिरको अनुसन्धान भने नेपाल प्रहरीले गर्छ भन्ने कुरा प्रवक्ता खड्काले बिर्सिए । उनले त्यस्तो अभिव्यक्ति दिएपछि केही दिन मिडिया चुपाचाप रह्यो तर, त्यो अनुसन्धान कहाँ पुग्यो भनेर अहिलेसम्म सार्वजनिक पनि गरेका छैनन् ।

त्यतिमात्र होइन प्रवक्ता खड्का आफ्नै निर्णयबाट चुकेका छन् । गत शुक्रबार सशस्त्र प्रहरीका एसएसपीहरुको दज्र्यानी चिन्ह लगाउन कार्यक्रम सकिएपछि एसएसपी जहरसिंह बूढाकी धर्मपत्नीले सामाजिक सञ्जालमा एउटा भिडियो अपलोड गरिन । भिडियोको गीत थियो मेरो बूढा मैसँग छन् भन्ने । त्यो सम्म ठिकै थियो ।

त्यसपछि बूढाले आफ्नो टोपी बूढीलाई लगाइदिएका छन् । जबकि, त्यस्तै प्रकृतिको टिकटक बनाएको भन्दै प्रवक्ता राजेन्द्र खड्काले १५ जना जवान, १२ जना असई र १० जना सईलाई स्पष्टीकरण सोधेर कारबाहीको चेतावनी दिएका थिए । आफ्नै व्याची भए पनि केही उनीभन्दा समयपछि बढुवा भएका बुढामगरको टिकटक हेरर उनी रमाइरहेका छन् । तर, उनीमाथि केही कारबाही भएको छैन ।

प्रतिक्रिया दिनुहोस्