Logo
Logo

हाथवे इन्भेस्टमेन्टको आईपीओ बिक्री खुला, प्रतिकित्ता ५० रुपैयाँ


819
Shares

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरी बाँडफाँट गरेको थियो ।
दोस्रो चरणमा कम्पनीले १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरका २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ ।

कम्पनीले जारी पुँजी एक अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता ५० रुपैयाँअंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

त्यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि एक करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरका दुई लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरका ५८ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँबराबरका एक लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

आईपीओमा न्यूनतम २० देखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सो अवधिभित्र मागानुसार आवेदन नपरेमा निष्कासन अवधि असोज ४ गतेसम्म लम्बिने बताइएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्