काठमाडौं । नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा संचालित ९ वटा विद्यालयहरूको शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले नेपाल पुलिस स्कुल साँगामा आयोजित एक समारोहबीच आइतबार उक्त सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् ।
समारोहमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीद्वारा संचालित विद्यालयहरूको शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी भएको सम्झौताका लागि काठमाडौं विश्वविद्यालयलाई धन्यवाद दिँदै नेपाल प्रहरीका कर्मचारीका सन्ततीहरूलाई प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले स्थापना भएको पुलिस स्कुलले अहिले सर्वसाधारणका सन्ततीहरूलाई समेत समेटी अध्ययन अध्यापन गराउँदै आएको बताए ।
सम्पूर्ण विकासको स्रोत नै गुणस्तरीय शिक्षा भएको उल्लेख गर्दै सम्झौता अनुसार नेपाल पुलिस स्कुलका शिक्षकहरूलाई प्रदान गरिने समयानुकूल ज्ञान र सीपले नेपाल पुलिस स्कुलको शिक्षण पद्दति र विद्यालय सुधारको दिशामा अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कुँवरले शैक्षिक स्तरलाई माथि उठाउन परिवर्तित आधुनिक शिक्षा प्रणाली र सिद्धान्तहरूलाई अंगिकार गर्दै शिक्षण सिकाईको क्रियाकलापलाई काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन र नेपाल पुलिस स्कुलहरूबिचको सहकार्यले शैक्षिक गुणस्तरमा सुधार आउने विचार व्यक्त गरे ।
समारोहमा काठमाडौ विश्वविद्यालयका प्रा.डा. भोला थापाले नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालयको सहकार्यले नेपाल पुलिस स्कुलको शैक्षिक गुणस्तर अभिवृद्धि हुने बताए । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्यको क्षेत्रलाई अगाडि बढाउँदै लैजाने उनले उल्लेख गरे ।
समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकालले सम्झौताको महत्व र उद्देश्यका बारेमा प्रकाश पारेका थिए । उक्त सम्झौता अनुसार काठमाडौं विश्वविद्यालयले नेपाल प्रहरीद्वारा सञ्चालित ९ वटा विद्यालयलाई सुदृढ पार्न सहकार्य गर्ने र ९ वटै विद्यालयका शिक्षक तथा अन्य जनशक्तिको क्षमता विकासमा सहयोग गर्ने छ ।
सम्झौता हस्ताक्षर भएको दिनदेखि ५ वर्षका लागि लागू हुनेछ । साथै सबै प्रहरी स्कुलहरूको समग्र शैक्षिक स्तर सुधार गर्ने विषयमा दुवै पक्षबीच सहकार्य हुनेछ ।
उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल साँगा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बाल चन्द्र लुइटेल एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।