काठमाडौं । पछिल्लो समय नेपालमा निकै चर्चामा रहेको बजारमध्ये सेयर बजार पनि एक हो । विगतमा सेयर बजारमा लगानी गर्न लाइन लाग्ने जमात यतिखेर इन्टरनेटमा लाइन लागेका हुन्छन् ।
पछिल्लो समय सेयर बजारमा लगानी गर्नेहरूको संख्या नै ६० लाख हाराहारीमा पुगिसकेको छ । जसमध्ये आधाजतिले प्राथमिक सेयर अर्थात आईपीओ भर्ने गरेका हुन्छन् । यसरी हेर्दा पछिल्लो समय आईपीओमा बाढी नै लाग्ने गरेको देखिन्छ । डिजिटाइजेसनको बढ्दो प्रयोगले लगानीका लागि सहज बनाउँदा पनि आईपीओमा बाढी लाग्ने गरेको जानकारहरू बताउँछन् ।
लगानीका लागि अहिले धितोपत्र बोर्डमा एक दर्जन बढी कम्पनीहरूले प्राथमिक सेयर निस्काशनको तयारी गरेका छन् । ती कम्पनीहरूले करिब २ अर्ब ६५ करोड १४ लाख ८४ हजार रुपैयाँको आईपीओ ल्याउन आवेदन दिएको धितोपत्र बोर्डले जनाएको छ । यी कम्पनीहरूको २ करोड ९६ लाख ८५ हजार ४८४ कित्ता सेयर पाइपलाइनमा छ ।
आईपीओ निष्कासनको तयारीमा रहेका १० वटा कम्पनीमा २ वटाले बुक बिल्डिङ विधि र बाँकी १० वटा कम्पनीले अंकित मूल्यमा सेयर निष्कासन गर्ने तयारी गरेका छन् ।
बोर्डमा आवेदन दिएका १२ मध्ये रिलायन्स स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासन गर्न लागेका हुन् । रिलायन्स प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँसम्मको रेन्जमा ७ लाख ७० हजार ६४० कित्ता संस्थागत लगानीकर्ताका लागि निष्कासन गर्ने तयारीमा छ ।
यस्तै सर्वोत्तम सिमेन्ट प्रतिकित्ता ५०१ देखि ७५१ रुपैयाँसम्मको रेन्जमा २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि निष्कासन गर्ने तयारीमा छ । उत्पादन तथा प्रशोधन समूहमा पर्ने दुवै कम्पनीले ‘बुक बिल्डिङ’ विधिबाट आईपीओ निष्कासन गर्न लागेका छन् ।
बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्नेमा रिलायन्स स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्ट मात्रै हुन् । दुवै कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमार्फत सेयर निष्कासन गर्नेछन् ।
त्यसपछि मात्रै सर्वसाधारणले पाउनेछन् । दुवै कम्पनीले सेयर निष्कासन गर्दा ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ता र ६० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछन् । दुवै कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
यस्तै सानिमा माई हाइड्रोपावरले १४ करोड ७० लाख रुपैयाँको १४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित र सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
कान्तिपुर टेलिभिजन नेटवर्कले ७ करोड ५० लाख रुपैयाँको ७ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
हिम स्टार ऊर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ११ करोड १९ लाख रुपैयाँको ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
डिसहोम मिडिया नेटवर्कले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
आईएमई लिमिटेडले १० करोड रुपैयाँको १० लाख कित्ता सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
मुक्तिनाथ कृषि कम्पनीले १४ करोड रुपैयाँको १४ लाख कित्ता सेयर निष्कासनका लागि पाइपलाइनमा छ । बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।
यस्तै एकर्ड फर्मास्युटिकल्सले ७ करोड ६ लाख ९० हजार ९ सय रुपैयाँको ७ लाख ६ हजार ९०९ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
नेपाल वेयर हाउजिङ कम्पनीले १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासनको तयारी गरेको छ । आईपीओ निष्कानका लागि बोर्डमा आवेदनदिएको कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।
ट्रेड टावरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँको ११ लाख ५८ हजार ९८० कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।
दरमखोला हाइड्रो इनर्जी कम्पनीले ३९ करोड ५० लाख रुपैयाँको ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएर पाइपलाइनमा रहेका कम्पनीहरुले सर्वसाधारणका लागि निष्कासन गरेको सेयरबाट वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई १० प्रतिशत सेयर छुट्याउने गरिएको छ ।
आईपीओमा बाढी लागेपनि पछिल्ला समय सेयर बजारको दोस्रो बजारमा भने निराशा नै निराशा छ । लगानीकर्ताहरूले विगतको तुलनामा १० खर्ब हाराहारी गुुमाइसकेका छन् ।
पछिल्लो समय बजार घट्नुमा जानकार एवं विश्लेषकहरूले लगानीकर्ताको मनस्थितिलाई कारण देखाएका छन् । पछिल्ला केही दिनयता लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको विज्ञहरू बताउँछन् । त्यसकारण बजार बढ्न नसकेको हो । मौद्रिक नीतिले गरेको सेयर धितो कर्जामा विद्यमान १५० प्रतिशतको जोखिमभार पुनरावलोकन लगानीकर्तालाई चित्त नबुझ्दा पनि बजार घटेको हो । लगानीकर्ताले यो प्रावधान नै हट्ने र सबैलाई १०० प्रतिशतमात्रै जोखिमभार रहने अपेक्षा गरेका थिए । तर, उनीहरूको अपेक्षा पूरा हुन सकेन । राष्ट्र बैंकले एक व्यक्तिका लागि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा मात्र १०० प्रतिशत कायम हुने व्यवस्था ग¥यो । यसकारण लगानीकर्ता निराश बन्न पुगे र बजार क्रमशः घट्न थाल्यो ।
लगानीकर्ता निराश बनाउन मौद्रिक नीतिमात्रै कारण रहेन, भदौमा बैंकहरूको ब्याजदर समेत बन्न पुग्यो । भदौको लागि केही वाणिज्य बैंकहरूले ब्याजदर बढाए । ब्याजदर घट्ने अनुमान गरिएकोमा झनै बढ्न थाल्दा लगानीकर्ताको मनोबल निकै कमजोर बनेको विश्लेषकहरू बताउँछन् ।
सेयर बजारबारे जानकार छोटेलाल रौनियार अहिले अर्थमन्त्री र गभर्नरबीचको टकरावको मारमा लगानीकर्ता परेको गुनासो गर्छन् । अर्थमन्त्रीले ब्याजदर घटाउन चाहे पनि गभर्नरले घटाउने मनसाय नराखेको गुनासो उनले गरे । ‘तरलता पनि छ, कर्जा पनि गएको छैन भने ब्याजदर घट्नुपर्ने हो, तर बैंकहरूले कार्टेलिङ गरिरहेका छन् । बैंकहरूले पुनः ब्याजदर बढ्न सक्ने संकेत गरिरहेका छन्,’ इन्भेष्टर्स फोरमका पूर्व अध्यक्षसमेत रहेका रौनियार भन्छन्, ‘राष्ट्र बैंकले पनि ब्याजदर घट्न नदिनका लागि प्रपञ्च रचिरहेको छ ।’
अर्थमन्त्री र गभर्नरबीचको टकरावले पनि बजारमा अन्योल सिर्जना गरेको उनले बताए । यसका कारण लगानीकर्ताको मनोबल निकै खस्किएको उनको बुझाइ छ । ‘अन्य मुलुकमा सेयर बजारको पक्षमा विभिन्न नीति आउने गरे पनि नेपालमा राज्यले नै बजार नबुझ्नु दुखद् हो,’ रौनियार भन्छन्, ‘बजारमा सहजता हुँदाहुँदै पनि बजार सुधार्नेतर्फ सरकारले ध्यान दिएन ।’
पछिल्ला महिनाहरूमा नेपालको बाह्य अर्थतन्त्र सुदृढ बन्दै गएको र आन्तरिक अर्थतन्त्र पनि विस्तारै चलायमान हुने दिशामा रहेको भए पनि सेयर बजारमा भने त्यस्तो चहलपहल नै नदेखिएको उनको बुझाइ छ । ‘सरकारको प्राथमिकतामा सेयर बजार नपर्दा लगानीकर्ताले १४ खर्ब रुपैयाँभन्दा बढी गुमाइसकेका छन्,’ रौनियार भन्छन् । बजार सुधार्नका लागि धितोपत्र बोर्डका पछिल्ला कदमलाई लगानीकर्ताले सकारात्मक रुपमा लिँदा पनि राज्यले नै बेवास्ता गर्दा उत्साह नबढेको उनको बुझाइ छ ।