काठमाडौं । यसबेला कांग्रेसका अग्रज आदर्शवादी नेता विपी कोइरालाको ११०औँ जन्म जयन्तीको मौसम चलिरहेको छ । भाषण र गोष्ठीमा विपी सम्झिइएका छन् । हरेक बर्षको भदौको अन्तिम साता नेपाली कांग्रेसले विपीको गुणगान गाएर यसरी नै औपचारिकता निर्बाह गर्दै आएको छ ।
विपीका आदर्शलाई व्यवहारमा उतार्ने भन्दा पनि देखावटी र क्षणिक रमझम कांग्रेसको परिपाटी नै बसेको छ । विपी कांग्रेसका मात्र नेता होइनन्, समग्र नेपालीकै आदर्श नेता थिए । लोकतन्त्रको स्थापना र जनअधिकारका लागि संघर्ष गरेका स्वच्छ छविका नेता थिए विपी । दक्षिण एसियामा बेग्लै पहिचान बनाएका थिए ।
नेपाली राजनीति मात्र होइन, साहित्य क्षेत्रमा पनि उत्तिकै योगदान पु¥याएका थिए विपीले । लोकतन्त्रको जग बसाउने अग्रणी व्यक्तित्व थिए । विपीको निधन भएपछि नेपालको राजनीतिमा ऐतिहासिक र युगान्तकारी परिवर्तनहरु भए । राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । एकतात्मक राज्य व्यवस्थाको बदलामा संघीय शासन प्रणालीको शुरुवात भएको छ । राजनीतिमा नयाँ नयाँ नेतृत्वको उदय भएको छ । जे जति परिवर्तन भए पनि विपी विचारको सान्दर्भिकता घटेको छैन, बरु बढ्दै गइरहेको छ ।
तर विपीको पौरखले स्थापित भएको नेपाली कांग्रेसले आजका दिनसम्म एकाध कार्यक्रमहरु गरेर कर्मकाण्ड त पुरा गरेको छ, तर आज आफु कुन धरातलमा छु भनेर आत्मसमीक्षा गर्ने फुर्सद छैन । जतिबेला विपी कोइराला नेतृत्वको कांग्रेस थियो– जनताको आकर्षण थियो, आशा र भरोसा थियो ।
कांग्रेस नेपाली राजनीतिको मियो थियो । अन्तर्राष्ट्रिय मञ्चमा बेग्लै पहिचान थियो । तर अहिलेको कांग्रेस, चमक हराएको, विचार सकिएको, बूढो रुखमा परिणत हुन पुगेको छ । लोकतन्त्रको पाठ कम्युनिष्टसँग सिक्नुपर्ने अबस्थाबाट कांग्रेस गुज्रेको छ । कांग्रेस कस्तो पार्टी ? कस्को पार्टी भन्ने प्रश्नहरुको घेरामा छ ।
कांग्रेसभित्र नेतैपिच्छे चरम गुटबन्दी छ । व्यक्तिवाद छ । कांग्रेसमा नातावाद, कृपावाद, पत्नीवाद र चाकडीवाद आदर्श बन्न पुगेको छ । विपीको आदर्शलाई अवसरवादीले निलेका छन् । अझै यसभन्दा ठूलो कुरा दलाल, बिचौलिया भ्रष्टाचारी र धनवादमा कांग्रेस चुर्लुम्म छ ।
कांग्रेसको यो हाल हुनुमा ठूला नेतादेखि टोले नेतासम्मको उत्तिकै भूमिका छ । जिम्मेवारी लिन भने आजका दिनसम्म कोही तयार देखिँदैन । जवाफदेहिता बहन गर्न कोही कसैको अघि बढ्ने इच्छा देखिँदैन । अरुतिर चोर औँला ठड्याएर धारे हात लगाउनु कांग्रेसजनको दैनिकी बन्न पुगेको छ । चोरहरुको बीचमा साधु बन्ने अनौठो प्रतिस्पर्धा चलिरहेको छ ।
वास्तवमा, विपीको लोकतन्त्रप्रतिको आस्था र विश्वासले नै कांग्रेस झाँगिएको थियो । विपीको प्रतिस्पर्धात्मक राजनीतिप्रति लगाव थियो । कांग्रेसले भनेको समाजवाद भनेको के हो ? यो समाजवादी व्यवस्थामा कसरी पुगिन्छ ? भनेर कोही कांग्रेसजनहरु बताउन सक्ने हैषियतमा छैनन् । विपीको समाजवादी दर्शनले लोककल्याणकारी राज्यको वकालत गर्छ । समाजका शोषित, पीडित जनताको लागि सामाजिक सुरक्षा, समानता र संरक्षणको कुरा गर्छ ।
अब भाषण, गोष्ठी र कविता सुनाएका भरमा मात्र कांग्रेस बौरिन सम्भव छैन । जन्मजयन्तीको अवसरको छेक पारेर ‘विपी यसै भन्नुहुन्थ्यो’ भनेर मात्र कांग्रेसको शाख पनि फर्किँदैन । विपीको गौरवगाथा गाएर मात्र पनि पार लाग्दैन । विपीका सिद्धान्तलाई व्यवहारमा लागु गर्न ठूलो त्याग चाहिन्छ ।
विपी भन्थे– ‘आर्थिक समानता र राजनीतिक स्वतन्त्रताको एउटा आदर्श व्यवस्था नै प्रजातान्त्रिक समाजवाद हो ।’ नेपाल भनेको गाउँ हो । नेपालको विकास भन्नु नै गाउँको विकास हो । झुपडी, गाउँ र बस्तीबाट नेपाललाई उठाउनुपर्छ भन्ने मान्यता विपीको थियो । आफ्नै बलबुतामा आर्थिक उन्नती गर्नुपर्दछ भन्ने विपीको ध्येय हुन्थ्यो । प्रत्येक योजना र कार्यक्रम जनस्तरबाट सञ्चालन गराई ग्रामीण विपन्न वर्गलाई प्रोत्साहित गर्ने योजना विपीले अघि सारेका थिए ।
वास्तवमा विपीले बोलीले होइन, व्यबहारले सबैलाई स्थान दिएका थिए । पार्टी वा सरकारमा सबैको प्रतिनिधित्व गराएका थिए । अहिले कांग्रेसमा आन्तरिक लोकतन्त्र समेत नाजुक अवस्थामा पुगेको छ । फरक मत राख्ने असहमत पक्षलाई निमिट्यान्न गर्ने खेलको शुरुवात भएको छ ।
विचार र क्षमताभन्दा पनि वरिपरि घुम्ने चम्चे र धुपौरेलाई च्याप्ने संस्कार नै बनेको छ । संस्थागत निर्णय भन्दा स्वेच्छाचारीता उत्कर्षमा पुगेको छ । पार्टीभित्र मालिक र नोकरको जस्तो असमान सम्बन्ध छ । यसकारण कार्यकर्ता र जनताबीच दूरी बढ्दै गइरहेको छ । न नेता–कार्यकर्ताबीच हार्दिकता छ, न भाइचारा । दाइ र भाउजुको कब्जामा पार्टी चलेको छ ।
समावेशीकरणका नाममा भाइभतिजावाद, फरियावाद र दलेहरुको चर्को विगविगी र प्रताडना छ । अझै पत्नीवादमा कांग्रेस फेरिएको छ । पार्टीभित्र विचौलियाहरुको रजगज छ । कथित बुहमतको नाममा कांग्रेस थिलथिलो बनेर पिल्सिएको छ । विपीले भन्ने गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई लिएर कांग्रेसले छलफल, विचार विमर्श, बहस गर्नसक्ने हैषियत समेत गुमाएको छ ।
ती आदर्श यदि कतै छन् भने विधानभित्र छोपिएका छन् । विडम्वना नै भन्नुपर्छ, कांग्रेस आफ्नै कर्मले पुरानो र भुत्ते बन्दै छ । यस्तो अवस्था हुँदा पनि कांग्रेसमा बोल्ने र वैचारिक बहसमा खरो उत्रने आँट देखिँदैन । पार्टीलाई जीवन्त दिनका लागि सिद्धान्त, विचार, नीति, कार्यक्रम र व्यवहार चाहिन्छ । यतातर्फ कांग्रेसका नेताहरुको रुचि मरिसकेको प्रतीत हुन्छ ।
उ बेलाको विपीको सोच कांग्रेस दिनदुःखीहरुको पार्टी बनोस्, शोषित पीडितहरुको पार्टी बनोस्, भुइँमान्छेहरुको पार्टी बनोस् भन्ने थियो । अहिले कांग्रेसलाई नवसामन्ती, बिचौलिया, दलालहरुको पार्टीको कित्तामा पु¥याइएको छ । कांग्रेस हुने खानेहरुको पार्टी हो भन्ने परिचय बोकेको छ ।
विलासी, धनीमानी, सामन्ती संस्कार बोकेका र तडकभडकपूर्ण जीवनशैलीका व्यक्तिले कांग्रेसको मौलिकता र स्वत्व सकिने दिशामा पुगेको छ । यस्तो संकट उत्पन्न हुनुमा कुनै योगदान, भूमिका, लगानी, त्याग नभएका भुइँफुट्टा वर्ग नै जिम्मेवार हुन् ।
अब भाषण, गोष्ठी र कविता सुनाएका भरमा मात्र कांग्रेस बौरिन सम्भव छैन । जन्मजयन्तीको अवसरको छेक पारेर ‘विपी यसै भन्नुहुन्थ्यो’ भनेर मात्र कांग्रेसको शाख पनि फर्किँदैन । विपीको गौरवगाथा गाएर मात्र पनि पार लाग्दैन । विपीका सिद्धान्तलाई व्यवहारमा लागु गर्न ठूलो त्याग चाहिन्छ । यसका लागि पहिले नेताबाटै गम्भीर आत्मसमीक्षा आवश्यक छ । नत्र कांग्रेस पार्टी भोलिका विद्यार्थीका लागि इतिहासमा पढ्नलाई मात्र काम लाग्ने दिन आउन बेर छैन ।
यसर्थ कांग्रेसलाई अहिलेको ‘क्रोनिक’ अबस्थाबाट बाहिर निकाल्न निर्मम चिरफार विना हुँदैन । व्यथिति–विकृतिको गंभिर उत्खनन् पनि हुनुपर्छ । कांग्रेसको मुहान नै सुक्न थालेको अबस्थामा विपी वाद बचाउँदै कांग्रेसको शाख फर्काउन कोही तयार छ भने युवा पुस्ता नै हुन् । अब कांग्रेसको नेतृत्व युवा पुस्तामा गएन भने पुरानाबाटब कांग्रेस चल्दैन ।