काठमाडौं । जति बदनाम भए पनि शक्तिको दुरुपयोग गर्न आरजु राणाले छाडेकी छैनन् । उनकै दबाबमा नक्कली भुटानी शरणार्थी काण्डको छानबिन गरिरहेका प्रहरी अधिकृतहरुलाई सरुवा गरियो भने अहिले पनि उनी कर्मचारी सरुवा बढुवाबाट कमाउने धन्दामा लागेकी छिन् ।
समाचार स्रोतका अनुसार, निजामती कर्मचारी प्रशासनमा सबैभन्दा बढी आकर्षक स्थानमा बसेर सरकारी खर्चको दोहन गर्ने कृष्णहरि पुस्करलाई अर्थसचिव बनाउन आरजुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई दबाब दिएकी छिन् । बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाएपछि उनलाई प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ ।
खासगरी सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग कुरा नमिलेपछि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका उनी आरजु राणासँग नजिक भएर अर्थमन्त्रालयमा आउन दाउ हेरिरहेका छन् । उनले देउवापत्नी आरजु राणाको पहलमा अर्थ मन्त्रालय जान खोजिरहेका छन् । यस अघि सचिव बढूवा हुनासाथ उनले राजश्व हुँदै अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए । त्यसपछि अर्थबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पुगेका थिए ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुतिको अघिल्लो मध्यराति नायबसुब्बा रघुनाथ घिमिरेलाई अर्थमन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको विषयमा विवाद उत्पन्न भएपछि मधु मरासिनीका स्थानमा उनलाई लगेका थिए । ‘केही प्राविधिक पक्षलाई मिलाउनुपर्ने भएकाले अर्थसचिवको हेरफेर हुन सकेको छैन, केही दिनमा कृष्णहरि पुस्करलाई ल्याउने तयारी छ’, अर्थमन्त्रालय स्रोतले भन्यो ।
सामान्य प्रशासनमा रहँदा कर्मचारी सरुवामा तत्कालीन मन्त्री अमनलाल मोदीसँग उनको बोलचाल नै थिएन । कर्मचारी सरुवामा पुस्कर निकै बद्नाम छन् । मोदी मन्त्री हुँदै त्यहाँबाट सरुवा खोजेका उनको अनिता देवी सामान्य प्रशासन मन्त्रीको रुपमा आएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको हो ।
अर्थमन्त्री डा. महतले हालका अर्थसचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका पुष्करलाई अर्थ मन्त्रालयमा सरुवा गर्न दबाब दिइएको छ ।
यसअघि अर्थसचिव भइसकेका पुष्करलाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव लगिएको हो । पुष्कर सहसचिव हुँदा आन्तरिक राजस्व विभाग, भन्सार विभाग र त्रिभुवन विमानस्थलको भन्सार कार्यालय, सम्पत्ति शुद्धीकरणको विभाग प्रमुखको रुपमा पनि काम गरेका थिए ।
लोकमानसिंह कार्कीकै पालामा अख्तियारको आडमा कलकत्ताको महाबाणिज्यदूत नियुक्ति हुने अवसर समेत पाएका उनी कर्मचारी प्रशासनमा बदनाम कर्मचारी हुन् । विष्णु पौडेल अर्थमन्त्री भएर आएपछि तोयम रायलाई अर्थसचिवमा र डा. रामप्रसाद घिमिरेलाई राजस्व सचिवको जिम्मेवारी दिएर उनलाई प्रधानमन्त्री कार्यालयमा पठाइएको थियो ।
कर्मचारी प्रशासनमा गणेश प्रबृत्तिका चतुर सचिव कृष्णहरि पुस्करले भने प्रदेश टेक्नै परेन । अरुले सचिव भएपछि प्रदेशमा गएर काम गर्नुपरेको इतिहास छ । तर, उनका लागि त्यो नियम लागु भएन । वरिष्ठहरू प्रदेशको प्रमुख सचिवमा बरालिरहँदा कनिष्ठ पुस्कर भने शक्तिशाली मन्त्रालयमा एकपछि अर्को जिम्मेवारी पाएका थिए ।
कमजोर कार्यक्षमताका पुस्करले लगातार महत्वपूर्ण जिम्मेवारी पाउनुको मुख्य कारणचाहिँ आर्थिक चलखेल नै भएको स्रोत बताउँछ । अहिले अर्थमा जान पनि देउवापत्नीको फेरो समातेर प्रधानमन्त्री प्रचण्डको छोरी गंगा दाहाललाई समेत मनाउन भ्याएको स्रोतको दावी छ । ‘उहाँ बालुवाटार पनि आउनु भएको छ, अर्थमा जाने उहाँको चाहनामा प्रधानमन्त्रीको सचिवालय पनि सहमत भइसकेको छ’, बालुवाटारनिकट स्रोतले दृष्टिलाई बतायो ।