Logo
Logo

प्रधानमन्त्रीको चीन भ्रमण बहुआयामिक डाइनामिक्स


882
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असोज ५ गते चीन भ्रमणमा जाँदैछन् । तेस्रोपटक प्रधानमन्त्री भएपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ । असोज ६ गतेदेखि चीनको ह्वाङझोउमा सुरू हुने १९औं एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुँदै उनी बेइजिङतिर लाग्नेछन् । त्यसअघि उनी अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट सिधैं चीन भ्रमणमा निस्कन लागेका हुन् । संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएलगत्तै चीन भ्रमण सुरू हुने भएकाले उनको महासभाको सहभागिता भने छायामा पर्ने भएको छ । यसै पनि नेपालजस्ता देशका लागि संयुक्त राष्ट्र संघ महासभाको सहभागिता आफन्तको लावालश्करसहित अमेरिका भ्रमणमा जाने एक किसिमको कर्मकाण्डी सहभागिता नै हो । प्रधानमन्त्री प्रचण्डको २४ सदस्यीय जम्बो सहभागिता पनि त्यसैको पछिल्लो श्रृंखला हो ।

अहिले देशमा प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणलाई लिएर पुरानै खाले वुद्धिविलास सुरू भएको छ । पुरानैखाले यस अर्थमा कि चीनले अंगालेको कम्युनिष्ट राजनीतिक व्यवस्थालाई हेर्ने दृष्टिकोणलाई लिएर नेपाली जनमत ध्रुवीकरण छ । एकखाले नेपाली चीनले जे गरे पनि मन पराउँदैनन्, राम्रै गर्यो भने पनि शंकाको घेरामा राख्छन् । खासगरी दक्षिणपन्थी सनातनी प्रजातन्त्रवादीहरू यो कोटीमा पर्छन् । यसको मूलकारण भारतलाई मित्र मान्नुपर्ने उनीहरूको सनातनी बाध्यता नै हो ।

दोस्रोथरि नेपाली चीनलाई नजिक ठान्छन् । चीनलाई नजिक ठान्नेहरू पनि दुईखाले छन् । एकखाले जो कम्युनिष्ट भन्छन्, उनीहरू त्यही राजनीतिक सिद्धान्तका आधारमा चीनलाई नजिक ठान्छन् । अर्काखाले जो भारतविरोधी छन्, उनीहरू पनि शत्रुको शत्रु मित्र हुन्छ भन्ने दर्शनका आधारमा चीनको नजिक पुगेका हुन्छन् ।

राजनीतिक सिद्धान्तका आधारमा चीनको नजिक रहेका कम्युनिष्टका पनि नेपालमा थुप्रैखाले राजनीतिक दोकान छन् । त्यही दोकानको आधारमा कोही चीनले समेत छोडिसकेको माओवाद मान्छन्, कोही माओ विचारधारा भन्छन्, कोही चीनलाई समाजवादी भन्छन्, कोही पूँजीवादी पनि भन्न बेर लगाउँदैनन् । तैपनि उनीहरू सँधैभरि चीनको सबैभन्दा नजिक पुग्ने प्रतिस्पर्धामै हुन्छन् । यो प्रतिस्पर्धामा आफू पछि परिने हो कि भन्ने चिन्ताले उनीहरू ग्रसित पनि हुन्छन् ।

चिन्ताको यो पछिल्लो भागदौडमा मूलतः नेकपा एमाले र नेकपा माओवादीको तछाडमछाड चलिरहेको छ । यद्यपि, चीन यी दुई मात्र हैन, नेपालका अरू पनि कम्युनिष्ट दोकानवालाहरू मिलेर नेपालमा शक्तिशाली वामपन्थी पार्टी बनोस् भन्ने मनशाय राख्छ । उसले यस्तो मनशाय राखेको मात्र छैन, सबैले देख्नेगरी पटकपटक प्रदर्शन पनि गरेको छ । नेकपा र नेकपा एमाले विभाजन हुन नदिन उसले गरेको प्रयत्न अनुभूत भएकै हो । यद्यपि, परिणाम सबैका सामु छर्लङ्गै छ ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणलाई लिएर सबैखालका नेपालीमा एक किसिमको चासो र चिन्ता छ । उनी नेकपा माओवादीको पार्टी अध्यक्षका रूपमा नभएर नेपालको प्रधानमन्त्रीका रूपमा चीन भ्रमणमा निस्कन लागेकाले यस्तो हुनु स्वभाविकै हो । सत्ता गठबन्धनको प्रमुख घटक दक्षिणपन्थी सनातनी प्रजातन्त्रवादी कांग्रेसलाई प्रधानमन्त्रीले कुनै प्रकारका सम्झौता वा सहमति गरेर उसका मित्र शक्ति भारत र अमेरिकालाई चिढ्याउने काम पो गर्लान् कि भन्ने चिन्ता छ । उता, प्रमुख प्रतिपक्षी एमालेलाई चीन अनुकूल सम्झौता वा सहमति गरिदिएर आफूभन्दा माओवादी पो चीन नजिक पुग्ला कि भन्ने चिन्ता छ ।

यति मात्र हैन, नेपालमा पछिल्लोसमय यो वा त्यो नाममा अमेरिकाका लागि सोची दिने, काम गरिदिने ठूलो नागरिक समुदाय छ । उनीहरू सरकारले नेपालको पक्षमा भन्दा पनि अमेरिकी स्वार्थमा ठेस पुर्याउने खालका कुनै सहमति गरेर आफ्नो दानापानी रोकिने हो कि भन्नेमा चिन्तित छन् । युरोपेली युनियन र उसका सदस्य राष्ट्रहरूका लागि काम गर्नेहरू पनि यस मेसोमा जोडिएका छन् ।

यी तमाम् चासो र चिन्ताका बीच प्रधानमन्त्रीले चीन भ्रमणका लागि एजेण्डा तय गर्ने नाममा विचार विमर्शको सिलसिला सुरू गरेका छन् । यद्यपि, भ्रमणका सारा एजेण्डा धेरै चरण पार गरेर यसअघि नै तय भैसकेका हुँदा यो सिलसिला कुनै कामकाजी सिलसिला हैन । यसअघि पनि प्रधानमन्त्रीको चीन भ्रमणको पूर्वसन्ध्यामा यस्तै कर्मकाण्ड हुन्थे, यसपटक भएको पनि त्यसैको पछिल्लो श्रृङ्खला मात्र हो । यो सबैलाई थाहा छ, तैपनि धेरैले सहभागिता जनाएका छन् । यो आफैंमा नराम्रो हैन ।

यो स्तम्भकार पनि प्रधामन्त्री प्रचण्डको चीन भ्रमणका पूर्वसन्ध्यामा बेलाको बोलीका रूपमा बिलोम मत अभिलेखित गर्न चाहन्छ । नेपालको उत्तरी छिमेकी चीन खासै सांस्कृतिक,भाषिक र भौगोलिक प्रोक्सिमिटी भएको छिमेकी हैन । त्यही यथार्थको धरातलमा नाप्दा यसको सकारात्मक/नकारात्मक दुबैखाले असर पनि त्यति बढी छैन । राजनीतिक दर्शनका रूपमा यसको प्रभाव भने अझै पनि जवजस्त नै पाइन्छ । तर, पछिल्लो समय नेपालमा वर्गीय कम्युनिष्ट राजनीति सकिएर सत्तामुखी कम्युनिष्ट राजनीति हाबी हुँदैगएकोले सारमा नेपालको कम्युनिष्ट राजनीति नै सकिदै जाँदा त्यो प्रभाव पनि अब नाम मात्रको हुँदैछ ।

नेपालको सत्ता–सौदागर कम्युनिष्टहरूले भारतको समर्थन बिना नेपालमा सत्ता प्राप्त नहुने र पाइहाले पनि नटिकिने भन्ने भाष्य स्थापित गरिसकेका छन् । प्रचण्डको नेकपा माओवादी त उग्र दक्षिणपन्थी भारतीय जनता पार्टीसँग भाइचारा सम्बन्ध स्थापित गर्न लम्पसार परेर लागेको छ भने अरूको के कुरा भयो र? नेपालका कम्युनिष्ट र अमेरिकाको दूरी पनि क्रमशः घट्दो छ ।

नेपालको सत्तामा यो वा त्यो नामका कम्युनिष्टहरू पुगिरहने भएकाले अमेरिकाका लागि यो एक किसिमको बाध्यता नै भएको छ । प्रस्तुत पृष्ठभूमीमा नेपाल र चीनबीचको सम्बन्ध अब विकासे सम्बन्धका रूपमा बाँच्ने निम्सरो स्थितिमा पुगेको छ । चीनले पैसा दिएर नेपालको विकास गरिदियो भने चीन असल छिमेकी, अन्यथा खराब हुने अवस्था देखिदैछ । उता, वैश्य युगमा पैसा नै महान हो भन्ने बुझेको चीन पनि त्यसको हिसाबकिताब गर्न पोख्त भैसकेको छ ।

नेपाल कतै पूरै अमेरिकी धुरीमा गएर आफ्नो दक्षिणमै अमेरिकालाई बास दिएर अप्ठ्यारो त पार्ने हैन भनेर उसको चिन्ता बढाएको छ । चीन स्वसासित तिब्बत अमेरिकाका लागि यसै पनि वर्षौदेखि रणनीतिक आक्रमणको विषय बन्दै आएको छ । यही कारण पनि चीन नेपालसँगको सम्बन्ध बिगार्न चाहदैन, विकासका नाममा भए पनि आफ्नौ उपस्थिति दरिलो बनाइरहन चाहन्छ ।

चीनका लागि नेपाल अमेरिकी कोणबाट मात्र हैन, भारतीय कोणबाट पनि महत्वपूर्ण छ । चीन र भारतबीच रैथाने दुश्मनी छ । यो दुश्मनीमा मनोवैज्ञानिक जीतका लागि पनि नेपालको पक्षधरताको ठूलो अर्थ हुन्छ । चीन किमार्थ पनि भारतीय स्वार्थ–छानोमा नजावोस् भन्ने चाहन्छ ।

नेपाल केही समययता भूराजनीतिक कोणबाट अत्यन्त सम्वेदनशील क्षेत्रका रूपमा विकसित हुँदै गएको छ । खासगरी चीन र भारत निरन्तररूपमा शक्तिशाली हुदै आपसी प्रतिस्पर्धा बढाउँदै जाँदा अमेरिकाको ध्यान यतातिर तानिएको छ । आफ्नो चुनौतिका रूपमा खडा भैरहेको चीनलाई काबुमा ल्याउन अमेरिकाका लागि नेपाल रणनीतिक रूपमा पेचिलो बन्दैछ । भारतलाई रूसी छाताबाट पूरै बाहिर निकाल्न नसक्दा ऊ अमेरिकाको भरपर्दो सहयात्री हुन सकेको छैन ।

यस्तो अवस्थामा नेपाल नै अमेरिकाका लागि खास हुने उस्को विश्वास रहेको देखिन्छ । त्यसका लागि अमेरिकाले यो वा त्यो नाममा आफ्नो गतिविधि मात्र बढाएको छैन,चौतर्फि दबाब पनि बढाएको छ ।

नेपालतिरको चीनको चासो र चिन्ता पनि यसैले बढाएको छ । दक्षिणी छिमेकी भारत र वर्तमान विश्वको एक मात्र महाशक्ति राष्ट्र अमेरिकासँगको सम्बन्ध अलि बढी नै तातिदै जाँदा उत्तरी छिमेकी राष्ट्र चीनसँगको सम्बन्ध चिसिदै गएको छ । चिसिदै गएको यस अर्थमा कि नेपाल र चीनबीचको आपसी विश्वासको वातावरण खल्बलिदै छ ।

यो कुरा चीनले राम्रैसँग थाहा पाएर त्यसलाई सम्बोधन गर्ने प्रयास पनि गरिरहेको छ । यस कोणबाट पनि चीनले प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई उच्च महत्व दिएजस्तो देखिन्छ । ऊ यही भ्रमणबाट आफ्नो चासो र चिन्ता सम्बोधन होस् भन्ने चाहन्छ ।

नेपालको कूटनीतिक क्षेत्रका केही जानकारहरू प्रधानमन्त्री प्रचण्ड ज्यादै कमजोर प्रधानमन्त्री भएको र भारतको समर्थनबिना पदमा धेरै दिन टिक्न नसक्ने हुँदा उनीबाट चीनले धेरै अपेक्षा गरेको छैन भन्ने कोणबाट कुरा गरिरहेका छन् ।

उनीहरू के पनि भनिरहेका छन् भने प्रधानमन्त्री प्रचण्ड अमेरिकालाई चिढ्याएर आफूलाई संकटमा पार्न चाहदैनन् । तर, चीनले के बुझेको जस्तो देखिन्छ भने प्रचण्ड आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा खालमा जम्ने जनाधारको पूँजी सकिएर च्याँखेदाउमा छन् र यस्तो अवस्थाका प्रचण्डले अरू जोखिम पनि लिन सक्छन् । यो कोणबाट विचार गरेर, भारत र अमेरिका मात्र हैन, उनीहरूका नेपाली शुभचिन्तकमा पनि एक किसिमको चिन्ता बढेको छ ।

प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणसँग जोडिएका यी तमाम डाइनामिक्सलाई हेर्दा यो एक महत्वपूर्ण भ्रमण हुनेमा कुनै द्विविधा छैन । तर, यसलाई कसरी नेपालको पक्षमा बढीभन्दा बढी फलदायी बनाउने भन्ने कुरामा पर्याप्त गृहकार्य भएजस्तो भने देखिदैन । यसै पनि नेपालको कूटनीति केही समययता मुन्सीखाना युगमा फर्केको छ ।

नेपालको एक स्थायी र सर्वसम्मत परराष्ट्र नीति छैन । परराष्ट्र हेर्ने राजनीतिक नेतृत्व पनि गतिलो छैन, कर्मचारी संयन्त्र पनि क्रमशः भुत्ते हुँदैछ । राजनीतिक वृतबाट गएका हुन् वा आफूलाई करिअर डिप्लोम्याट भन्ने कर्मचारी संयन्त्रबाट गएका, प्रायशः राजदूतहरू कमाउन, अवकाशपछिको जीवन आनन्दसँग बिताउन र आफ्नालाई उता ओसार्ने प्रयोजनका लागि मात्र मरिहत्ते गरिरहेको जस्तो देखिन्छ । त्यसमा पनि राम्राभन्दा हाम्रा नै त्यहाँ पुग्ने गरेको टिठलाग्दो अवस्था छ ।

नेपालको प्रधानमन्त्रीका रूपमा प्रधानमन्त्री प्रचण्डको सम्भवतः यो अन्तिम चीन भ्रमण हो । आशा गरौं, उनको यो भ्रमण आयाराम–गयाराम नभएर नेपाल–चीनबीचको सम्बन्धमा बढ्दै गएको सन्देहलाई सम्बोधन गरी पुरानै सुमधुर लिकमा फर्काउन सक्षम होस् ।

प्रस्तुत पृष्ठभूमिमा हुन लागेको प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणबाट ठूलै उपलव्धी होला भन्ने आश नगरे हुन्छ । अहिलेका लागि यी सात सूत्रमा रहेर केही गर्न सके त्यो नै पर्याप्त हुन्छ–
–नेपाल भारत र अमेरिकातिर ढल्केको छैन र ढल्कने पनि छैन भन्ने विश्वास दिलाउने
–नेपाल चीनको अहित हुने कार्यको अंशियार वा मतियार हुदैन भन्ने आश्वस्त बनाउने
–धेरै र असम्भव योजनाको संख्या थप्नेभन्दा पनि सम्भव हुने थोरै योजनामा केन्द्रित हुने
–नयाँ सम्झौता र सहमतिको सूची बढाउनेभन्दा पनि पुरानै सम्झौता र सहमतिलाई कार्यान्वयनमा लैजाने
–सम्झौता र सहमतिलाई कार्यान्वयनमा लैजान मोडालिटी बनाउने
–बीआरआई कार्यान्वयनमा लैजान देखापरेका चुनौतिको समाधान गर्ने
–चीनको चासो र चिन्तालाई पनि सम्बोधन गर्ने विश्वास दिलाउने

प्रतिक्रिया दिनुहोस्