कम्युनिष्टहरूले पदार्थलाई अन्तिम सत्य मान्छन् । हेगलको द्वन्द्ववादले समाजलाई टाउकोले हिँडाइरहेको बेला कार्लमाक्र्सले त्यसलाई खुट्टा टेकाएर उभ्याइदिएपछि विश्वको कम्युनिष्ट समाजका निम्ति पदार्थ नै अन्तिम सत्य बनेको हो । विचार मस्तिष्कबाट उत्पन्न हुन्छ । तर, स्वयं मस्तिष्कीय पदार्थ तत्वबाट बनेको हुन्छ । यसबारे माक्र्स भन्दछन्, ‘पदार्थ मस्तिष्कको उपज होइन, स्वयं पदार्थको उच्चतम उपज हो ।’
भनिन्छ, माक्र्सले परमात्मा, भगवानजस्ता निरपेक्ष विचारलाई पक्षपोषण गर्ने धर्मलाई अफिम भनेका थिए । त्यही भनाइलाई आधार मानेर आजसम्म पनि कम्युनिष्टहरू धर्मका बारेमा विभाजित देखिन्छन् । केही कम्युनिष्ट धर्मप्रति कडा देखिन्छन् भने केही नरम ।
यता नेपाली कम्युनिष्टहरू भने धर्मबारे भद्रगोल देखिन्छन् । आफूलाई भौतिकवादी हौँ भन्नेहरू र माक्र्सको फोटो राखेर पूजा गर्नेहरू अन्धविश्वासका रूपमा रहेको धर्मप्रति अतिरिक्त आस्थावान् देखिन्छन् ।
पशुपतिमा आफ्नो नाम लेखेर सुनको जलहरी राखेको कुरा सबैलाई थाहा नै छ । राम जन्मभूमिको पूजा गर्न रथयात्रा गर्छन् । सहतमा आएका दाबी विरोधहरू समाजले नसुनेको पक्कै छैन । यस्तो अन्तरविरोधका बीच केही कम्युनिष्टहरूले भनिरहेको सामाजिक जागरण के हो ? वर्तमान नेपाली समाजको रूपमान्तरण के हो ? कसरी होला ? रूपान्तरणको अभियानलाई कुन शक्तिले नेतृत्व गर्छ ? भनेर सोध्नु आजको मुख्य सवाल हो ।
यो सवाल रूपान्तरणसँग जोडिएर आएको मुख्य सवाल पनि हो । रूपान्तरणलाई अवरूद्ध पार्ने यथास्थितिवादी शक्ति र चेतना मात्र नभएर केही नयाँ आयामहरू पनि थपिएका छन् । उसो भए रूपान्तरणका चुनौतीहरू के हुन् ? यी सवालउपर केही मन्थन गर्नु सान्दर्भिक हुन्छ ।
संविधान कार्यान्वयन
हामीले बहुत ठूलो बलिदानी र संघर्षको बलबाट २०७२ सालमा समाजवादी संविधान प्राप्त गरेका हौं । समाजवादी संविधान कार्यान्वयन गरेको खण्डमा मात्रै समाज रूपान्तरणको अभियान अघि बढ्ने कुरा घामजस्तै छ । विकास, समृद्धि, रूपान्तरण र समाजवाद स्थापनाको पहिलो शर्त नै संविधान कार्यान्वयन हो ।
वर्तमान संविधानका राम्रो पक्षको अक्षरसः कार्यान्वयन र नराम्रा कुराहरू सुधार गरेर अगाडि बढ्नु तेस्रो विकल्प हो । अर्कातर्फ आजको दिनमा नयाँ शक्ति र पुराना राजनीतिक शक्ति भन्ने अनाश्वयक भाष्यले समाजलाई विभाजित गर्न खोज्दैछ । यसको ठोस विश्लेषण गरिनुपर्छ । जो रूपान्तरणकारी अभियानको चौथो शर्त हो ।
स्मरण रहोस्, पहिलो पुस्ताका नेताहरूले आजको दिनमा गर्नुपर्ने जति काम र हिँड्नुपर्ने गतिमा नहिँडेको पक्कै हो । तर, तिनै नेताहरूले संविधानसभाबाट संविधान र गणतन्त्रको लागि बलिदानी दिएको कुरा भुल्न मिल्दैन । पूँजीवादी जनवादी क्रान्ति सम्पन्न (२०६३) भएको मात्र होइन ।
आज समाज समाजवाद उन्मुख छ । समाजवादको युगीन यात्रामा संक्रमण हुन तयार देखिएको नेपाली समाजलाई परिवर्तनको मझधारमा ल्याइपुर्याउने पनि कम्युनिष्ट र कांग्रेसकै पुराना नेता हुन् । वैचारिक राजनीतिक शक्ति नै हुन् ।
बरु, यस अवस्थाको समाजलाई प्रगतिशील बन्नबाट रोक्ने प्रवृत्तिहरू देखापरेका छन् । ती प्रवृत्तिको समूल अन्त्य गर्ने अभिभारा नयाँ पुस्ताको हो । जुन अभिभाराप्रति नयाँ पुस्ता इमान्दार र जानकार छ जस्तो लाग्दैन ।
कम्युनिष्ट आचरण
कम्युनिष्टहरूको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हासिल गर्ने हो । समाजमा रहेका सबैखाले विभेद, अन्याय, अत्याचार, कुप्रथा, उत्पीडन, अन्धविश्वासको समूल अन्त्य गर्दै साम्यवादसम्म पुग्न सकिन्छ भन्ने कम्युनिष्टहरूको दृढविश्वास हो । मान्छेले मान्छेमाथि हुने गरेका शोषणहरूको अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्ने कम्युनिष्टहरूको महान् अभिभारा हो ।
त्यस्तै समाजमा रहेका सामन्तवादका अवशेषहरू, कुरीति, जातीय, भाषिक, लैङ्गिक भेदभाव र छुवाछूत, भौगोलिक, धार्मिक, अन्धविश्वास, अराजकता र रूढीवादी प्रथा–परम्पराको समूल अन्त्य गर्नका निम्ति राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अभियान सञ्चालन गर्नु कम्युनिष्टहरूका निम्ति आजको मुख्य कार्यभार हो ।
यति विशाल लक्ष्य र पवित्र उद्देश्यलाई शीरमा राखेर समावादको युगीन यात्रामा हिँडिरहेका नेपाली कम्युनिष्टहरूको असलियत भने बहुत दुःखद् छ । राज्यसत्तामा पुगेका कम्युनिष्ट नेता–नेतृत्वको नांगो नाच लुकाएर लुक्दैन । अपवादबाहेक आजका नेपाली कम्युनिष्टहरूलाई भौतिकवादी दृष्किोणबाट हेर्दा नेपाली समाज रूपान्तरणको प्रमुख बाधक तत्व नै उनीहरू हुन् र उनीहरूका दोक्ला आचरण हुन् भन्दा अन्यथा हुँदैन ।
नीतिगत भ्रष्टाचारका काण्डदेखि, सुन काण्डसम्म, नक्कली भुटानी शरणार्थी काण्डदेखि गिरिबन्धु टि–स्टेट जग्गा काण्डसम्मका घटनामा खासगरी कम्युनिष्ट नेता र उनीहरूका आफन्तहरूको नामक जोडिएको अवस्था छ । आखिर यो सब किन हुँदैछ ? माथि भनिएझैँ कम्युनिष्टहरूको विचार र व्यवहारबीचको तादात्म्यता नमिल्नु नै हो । कम्युनिष्टहरू भौतिकवादबारे स्पष्ट छैनन् । पूँजिवादबारे स्पष्ट छैनन् । त्यस्तै अन्धविश्वासका रूपमा रहेको धर्मिक परम्परा, सम्पत्ति प्रथा, दाईजोप्रथा, जातीय भेदभाव, लैङ्गिक विभेदबारे स्पष्ट भएनन् ।
अराजकतावाद
अराजकतावादले राज्यविहिनतालाई जोड दिन्छ । अराजक तत्वहरूले राज्य, वर्ग, विचार, सिद्धान्त यो वा त्यो केही भन्दैनन् र देख्दैन । उनीहरूले आफ्नो स्वार्थको लागि जे पनि बोल्ने र गर्ने गर्छन् । यस्तो प्रवृत्ति पछिल्लो समय नेपालमा वृद्धि भएको पाइन्छ ।
नेताहरू चोर भन्नु, सिंहदरबार जलाई दिन्छु भन्नु, दिन दाहाडै नेतामाथि खुकुरी हान्नु अराजतावादको पराकाष्टा हो । अराजकतावादले व्यक्तिको महत्वकांक्षा र राज्यविरोधि दृष्टिकोणलाई केन्द्रमा राखेको हुन्छ । आज नेपालमा जारी आक्रोशको समाजशास्त्र यहि हो । दोष राज्यलाई देखाउने आफू केही नगर्ने प्रवृत्ति छ ।
सयौं वर्षदेखि नियममा चलिरहेका देश, ति देशको विकास, शिक्षा, स्वास्थ्य, अधिकारसँग बन्दै गरेको देशको अवस्थालाई तुलना गरेर यो देशमा केही छैन, देश नेताले बिगारे भनेर सत्तो सराप गर्ने, सनियोजित निराशा बाड्ने काम भइरहेका छन् । असल नागरिकहरूको कर्तव्य आक्रोश पोख्ने, विरोध गर्ने, निराशा बाड्ने होइन । सत्य र तत्थ्यमा रहेर राज्यका अधिकार उपभोग गर्ने, राज्यलाई सजक गराउने काम इमान्दार नागरिकमा हुनुपर्छ ।
अन्त्यमा, समाज परिवर्तनका अनेक आयामहरू छन् । समाज परिवर्तनका आयामहरू समाशास्त्रका निम्ति महत्वपूर्ण विषय हुन् । ठिक आजको अवस्थालाई विश्लेषण गर्ने हो भने नेपाली समाज परिवर्तनको मझधारमा आइपुगेको छ । अबका दिनमा नेपाली समाज कता जान्छ ? त्यो हेर्न भने बाँकी छ । माथि उठाइएका सन्दर्भहरूलाई सच्याएर जसले रूपान्तरणकारी अभियान सुरू गर्छ, त्यहि शक्तिले नै समाजवादको यात्रामा आफूलाई क्रियाशील बनाउनेछ ।
गफ एउटा, काम अर्कै, विचार एउटा, व्यहार अर्कै गर्नेहरूको ओठे रूपान्तरणले समाजवादको युगिन यात्रा सम्भव छैन । आफ्नो शरिरमा आगो नझोसी, आफूलाई नचिमोठी, विगतको निर्मम समीक्षा नगरिकन सुरू गरिने रूपान्तरणका अभियानहरू नामकाजी मात्रै हुनेछन् ।