काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निकम्मापनले मन्त्रिपरिषद्बाट दुई वर्ष अगाडि बर्खास्त भएका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगममा लुट मच्चाइरहेका छन् ।
निगमसँग भएका जहाजलाई नियमित गन्तव्यमा उडाएर फाइदा कमाउनेभन्दा पनि जहाजको इन्जिन मर्मत गर्ने नाममा भाडाको इन्जिन ल्याएर करोडौं कमिशन कुम्ल्याउने काममा अध्यक्ष अधिकारी सक्रिय रहेका छन् । अध्यक्ष अधिकारीले दुई वर्षभित्र निगमलाई अर्बौंको क्षति पु¥याएका छन् । तर, भाडाको इन्जिनवापत कमिशनको रकम शक्ति केन्द्रमा बाँडेर आफ्नो पद सुरक्षित गरेका छन् ।
भ्रष्टाचारमा मुछिएका अध्यक्ष अधिकारीको यसरी हालीमुहाली चल्नुमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, ईश्वर खतिवडाको अन्तरिम आदेश मात्र होइन, अख्तियारलाई पनि उत्तिकै जिम्मेवार ठानिएको छ । सर्वोच्च अदालतले दुई वर्षसम्म अन्तिम सुनुवाइ गर्न ढिलाइ गरेकै कारण अध्यक्ष अधिकारीको कार्यकाल लम्बिएको छ भने अख्तियारले कारबाही नगर्दा उनी ‘असनको साढे’ बनेका छन् ।
समाचार स्रोतका अनुसार न्यारोबडी जहाज १८ महिनादेखि भाडाको इन्जिनबाट चलाएको छ । अर्को न्यारोबडी जहाजमा पनि भाडाकै इन्जिन लिन लागिएको छ । निगमले आफ्नो इन्जिन मर्मत नगर्दा करिब १ अर्ब रुपैयाँ आम्दानी गुमाएको छ । कमिशनका लागि भाडाको इन्जिन लिनकै लागि जहाज तीन महिनादेखि ग्राउण्डेड गरिएको छ । उक्त जहाज तीन महिना ग्राउण्डेड हुँदा निगमले करिब एक अर्ब रुपैयाँ आम्दानी गुमाएको छ ।
निगम स्रोतका अनुसार, नयाँ इन्जिन खरिद गर्न ६५ करोड रुपैयाँ लाग्छ भने ३७ करोड २ लाख रुपैयाँ तिर्ने गरी इन्जिन लिजमा लिएको छ ।
स्रोतका अनुसार, २० महिनामा दुईवटा न्यारोबडी एयरबस–३२० जहाज दुई सय २० दिन ग्राउन्डेड भएका छन् । यसबाट निगमलाई तीन अर्ब ८३ करोड रुपैयाँ नोक्सानी भएको छ ।
न्यारोबडी ९एन–एकेडब्लू ‘सगरमाथा’ले कतारको दोहा विमानस्थलमा ग्राउन्डेड हुँदा ७५ दिन र फेरि काठमाडौंमा ग्राउन्डेड हुँदा ६२ दिन व्यावसायिक उडान गर्न पाएन । अर्को न्यारोबडी ९एन–एकेएक्स ‘लुम्बिनी’ पनि गत ३१ असार (१६ जुलाई)देखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड छ । इन्जिनमा समस्या आएर थन्किएको ६१ दिन बित्दासमेत जहाज मर्मत हुन सकेको छैन । कार्यकारी अध्यक्ष अधिकारीको यो भन्दा निकम्मापन अरु के हुन सक्छ ?
निगम स्रोतका अनुसार, १३ पुस ०७८ मा कतारको दोहामा अवतरणपछि पार्किङतर्फ लैजाँदा न्यारोबडी ९ एन–एकेडब्लूमा समस्या आएपछि बायाँ इन्जिन बिग्रियो । जहाज ग्राउन्डेड भएको डेढ महिनापछि सम्म दोहामै ग्राउण्डेड भयो । ३ मार्च २०२२ मा इजरायली कम्पनी एमटियूसँग ९० दिनका लागि प्रतिदिन दुई हजार डलर, प्रतिसाइकल २३९ डलर र प्रतिघन्टा २७६ डलर भाडा तिरेर इन्जिन लिइयो । जसबाट अध्यक्ष अधिकारीले मासिक २ करोड कमिशन खाएको निगमका कर्मचारी बताउँछन् ।