काठमाडौं । अर्थतन्त्र डामाडोल भएको अवस्थामा अर्थ मन्त्रालयमा व्यापारीका विचौलिया भनेर चिनिएका र निजामती कर्मचारी प्रशासनमा सबैभन्दा बढी आकर्षक स्थानमा बसेर सरकारी खर्चको दोहन गर्ने कृष्णहरि पुस्कर अर्थसचिव भएका छन् ।
गठबन्धन सरकार नै धराप पर्ने अवस्था आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई अर्थमा सरुवा गर्न बाध्य भएका हुन् । अर्थ मन्त्रालयमा सरुवाका लागि देउवा निवास धाउन थालेका उनलाई यसैसाता बसेको मन्त्रिपरिषद बैठकले सरुवा गरेको हो । सरकारले बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाएपछि उनलाई प्रधानमन्त्री कार्यालयमा ल्याएको थियो ।
खासगरी सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग कुरा नमिलेपछि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका उनी कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु देउवासँग नजिक भएकाले अर्थमन्त्रालयमा पुगेका हुन् । यसअघि सचिव बढुवा हुनासाथ राजश्व हुँदै अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए । त्यसपछि अर्थबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पुगेका थिए ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुतिको अघिल्लो मध्यराती नायब सुब्बा रघुनाथ घिमिरेलाई अर्थमन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको विषयमा विवाद उत्पन्न भएपछि मधु मरासिनीका स्थानमा उनलाई लगेका थिए । त्यतिबेला पनि आरजु राणाकै फेर समातेर उनी अर्थमा पुगेको स्रोतको दावी छ ।
सामान्य प्रशासनमा रहँदा कर्मचारी सरुवामा तत्कालिन मन्त्री मोदीसँग उनको बोलचाल नै थिएन । कर्मचारी सरुवामा निकै बद्नामी कमाएका थिए । मोदी मन्त्री हुँदै त्यहाँबाट सरुवा खोजेका उनको अनिता देवी सामान्य प्रशासन मन्त्रीको रुपमा आएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालका अर्थसचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गराएका हुन् ।
यसअघि अर्थसचिव भइसकेका पुष्करलाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिएपछि विचौलिया व्यापारीबीच खुशीयाली छाएको छ । सम्पत्ति शुद्धिकरण विभाग प्रमुख हुँदा अकुत कमाएका बदनाम कर्मचारी पुस्करलाई लोकमानकै पालामा अख्तियारको आडमा कलकत्ताको महाबाणिज्यदूत नियुक्ति हुने अवसर समेत पाएका थिए ।
विगतमा अर्थसचिव हुँदा गत वर्ष भन्सार, आन्तरिक राजस्व कार्यालयका प्रमुखको सरुवामा दररेट तोकेर आकर्षकबाट आकर्षकमा सरुवा गरेको आरोप लागेपछि विष्णु पौडेलले उनलाई हटाइदिएका थिए ।
उनले आन्तरिक राजस्व कार्यालय पुतलीसडकको प्रमुखमा सरुवा गर्दा ४० लाख रुपैयाँसम्म घुसको कारोबार भएको अर्थमन्त्रालय स्रोत बताउँछ । गत वर्षका सरुवा हेर्ने हो भने निजामती सेवा ऐन नियम बिपरीत गरेको अभिलेख पाउन सकिन्छ ।
गत वर्ष सचिव पुस्करले आर्थिक लाभका आधारमा गरेका सरुवामा ललितपुर आन्तरिक राजस्व कार्यालयको प्रमुखबाट निरन भट्टराईलाई चितवन, ठूला करदाता कार्यालयका निर्देशक धुव्र पोखरेललाई बुटवल आन्तरिक राजस्व, शान्तिराम निरौला आराका इटहरीबाट भैरहवा छन् ।
निरौला इटहरीभन्दा अघि नेपालगंज आन्तरिक राजस्व कार्यालयको प्रमुख थिए । लगातार ३ वटा आकर्षक कार्यालय प्रमुख हुनेमा निरौला पर्दछन् । सुदीश अर्याल मध्यमस्तरीय करदाता कार्यालयबाट नेपालगंज कार्यालय प्रमुखमा लगिएका थिए । गजेन्द्र यादव जनकपुरबाट पुतलीसडकको प्रमुखमा सरुवा भएका थिए । सुनिल यादव वीरगंज आन्तरिक राजस्व कार्यालयको प्रमुखबाट ठूला कदाता कार्यालयमा सरुवा भएका थिए । अहिले सरुवाकै मुखमा उनी अर्थमन्त्रालय पुगेका छन् ।