काठमाडौं । आर्थिक मितव्ययीको कुरा उठिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १५ दिन देशबाहिर रहने भएका छन् । उनी अमेरिकी र चीन भ्रमणमा लागि देशबाहिर रहने भएका हुन् । प्रधानमन्त्री अमेरिका पुगेपछि सभामुख देवराज घिमिरे पनि केही दिनका लागि मुलकबाहिर पुगेका छन् ।
तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे आइतबार बेलुकी आयरल्यान्डको भ्रमणमा गएका हुन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख घिमिरे असोज ५ गतेसम्म आयरल्यान्डमा रहनेछन् । भ्रमण टोलीमा सभामुख घिमिरे, प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई छन् ।
सभामुख नेतृत्वको प्रतिनिधिमण्डलमा आयरल्याण्डका लागि नेपालका गैरआवासीय राजदूतावास, लण्डनका द्वतीय सचिव रामबाबु नेपाल पनि सहभागी हुनेछन । सभामुख घिमिरे आयरल्याण्डको तल्लो सदनका सभामुखको निमन्त्रणामा औपचारिक भ्रमणमा गएका हुन् ।
अमेरिका उडेको भोलिपल्टै तीन जना सांसद पनि उत्तैतिर लागेका छन् । जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम र कांग्रेस सांसद रुपा विश्वकर्मा अमेरिका पुगेका हुन् । राउत दुई सातापछि फर्किने गरि अमेरिका गएका हुन् ।
आगामी सातातिर फेरि संसदको कृषि समितिका सभापति डा. आरजु राणा देउवा नेतृत्वको टोली बंगलादेश जाने कार्यक्रम छ । यस्तै, बाबुराम भट्टराई पनि भारत पुगेका छन् । छोरी मानुषी यमी भट्टराईलाई साथमा लिएर उनी भारत भ्रमणमा पुगेका हुन् । उनी भारतस्थित नेपालीहरु मनाउने तीजको कार्यक्रममा सहभागी भएका तस्वीर भिडियोहरु सार्वजनिक भएका छन् ।