Logo
Logo

पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर


1.2k
Shares

काठमाडौं । पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । मुद्दा दायर भएको डेढ वर्षपछि सोमबार विशेष अदालतले उनलाई झन्डै एक करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै कैद तथा जरिवाना सजाय सुनाएको हो ।

श्रेष्ठलाई ६ महिना कैद, ९८ लाख २९ हजार ५ सय ३७ रुपैयाँ जरिवाना र त्यति नै बराबरको बिगो भराउने अदालतले फैसला सुनाएको विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीले बताए ।

श्रेष्ठले अदालतमा ९८ लाख २९ हजार पाँच सय ३७ रुपैयाँबराबरको सम्पत्ति तथा व्ययको स्रोत खुलाउन सकेका थिएनन् । जसपछि उक्त रकमलाई आधार मान्दै अदालतले सजाय तोकेको हो । ०२६ चैतमा शिक्षकका रूपमा सरकारी सेवा सुरु गरेका श्रेष्ठ ०३६ कात्तिकदेखि शाखा अधिकृत हुँदै सचिवसम्म बनेका थिए ।

०६४ माघमा सचिव पदबाट अनिवार्य अवकाश पाएका उनी ०६९ मा खिलराज रेग्मी नेतृत्वको अन्तरिम सरकारमा मन्त्री नियुक्त भएका थिए । ६ चैत ०६९ देखि २९ माघ ०७० सम्म उनले संस्कृति, पर्यटन तथा नागरिक, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हालेका थिए ।

सरकारी सेवामा रहँदा र मन्त्री भएपछि उनले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको तथा उक्त आयले उच्च र अस्वाभाविक जीवनस्तरयापन गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्