Logo
Logo

एमाले कर्णाली अधिवेशन : सहमतिका लागि दिनभरकाे प्रयास असफल


4.7k
Shares

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन बन्द सत्र झण्डै ९ घण्टापछि सुरु भएको छ । बिहीबार बिहान ८ बजे सुरु हुने भनिएको बन्द अहिले साँझ साढे ५ बजेतिर मात्र सुरु भएको हो ।

नेतृत्व चयनका लागि सहमतिको प्रयास गर्दा बन्दसत्र सुरु गर्न ढिलाइ भएको एमाले प्रदेश कर्णालीले जनाएको छ । केही नेताहरुले भने आन्तरिक तयारी नपुगेका कारण बन्दसत्र ढिला भएको बताएका छन् ।

महासचिव शंकर पोखरेलको उपस्थितिमा सहमतिका लागि नेताहरुले दिनभर छलफल गरेका थिए । तर, सहमतिको प्रयास असफल भएपछि महासचिव पोखरेल दिउँसै काठमाडौँ फर्किइसकेका छन् । काठमाडौं फर्किनुअघि नेता पोखरेलले सहमतिमै नेतृत्व चुन्न निर्देशन दिएका थिए ।

बुधबार अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले पनि सहमतिमै प्रदेश कमिटीको नेतृत्व चयन गर्न सुझाएर काठमाडौं फर्किएका थिए । यद्यपि, सहमतिअनुसार अध्यक्ष चुनिने सम्भावना कम रहेको नेताहरुले बताएका छन् ।

प्रदेश अध्यक्षका लागि स्थायी कमिटी सदस्य यमलाल कँडेलको समूहबाट गुलाबजंग शाह अध्यक्षका आकांक्षी छन् भने अर्का स्थायी कमिटी सदस्य गोरख बोगटी समूहबाट मीनबहादुर शाहीको नाम चर्चामा छ ।

कर्णाली प्रदेशसभाका पूर्वसभामुखसमेत रहेका राजबहादुर शाही समेत अध्यक्षका दाबेदार हुन् । तर, अहिलेसम्म कुनै नेताले उम्मेदवारी घोषणा गरेका छैनन् । अध्यक्षका आकांक्षी तीन जनाभन्दा बढी देखिएकाले सहमति जुट्ने सम्भावना कम रहेको एक नेताले बताए ।

उनले भने, ‘आज दिनभर पनि सहमतिका लागि प्रयास नभएको होइन, तर सहमति जुट्ने सम्भावना नदेखिएपछि आजलाई सहमतिबारे छफफल रोकिएको छ ।’ उनले सकेसम्म नेतृत्वको चाहनाअनुसार सहमतिको प्रयास हुने र नभए मतदान हुने बताए ।

प्रतिक्रिया दिनुहोस्