Logo
Logo
इतिहास

योद्धा जाति हुन् मगरहरू


15.4k
Shares

यतिखेर नेपालको शासनसत्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा छ । उनी तेस्रोपटक प्रधानमन्त्रीका रूपमा शासनसत्तामा पुगेका हुन् । उनी यो शक्तिशाली पदमा पुग्नुमा मगरहरूको ठूलो योगदान रहेको छ । मगरहरूको बाहुल्य रहेको रोल्पा र रूकुमबाट तत्कालीन माओवादीले उनकै नेतृत्त्वमा सशस्त्र विद्रोह सुरू गरेको थियो । २०५२ साल फागुन १ गतेदेखि सुरू भएको सशस्त्र विद्रोहको सैन्य लस्करमा मगरहरूको सानो सहभागिता थिएन । माओवादी सशस्त्र विद्रोहलाई मगरहरूबाट ठूलो भरथेग भएको इतिहास घामजस्तै छर्लङ्ग छ ।

नेपालमा आफ्ना मावलीखलक भीमसेन थापा तथा माथवरसिंह थापाहरूबाट राजनीति र षड्यन्त्रको सिको गर्दै वि.सं. १९०३ असोज ३ गते आफैले रचना गरेको कोतपर्वमा आफ्ना शत्रुहरूलाई सखाप बनाएर शक्तिमा आएका जङ्गबहादुर राणाले जहानिया राणा शासन सुरूआत गरे । त्यतिखेर उनको शासनसत्ताविरूद्ध सशस्त्र विद्रोहको नेतृत्त्व गर्ने साहसी पनि मगर नै थिए । यो विद्रोहमा संलग्न हुँदा लखन थापा मगर र उनका सहयोगीले मृत्यूदण्ड पाए । उनी रूचाल थरका थापा मगर हुन् । उनले गोरखाको बुङ्कोटमा सैन्य शिविर खडा गरेर जङ्गबहादुरको सर्वनास गर्ने प्रतिज्ञा गरेका थिए । उनलाई वि.सं. १९३३ पुस महिनामा मृत्यूदण्ड दिइयो । नेपाल सरकारले २०७२ असोज ३ गते उनलाई नेपालको प्रथम शहीद घोषणा गरेको हो ।

उनको विद्रोह दमनका लागि जङ्गबहादुरद्वारा खटाइएका मेजर कप्तान शमशेरजङ्ग थापा क्षेत्री, सुब्बा वीरमानजङ्ग थापा क्षेत्री र सुबेदार बदलसिंह बस्न्यातले पत्ता लगाएर वि.सं. १९३२ चैत सुदी १ मा सरकारलाई उनको बारेमा जाहेर गरेर एक अर्जी पठाए । अर्जीअनुसार लखन थापा जुन घरमा बस्छन्, त्यो घरलाई व्यवस्थित रूपमा सुरक्षा पर्खालले पनि घेरिएको थियो । त्यो एक प्रकारले किल्लाजस्तै थियो । सरकारी सैन्य अधिकारीहरूले लखन थापाको विद्रोह दमनका क्रममा वि.सं. १९३२ चैत सुदि १ मा गरेको बयानमा लखन थापा बस्ने एउटा किल्लाजस्तो घरलाई आठ क्यूविक चौडाई र १६ क्यूविक उचाईको पर्खालले घेरिएको थियो (महेश सी. रेग्मी (सम्पा), ‘रेग्मी रिसर्च सेरिज’ वर्ष १२ अङ्क ५–डिसेम्बर १९८०ः.७२–७५) ।

जङ्गबहादुरका छोरा पद्मजङ्गको बयानअनुसार लखन छोटै समयमा १५ सय सङ्ख्यामा सेना जम्मा गर्न सफल भएका थिए । पछि उनीसहित १५ सय जना नै उनका कट्टर समर्थकहरूलाई पक्राउ गरी सिक्रीले बाँधेर राजधानी ल्याइएको थियो । लखन र उनका ६ जना कट्टर समर्थकलाई मृत्यूदण्ड दिइएको थियो भने बाँकीलाई क्षमादान दिएर आआफ्नो घर फर्कने अनुमति दिइएको थियो (पद्मजङ्ग राणा, ‘जङ्गबहादुरको जीवनयात्रा’–२०७४ः२८३–८४) ।

माथि उल्लेख गरिएका दुई ऐतिहासिक घटना हेर्दा मगरहरू निक्कै ठूलो साहस र सौर्य भएका जाति हो भन्ने स्पष्ट देखिन्छ । उनीहरूले नेपालका ठूला ठूला युद्धहरूमा भाग लिएर आफ्नो साहस र पराक्रम देखाएका त छन् नै, पहिलो र दोस्रो विश्वयुद्ध लडेर गोरखालीहरू वीर हुन् भन्ने धारणालाई विश्वव्यापी बनाउन पनि मगरहरूको ठूलो योगदान गरेको छ ।

मगरको थर निर्धारण
इतिहास शिरोमणि बाबुराम आचार्यको भनाईमा मगरहरू विशिष्ट किसिमका सैनिक जातिका रूपमा प्रसिद्ध छन् । मगरहरूमा ‘थापा’ र ‘राना’ थर रहेको छ । खस वर्गका क्षेत्रीयहरूमा पनि थापा थर रहेको छ । तीन पुस्तासम्म लगातार लडाइँका मैदानहरूमा विजयी भएमा यस्ता मगर तथा यिनका छोरा नातीहरू ‘राना’ बन्न सक्ने मान्यता थियो । शुद्धताका हिसावले ‘आले’ थर भएका मगरहरू चोखा मानिदै आएका छन् ।

इसाको अठारौं शताब्दिको उत्तराद्र्धमा गोरखाली सैनिकहरूको सङ्गठन हुँदा खश, मगर र गुरूङ गरी तीन थरि जातका नागरिकलाई मिलाएर एउटा विशिष्ट किसिमको सैनिक संस्कृतिको विकासको क्रम सुरू गरिएको थियो । यहीँ संस्कृतिको आधारमा पृथ्वीनारायण शाहले आफ्नो अभियान सुरू गरेका थिए (बाबुराम आचार्य, ‘प्राचीनकालको नेपाल’–२०६०ः३०–३१) ।

मगरहरूमा खासगरी ‘बाह्रमगरात’मा राना र आले बाहेक थापा र खड्का थरका मगरहरू पनि प्रशस्त पाइन्छन् । थापा र खड्का कुनै समयमा पद थियो, पछि यो थरमा परिणत हुन पुग्यो ।

कतिपय थर व्यक्तिले प्राप्त गरेको दर्जा (पद)बाट पनि उत्पत्ति भएको पाइन्छ । थापाहरू कोही क्षेत्री छन्, कोही मगर पनि छन् । खस साम्राज्यको इतिहासमा थापा भन्नाले सैनिक पद बुझाउँथ्यो । उनीहरूलाई जागिरका रूपमा दिइएको भूमीलाई ‘थपालो’ भनिन्थ्यो । थापा सैनिक पद हुँदा त्यहीँ पद व्यक्तिको नाम पछाडी जोडिदै जाँदा थर बन्न पुग्यो । यस्तै तरबारधारी सैनिकलाई ‘खड्का’ पद दिइन्थ्यो । गाउँको रक्षकको काम गर्नेलाई ‘रोकाया’ पद दिइन्थ्यो । ती पदहरूमा मगरले काम गर्दा मगरका र खस क्षेत्रीले काम गर्दा खस क्षेत्रीमा थरहरू बन्न पुगे (डा. विनोद थापा, ‘राष्ट्रिय विभूति अमरसिंह थापा’–२०७०ः१, ४ र ५) ।

मगरको राना, थापा र आले मगरमा पनि विभिन्न उपथरहरू रहेका छन् । लेखक जनकलाल शर्माले ‘हाम्रो समाज एक अध्ययन’ (२०७५ः३०७–१२)मा राना मगरको १३४, थापा मगरको १२१ र आले मगरको ११६ उपथर प्रस्तुत गरेका छन् ।

यसैगरी खड्का थरका नाम कमाएका मगरमा राजा रणबहादुर शाहका समयमा कपर्दार कालीदाश खड्का मगरलाई सामरी भञ्याङ र भादगाउँमा तथा राघवसिंह खड्का मगर र रविसिंह खड्का मगरलाई चित्लाङमा जग्गा विर्ता दिइएको तीन वटा लालमोहर योगी नरहरिनाथले ‘इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह’ भाग–१ (२०५५ः६८–६९)मा प्रकाशित गरेका छन् ।

मगर राजाहरू
नेपालका पश्चिम सीमा महाकाली नदीभन्दा पश्चिम र भारतको पश्चिम उत्तरबाट बग्दै आएको चन्द्रभंग नदीको उत्तरपूर्व भाग अथवा महाकाली नदी र चन्द्रभंग नदीको बीचको उपत्यकालाई ‘महर उपत्यका’ भनिन्छ । भूमध्य सागरबाट दक्षिण पूर्व हुँदै आएका मगरहरूको एउटा शाखा नेपाल प्रवेश गर्नुभन्दा अघि त्यही उपत्यकामा बसोबास गरेको थियो । त्यस उपत्यकाबाट आएका मगरहरूले आफूलाई ‘महर’ भन्थे । कालान्तरमा महर शब्दबाट ‘मगर’ भएको भन्ने तर्क पाइन्छ ।

यस्तै गण्डकी प्रदेशलाई पनि ‘महरलोक’ भनिन्थ्यो । पछि महरबाट अप्रभंश भई मगर भएको हुनसक्छ (केशरजङ्ग बराल मगर ‘पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरूको संस्कृति’–२०६८ः२२) ।

लेखक श्रीराम घिमिरेले कुनै समय सेनहरूले शासन गरेको तनहुँमा उनीहरूको राज्य सुरू हुनुभन्दाअघि मगरहरूले त्यहाँ शासन गरेका थिए भन्ने उल्लेख गरेका छन् । ‘प्राचीन नेपाल’ सङ्ख्या ११३ (भदौ असोज २०४६ः२२)मा प्रकाशित ‘तनहुँको राजनीतिक इतिहास’ शीर्षकको आफ्नो लेखमा उनले उल्लेख गरेअनुसार पहिले गण्डकी प्रदेशअन्तरगत चौविसे राज्यमा तनहुँ पथ्र्यो । प्राचीनकालमा लिच्छवि, त्यसपछि नुवाकोटे ठकुरी अनि खस मल्लहरूको अधिनमा तनहुँ रहेको थियो । उनीहरू कमजोर भएपछि त्यहाँ मगरहरूले ससाना राज्य स्थापना गरे । त्यसपछि तनहुँ पाल्पाका शक्तिशाली राजा मुकुन्द सेन (प्रथम)को अधिनमा परेको थियो ।

बाह्रौँ शताव्दीमा काश्मिरका कल्हणले लेखेको ‘राजतरंगिनी’मा त्यहाँका राजा जयापीड (संवत् ८३५–८६९) ले नेपालका राजा अरमुडीको भूभागमा प्रवेश गरेर आक्रमण गरेको र अरमुडीले तत्काल प्रत्याक्रमण नगरी पछि हट्दै कालीगण्डकीपूर्वसम्म बढेपछि काश्मिरी सेनाले उक्त नदी तर्दा नदीको बाँध खोलिदिएकोले उनीहरू बगाइएका र राजा जयापीडलाई पक्राउ गरेर गिरीदुर्गमा बन्दी बनाइएको उल्लेख गर्दै मीन श्रीसले उक्त घटनाक्रम र घटना परिवेशलाई निफननाफन गरेर आफ्नो पुस्तक ‘मगरजातिको चिनारी’ (२०६७ः१०) मा अरमुडी हालको पर्वत जिल्लाको कुश्मा क्षेत्रका शक्तिशाली मगर राजा भएको अनुमान गरेका छन् ।

तिहारमा देउसी भैलो खेल्दा लिइने एक राजाको नाम हो, बलिहाङ । यी राजा पाल्पाका मगर राजा हुन् भन्ने धारणा फ्रासिस ह्यामिल्टनले राखेका छन् । उनको पुस्तक ‘एक एकाउन्ट अफ् कीङ्डम अफ् नेपाल’ (सन् १८१९ः१७१) अनुसार तत्कालीन पाल्पाली सेनवंशी राजा गन्धर्व सेनले गुल्मी र खाँचीका राजाको सहयोगमा राज्य विस्तार गर्दै जाँदा मगर राजा बलिहाङको राज्य पनि कब्जा गर्न पुगे । उनले बलिहाङका शाखा सन्तानसमेत मासिदिए ।

मगरातमा अरमुडीपछि बलिहाङ शक्तिशाली र लोकप्रिय राजा थिए । उनी राना थरका मगर थिए । बलिहाङको राज्य पाल्पाको साविकको बल्ढेङगढी गाविसको वडा नंं. ५ मा थियो (श्रीस, २०६७ः१०–११) ।

गोरखामा जुन ठाउँबाट शाहवंशले राज्यको जग बसाए, त्यहाँ पहिले खड्का थरका मगरको शासन थियो । अहिले जहाँ गोरखा दरबार छ, कुनै समय त्यहीँ ठाउँमा बसेर मगर राजाले शासन चलाउँथे । यहाँ बसेर शासन चलाउने शासक खड्का मगरभित्र पनि सामरी थरका मगर थिए (योगी नरहरिनाथ ‘श्रीमगर गुरूङ वंशावली’–२०७८ः९) ।

लमजुङबाट अर्को राज्य निर्माण गरी राजा बन्न अगाडि बढेका द्रब्य शाहले लिगलिग कोेटको दौड प्रतियोगितामा भाग लिने बहाना बनाएर क्षेत्रीय कुलका गणेश पाँडेको सहयोगमा लिगलिगको तल्लोकोटमा आफ्नो अधिकार स्थापित गराए । यसको केही समयपछि रागिनास–कोट उनको अधिकारमा आयो । त्यसपछि उनको आँखा गोरखा–कोटतिर पर्याे । उनले गोरखा–कोटमाथि आक्रमण गरे । १५ दिनसम्म गोरखाका राजा खड्का मगरसँग घमासान युद्ध भयो । उनले खड्का राजालाई आत्मसमर्पण गराउने हरसम्भव कोशिश गरे, तर खड्का राजा गलेनन् । अन्ततः खड्का राजामाथि स्वयम् द्रब्य शाहले तरबार प्रहार गरी त्यहाँ खड्का मगरहरूको शासनको अन्त्य गराए (बाबुराम आचार्य, ‘नेपालको संक्षिप्त वृत्तान्त’–२०६३ः९१–९२) ।

खड्का मगर राजालाई तरबार प्रहार गरी उनको शासन सत्ता समाप्त गरेर द्रब्य शाह वि.सं. १६१६ भदौ २५ गते गोरखाको राजगद्दिमा बसे (दिनेशराज पन्त, ‘गोरखाको इतिहास’ पहिलो भाग–२०४१ः५३) ।

पृथ्वीनारायण शाहले आफू ‘मगरातको राजा हुँ’ भनेका छन् । पहिले आफ्ना पुर्खाले मगरहरूको शासन गरेको ठाउँबाट उनीहरूलाई विस्थापित गरेर पृथ्वीनारायण शाहले पनि आफूलाई ‘मगरातको राजा हुँ’ भनेका हुन् भन्ने स्पष्ट छ । उनले आफ्नो उपदेशमा ‘नेपालको किताप हेर्दा तुर्काना मंग्रात मुग्लाना हुन्या रहेछ र तुरकाना अघि भैगयेछ. मगरात्को राजा मै हुं’ भनेका छन् (बाबुराम आचार्य, योगी नरहरिनाथ, ‘वडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश’–२०६१ः५९) ।

मगरहरूको सम्बन्धमा अध्ययन गर्दा पृथ्वीनारायण शाहले यो कुरा त्यतिकै बोलेका होइनन् भन्ने बुझ्नुपर्छ ।

गोरखा राज्यमा मगर काजीहरू
गोरखामा शाह राजवंशको जग बसाउने राजा द्रब्य शाहले वि.सं. १६१६ मा भारदारहरूको सङ्गठन बनाएर आफ्नो अभिषेक गराएका थिए । उनले भारदारीमा नारायणदाश अज्र्याललाई राजगुरू, सर्वेश्वर खनाललाई राजपुरोहित, गणेश पाँडेलाई मन्त्री वा काजी, भगिरथ पन्थलाई सेनापति वा सरदार, केशव बोहरालाई भूमि विभागका र गङ्गाराम राना मगरलाई न्याय विभागको अधिकारी बनाएका थिए ।

सुरूआतमा उनले आफ्नो व्यवस्था वंशपरम्परामा चलाउने विचार गरेका थिए, तर यसले निर्वाह हुन नसक्ने भएपछि अरू थरका ब्राह्मण, क्षत्री र मगरलाई पनि भारदारीमा सम्मिलित गराएका थिए । गोरखाली परम्पराअनुसार ६ थरघरमा पर्नेहरू अज्र्याल, खनाल, पाँडे, पन्थ, बोहरा र मगरहरूलाई भारदारीमा राख्ने परम्परा रणबहादुर शाहको पालासम्म कायम थियो (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’–२०६१ः७) ।

गोरखाको ६ थरघर अन्तरगत मगरमध्ये राना र थापा मगरले पालैपालो काजी चलाएको पाइन्छ । विराज थापा मगर त नरभूपाल शाहको समयमा मुख्य काजी नै थिए ।

गोरखामा दुई वटै काजी पद मगर (थापा मगर र राना मगर)ले पाइरहेका बेला महेश्वर पन्त र भानु अज्र्यालले ‘यी मगरहरूले राज्य थामेर मात्र खान सक्छन् बढाउने काम गर्न सक्दैनन् । यसकारण मगरको भर परेर मात्र हजुरको राज्य बढ्न सक्दैन’ भन्ने भाव राजा नरभूपाल शाहको मनमा पारिदिए । यस्तो कुरा राजाको मनमा पारिएपछि नरभूपाल शाहले विराज थापा मगरका छोरा रामकृष्ण थापालाई काजी पदबाट हटाई उनको ठाउँमा महेश्वर पन्तलाई काजी बनाए । जयन्त राना भने काजीमा बहाल रहे (पन्त, २०४१ः२५९) ।

पछि महेश्वर पन्तकै षड्यन्त्रमा काजी जयन्त राना पनि गोरखाबाट पलायन हुन बाध्य हुनु पर्याे ।

एक पटक राजा नरभूपाल शाहको समयमा गोरखाले नुवाकोटमा आक्रमण गरेको थियो । वि.सं. १७९२ मा गरिएको यो आक्रमणमा विनाउपलब्धी गोरखाली सेना नुवाकोटबाट गोरखा फर्के । यो युद्धमा काजी महेश्वर पन्त र काजी जयन्त रानाले नेतृत्त्व गरेका थिए । तर हारको कारण मगरहरूको असहयोग भएको भन्ने आरोप महेश्वर पन्तले लगाए ।

उनले ‘यी मगरहरूको ठाउँमा आफू काजी हुन आएकोले यिनीहरू मेरो रिस गर्छन्, यसैले मैले हजुरको काम सपार्न सकिनँ’ भनी राजाको कान भरिदिए । त्यसपछि मगरहरूले चित्त दुखाए । यो कुरा सुनिसकेपछि मगरहरू ‘हामी बढ्ता भएछौँ’ भन्दै कोही मल्ल राज्यतिर गए, कोही अन्यत्र गए । नरभूपाल शाहको समयमा गोरखा छाडेर गएका मगरमध्ये काजी जयन्त राना पनि एक थिए । यिनी गोरखा छाडेर काठमाडौंको राजाको आश्रयमा गई नुवाकोट रक्षाको भार लिएर बसेका थिए (पन्त, २०४१ः२६२–६३) ।

पृथ्वीनारायण शाहले नुवाकोट जितेर पछि बेलकोट आक्रमण गर्दा त्यहाँ पक्राउ परेका जयन्त रानालाई जिउँदै छाला काढेर निर्दयतापूर्वक मारिदिएका थिए ।

जसरी नरभूपाल शाहको समयमा जयन्त राना दरबारमा काजी थिए, यसैगरी राजेन्द्रलक्ष्मीले राजमाताको हैसियतले नायवी लिएको बेला सर्वजीत रानाले काजी हुने अवसर पाएका थिए । राजेन्द्रलक्ष्मीले आफ्ना पतिकै पालादेखि मन परेका भारदार भएकोले सर्वजीत रानालाई मूलकाजी बनाएर राजदरबारमा राखिन् (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’ –२०५२ः१९) ।

त्यसबेलाको मूलकाजी भनेको हालको प्रधानमन्त्रीसरह हो । तर सर्वजीत रानालाई मूलकाजीको रूपमा लामो समय टिकिखान दिइएन ।

राजमाता महारानी राजेन्द्रलक्ष्मी र मूलकाजी सर्वजीत रानाबीच करणी बिराएको हल्ला चल्यो । त्यसपछि बहादुर शाह आफै अघि सरेर वि.सं. १८३४ भदौ महिनामा दलजीत शाह र श्रीहर्ष पन्थहरूको सहयोग लिई आठपहरियाहरूद्वारा दरबार घेरेर रातको समय राजेन्द्रलक्ष्मीलाई समाई चाँदीको नेल ठोकी दरबारभित्रै थुनेर राखे, काजी सर्वजीत राना र उनका अनुयायीहरूसमेतलाई पक्रेर कुमारीघरको छिँडी कोठामा लगेर राति काटिदिए । त्यसपछि वि.सं. १८३५ भदौ सुदि ११ मा बहादुर शाह शासनमा सर्वेसर्वा घोषित भए (नेपाल, २०५२ः१९–२०) ।

यस घटनाको १० महिनापछि राजेन्द्रलक्ष्मीले काशीमा बसेका जेठा चौतरिया बलभद्र शाहलाई झिकाउन सुटुक्क आफ्नो मान्छे पठाइन् । उनी काठमाडौं आएर वि.सं. १८३६ को असारमा राजेन्द्रलक्ष्मीलाई जितापत्र दिलाए । आफू सर्वेसर्वा भएपछि उनले सर्वजीतका भाइ वन्धु राना र देवदत्त थापा मगरलाई काजी बनाइन् (नेपाल, २०५२ः२०) ।

देवदत्त थापा नेपालको तिब्बतसँग युद्ध हुँदा ठूलो पराक्रमका साथ युद्धमा सहभागी भएका थिए । यस्तै गोरखाली राज्यविस्तार अभियानमा कास्की लगायत विभिन्न राज्य कब्जा गर्ने अभियानका पनि उनी एक महत्त्वपूर्ण सेनापतिका रूपमा युद्ध लडेका थिए ।

वि.सं. १८४८ मा लिम्बूहरूले लेप्चा र सिक्किमसँग मिलेर चैनपुरमा विद्रोह गर्दा विद्रोह दवाउन बहादुर शाहले उनकै नेतृत्त्वमा एक हजार सेना चैनपुर पुगेको थियो । त्यहीँ क्रममा उनी पूर्वतिर बढ्दै जाँदा टिस्टा नदी तरेर दार्जिलिङसमेत दखल गरेका थिए (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क ६३–चैत २०४१ः१३) ।

पछि देवदत्त थापाका छोरा जसपाउ थापा मगर काजी दर्जामा पुगेका थिए । उनी आफ्नो समयमा नाम चलेका योद्धा थिए । वि.सं. १८७१–७२ मा भएको अंग्रेजविरूद्धको युद्धमा उनी काँगडाको मोर्चामा वीरतापूर्वक लडेका थिए ।

पहिले संसार चन्दको काँगडा किल्ला कब्जा गर्ने युद्धमा नयनसिंह थापालाई शत्रुपक्षले हानेको गोली लाग्यो । त्यस युद्धमा चार सय नेपाली फौज हताहत भए । गोली लागेको केही दिनपछि नयनसिंह थापाको मृत्यु हुन पुग्यो । तर नेपाली फौजले काँगडा किल्ला घेर्न भने छाडेन । पाँच हजार फौजका साथ बडाकाजी अमरसिंह थापा र सरदार रणजीत कुँवरको साथमा रहेर काँगडा किल्ला घेर्नेमध्येका एक सैन्यनायक थिए, जसपाउ थापा । त्यहाँको युद्धमा उनको नेतृङ्खवमा पाँच सय शत्रु सेनाको संहार भएको थियो (नेपाल देशको इतिहास ‘प्राचीन नेपाल’ सङ्ख्या २४–साउन २०३०ः१२–१४) ।

पछि जसपाउ धनकुटाको हाकिम भएर रहेको देखिन्छ । धनकुटा निशान भगवती मन्दिर परिसरमा रहेको वि.सं. १८७९ असार सुदी ७ शुक्रबारको शिलालेखमा काजी जसपाउ थापाले यहाँ कोतशाला स्थापना गरेको लेखिएको छ । अर्को वि.सं. १८८० असार वदी १२ शनिबार राखिएको शिलालेखमा उनले धर्मशाला बनाएको उल्लेख छ ।

धनकुटाकै श्रीवानीमा रहेको एक धर्मशालामा राखिएको शिलालेखअनुसार वि.सं. १८८३ माघ सुदीमा उनले यो धर्मशाला निर्माण गरेका हुन् । शिलालेखमा उनको पदमा ‘मन्त्रिवर’ लेखिएको छ ।

भीमसेन थापाको समयदेखि पुरानो काजी पद हटाएर त्यस ठाउँमा जनरल भन्न थालियो । यस्तो जनरल पद पाउने मगरमा अभिमानसिंह राना एक हुन् । उनलाई नेपालको प्रधानसेनापतिमध्ये एक मानिन्छ ।

माथवरसिंह थापाको हत्यापछि वि.सं. १९०२ साउनमा चौतरिया फत्तेजङ्ग शाहलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइयो । त्यसबेला उनलाई पाल्पा, गोरखा र डोटी गरी तीन जिल्लाको जङ्गी निजामतिका साथै वैदेशिक सम्बन्धमा लेखापढी गर्ने जिम्मेवारी दिइयो । जनरल गगनसिंहलाई सात पल्टनको अख्तियारीका साथ सिलखाना, बारूदखाना र तोपखानाको अख्तियारी दिइयो । त्यसबेला जनरल अभिमानसिंह रानालाई तीन पल्टनको अख्तियारीका साथ पूर्वपश्चिम र तराई मधेशको सम्पूर्ण रेखदेख गर्ने जिम्मेवारी दिइएको थियो । जङ्गबहादुरलाई पनि तीन पल्टनको जिम्मेवारीसहित त्यसबेला जनरल दिएको थियो (पुरूषोत्तमशमशेर जबरा, ‘श्री ३ हरूको तथ्यवृत्तान्त’–२०६५ः२४–२५) ।

जसरी पाँडे, थापा, बस्नेतका सन्ततिलाई ‘काजी’ भनेर तथा कुँवर र त्यसमा पनि रामकृष्ण कुँवरका सन्ततिलाई ‘राणाजी’ भनेर उनीहरूको ऐतिहासिक विरासतलाई सम्झना गर्दै सम्वोधन गरिन्छ, तर मगरहरूलाई काजी भनेर सम्वोधन गरेको पाइदैन । उनीहरूले नेपालको इतिहासमा कस्तो किसिमको पराक्रम देखाएका थिए भन्ने सन्दर्भ माथि उल्लेख भइसकेको छ ।

ठूल्ठूला र अप्ठ्यारा युद्धहरूमा भाग लिएर पराक्रम देखाउने मगर सैन्य अधिकारीमा देवु राना, प्रतिमन राना, प्रवल राना, भवानीदत्त थापा, रिपुमर्दन थापा, शमशेर राना, चामु राना, कीर्ति राना, भास्कर राना लगायतको नाम आउँछ, जो गोरखाली शासनको राज्यविस्तार अभियानमा सक्रियतापूर्वक सहभागी थिए ।

हालसम्म १३ जना नेपालीले विश्वको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस पाएका छन् । तीमध्ये पाँच जना त मगर मात्रै छन् । कुलबीर थापा, कर्णबहादुर राना, तुलबहादुर पुन, नेत्रबहादुर थापा र लालबहादुर थापा भिक्टोरिया क्रस पाउने वीर मगरहरू हुन् ।
नेपालमा दुई वटा पल्टनलाई मगर पल्टनको रूपमा चिनिन्छ । वि.सं. १८१९ मा गठन भएको पुरानो गोरख गणलाई वि.सं. १८४२ पुस १६ गते र भवानी दललाई वि.सं. १८४२ भदौ १३ गते मगर पल्टनका रूपमा परिणत गरिएको थियो ।

पुरानो ताम्रपत्रमा मगर
मगरलाई पहिले ‘मंग्वर’ भनिँदो रहेछ । नेपाल संवत् २२१ (वि.सं. १११७)को एक ताम्रपत्रमा मगरको राना थर जनिने एक व्यक्तिको नाम उल्लेख भएको पाइएको छ । धनबज्र बज्राचार्यअनुसार यो ताम्रपत्र जारी भएको बेला नेपाल मण्डलका अधिपतिका रूपमा शिवदेवको उल्लेख भएको र मंग्वरविषयका अधिपतिका रूपमा रामदेवको उल्लेख भएको छ ।

‘मंग्वर’ शब्द वर्तमान मगर शब्दको पूर्व रूप हो भन्ने कुरामा कुनै शंका छैन । मध्य नेपाल अर्थात गण्डकीप्रस्रवण क्षेत्रका केही इलाका ‘मगरात’ भनेर पछिसम्म नै प्रचलित थिए । यहीँ परम्पराअनुसार पृथ्वीनारायण शाहले आफ्नो उपदेशमा ‘मगरातका राजा त मै हुँ’ भन्ने भाव आफ्नो उपदेशमा व्यक्त गरेका छन् । यस कारण ‘मंग्वर’ विषय उक्त मगरात प्रदेशभित्र रहेको थियो भन्ने कुरा यस प्रसङ्गबाट थाहा हुन्छ (धनबज्र बज्राचार्य, ‘गोपाल राजवंशावलीको ऐतिहासिक विवेचना’ –२०६६ः१८–१९) ।

अर्का इतिहासकार ज्ञानमणि नेपालले आफ्नो पुस्तक ‘नेपालनिरूपण’ (२०५५ः१२५–१२६)मा उल्लेख गरेअनुसार उक्त ताम्रपत्रमा उल्लेख भएको झान्टेश्वर महादेव स्थानमा ‘मग्वरविषय’ शब्द परेको र त्यहाँ उल्लेख भएमध्ये एक सोहव राने पनि भएकोले ती सोहव राने एक जना महत्त्वपूर्व मगर व्यक्तित्व थिए भन्ने प्रमाण मिल्छ । ताम्रपत्रमा ‘इदा भावो धक्नप र सोहव राने’ उल्लेख भएकोले पाञ्चाली गुठियारमध्ये पहिलो भावो वा भाओ उपनाम भएका धनीमानी व्यक्ति थिए ।

दोस्रा स्थानीय व्यक्ति र तेस्रा राना मगर देखिन्छन् । नेपालले यो ताम्रपत्रमा ‘मग्वरविषय’ भन्ने उल्लेख भएबाट पश्चिम नेपालको गण्डकीप्रदेशको मगरातमा झण्टेश्वर स्थान थियो भन्न सकिने आधार प्रकट गरेका हुन् । मगर जातिका सम्बन्धमा यो पुरानो लिखत ऐतिहासिक महत्त्वको थियो भन्ने प्रमाण निक्कै बलियो भएर आउँछ ।

ताम्रपत्रमा यस्तो लेखिएको छः
शुभमस्तु, सम्वत् २२१ माग्र्गशुक्ल दशम्यां । राजाधिराज परमेशश्वरः श्रीमतशिवदेव महाराजै श्रीरामदीव समन्तविजयराजै मंग्वरविषये झांटेश्वर भट्टारकास ताडे गोठि पञ्चालिकेणः च्छेपरम् ग्वण्ड ओपलेम् ।। श्री इदा भावो नायक । श्रीधक्नप नायक श्रीसोहव राने । एते पधाण वत्र्तनीय ।। (नेपाल, २०५५ः१३०) ।

मगरहरूको महत्त्वपूर्ण उपस्थिति रहेको ताम्रपत्रको कुरा गर्दा राजा नरभूपाल शाहकालीन एक ताम्रपत्रलाई पनि उदाहरणको रूपमा लिन सकिन्छ । गोरखा मान्वुकी सिर्जना घलेबाट यो लेखकले प्राप्त गरेको वि.सं. १७९६ को ताम्रपत्रमा लोहरी राना र जसबु रानाको नाम उल्लेख छ । मान्वुका रामु घलेलाई जग्गा विर्ता दिइँदा उनीहरूलाई साक्षी राखिएको छ । यस्तै ताम्रपत्रमा अहिवर्न थापा र वीरभद्र थापाको पनि नाम उल्लेख छ । उनीहरू थापा मगर हुनसक्छन् । यसबाट उनीहरू नरभूपाल शाहको समयका उनीहरू महत्त्वपूर्ण भारदार थिए भन्ने स्पष्ट हुन आउँछ ।

काठमाडौं उपत्यकामा मगर सेना
पाल्पाली राजा मुकुन्द सेन (प्रथम)लाई आफ्नो समयका असाध्यै पराक्रमी राजा मानिन्छ । उनले आफ्नो राज्य व्यापक रूपमा विस्तार गर्नुका साथै काठमाडौं उपत्यकामा हमला गरेर यहाँका राजाहरूलाई आफ्नो वशमा लिएका थिए ।

इतिहासकारहरू महेशराज पन्त र दिनेशराज पन्तले ‘पूर्णिमा’ पूर्णाङ्क ४५ (जेठ २०३७ः१) मा मुकुन्द सेन (प्रथम)ले काठमाडौं उपत्यकामा हमला गरेको साल वि.सं. १५८१ र १५८२ हो भनी निक्र्यौल गरेका छन् ।

त्यसबेला मुकुन्द सेनले नेपाल उपत्यकामा हमला गर्दा त्यसको सूत्रधार नै उपत्यकाका राजा हरिदेवसँग काम गरिरहेका एक जना मगर सैनिक थिए ।

त्यसताका हरिदेवसिंह काठमाडौं उपत्यकाका राजा थिए । त्यसबेला तिनको नोकरीमा एक जना मगर थिए । मन्त्रीहरूको जालझेलले गर्दा अबदेखि त्यहाँ उनी नचाहिने भएर बरखास्तमा परेका थिए । जागिर गएपछि उनी आफ्नो घर पाल्पा फर्के । र नेपालमा सुनका छाना र सुनका धारा छन् भनेर उनले नेपालको तारिफ गरे । यो सुनेर त्यसबेलाका बहादुर र शक्तिशाली पाल्पाली राजा मुकुन्द सेन प्रशस्त घोडचढी सिपाहीहरूका साथ नेपाल उपत्यका हमला गर्न आए । त्यहाँका राजा हरिदेवसिंहलाई हराएर उपत्यकामा हुलदङ्गा र लुट मच्चाए । उनै मुकुन्द सेनका साथ मगरहरू पनि उपत्यकामा आएका थिए (महेशराज पन्त र दिनेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क ४३–चैत २०३६ः११५ र १२०) ।

काठमाडौं उपत्यकाको त्यसबेलाको ऐतिहासिक प्रसङ्ग झिक्दा कीर्तिपुरको युद्धमा एकातिर मगरहरू गोरखा राज्यकातर्फबाट लडेका छन् भने अर्कातिर कीर्तिपुरमै मल्ल राजाका तर्फबाट लडेका छन् ।

वि.सं. १८१४ जेठ १९ गते गोरखालीले कीर्तिपुरमा पहिलो पटक आक्रमण गरेको थियो । पृथ्वीनारायण शाहको ज्यानसमेत जोखिममा परेको यो युद्धमा गोरखाली सेनापति कालु पाँडे मारिए । उनीसँगै युद्धमा सहभागी भएका मगर सेनाहरू सहश्राव राना र कृष्णमनि राना पनि मारिए थिए (‘प्राचीन नेपाल’, सङ्ख्या २२–माघ २०२९ः१२) ।

कीर्तिपुरमा वि.सं. १८२१ असोज ४ गते फेरि गोरखालीले हमला गर्यो । यो युद्धमा पृथ्वीनारायण शाहका भाई शूरप्रताप शाहको एउटा आँखा फुटेको थियो भने अर्का भाइ दलजित शाह सख्त घाइते भएका थिए ।

पहिलोपटकको युद्धबाट पाठ सिकी कीर्तिपुरका बासिन्दाले भकारीका भकारी इँटाका टुक्रा तथा ढुङ्गा जम्मा पारी राखेका थिए । गाउँभित्रका महिला, बालक केटाकेटी र बुढाबुढीहरू समेतले माथिबाट इँटा ढुङ्गा हान्ने काम गरेका थिए । साथै घुँयेत्रो हान्न जान्ने मगरहरू पनि पालिराखेका थिए । यसको उपयोग दोस्रो युद्धमा भएको थियो (शुक्रसागर श्रेष्ठ, ‘कीर्तिपुरको सांस्कृतिक तथा पुराताङ्खिवक इतिहास’–२०५७ः१८) ।

मगरहरू लडाकु सैन्यनायकका रूपमा गढवाल क्षेत्रका तर्फबाट गोरखालीहरूविरूद्ध पनि लडेको इतिहास पाइन्छ ।

गोरखाली सेना राज्यविस्तार अभियानका क्रममा लड्दै गढवाल क्षेत्रमा पुग्दा त्यहाँका राजा प्रद्युम्न शाह थिए । त्यहाँ बडाकाजी अमरसिंह थापा, सरदार भक्ति थापा सरदार रणजीत कुँवर तथा सरदार अङ्गद घले गोरखाली सैन्य शक्तिका साथ लड्न पुगेका थिए । वि.सं. १८६१ मा भएको गढवालको त्यस युद्धमा गढवाली राजा प्रद्युम्न शाह मारिए । त्यस युद्धमा गढवाली सैन्य नायकका रूपमा दलवीर राना खटिएका थिए । युद्धका क्रममा गढवालका कान्छा चौतारा प्रीतम शाह र सैन्यनायक दलवीर राना गोरखालीहरूबाट पक्राउ परे । तीमध्ये प्रीतम शाहलाई कुमाउँमा नजरबन्द गरेर राखियो भने युद्धबन्दी दलवीर रानालाई भने निर्दयतापूर्वक काटियो (बाबुराम आचार्य, ‘जनरल भीमसेन थापाः यिनको उत्थान र पतन’–२०६९ः८६–८७) ।

यी ऐतिहासिक प्रसङ्गलाई विचार गरेर हेर्दा मगरहरू जताततै सेनाको रूपमा युद्धमा सहभागी भएको देखिन्छ ।

मगरहरू हुणका सन्तान हुन् ?
नेपालले तिब्बत, चीन र अङ्ग्रेजसँग लडेको युद्ध वा देशभित्रको विद्रोह दवाउँदाको युद्धमा होस, मगरहरूले पराक्रमका साथ लडेको देखिन्छ । उनीहरू आफै पनि विद्रोही भएर हतियार उठाएको पनि माथि उल्लेख भइसकेको छ । विश्वयुद्धहरूमा वीरता देखाउन पनि उनीहरू पछि परेका छैनन् ।

बेलायत सरकारले पनि उनीहरूको वीरताको सम्झना र सम्मान गर्दै केही महत्त्वपूर्ण कामहरू गरेको छ । तीमध्ये पहिलो भिक्टोरिया क्रस विजेता योद्धा कुलबीर थापा मगरको सम्मानस्वरूप बेलायतको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा उनको पूर्ण कदको शालिक राखिएको छ । शालिकको सन् २०२१ सेप्टेम्बर २५ मा अनावरण गरिएको थियो ।

यस्तै दुई वर्षअघि बेलायतको एक रेलसेवा ग्रेट वस्टन रेलवेले अर्का भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा रेलसेवाको नामाकरण गरेको छ । एउटा रेलको नाम ‘तुलबहादुर पुन भीसी’ राखिएको छ । यो रेल पेडिङ्टन स्टेसनदेखि कार्डिफ बिस्टलसम्म ओहोरदोहोर गर्छ ।

विभिन्न ऐतिहासिक सन्दर्भहरू निफनेर हेर्दा मगरहरूमा देखिएको पराक्रमपूर्ण सैन्य प्रवृत्ति निक्कै पुरानो देखिन्छ । मगरहरूमा यसप्रकारको पराक्रमी योद्धा व्यक्तित्त्व हुनुको कारण के होला ?

इतिहास, संस्कृति तथा पुरातत्त्व क्षेत्रका विज्ञ अध्येता जनकलाल शर्माले मगरको पुर्खा हुणहरू हुन् भनी उल्लेख गरेका छन् । प्राचीन समयमा हुणहरू मध्य एसियाली लडाकु जातिसमूह थिए ।

शर्माले आफ्नो पुस्तक ‘हाम्रो समाज एक अध्ययन’ (२०७५ः३०५–६)मा उल्लेख गरेअनुसार हुणहरूले उत्तरबाट हाम्रो प्रायद्विपमा बाटो खोल्दा उनीहरूसँगै हेप्तालहरू पनि आए । हेप्तालहरूमा हुण संस्कृतिको छाप थियो । हुणहरूजस्तै हेप्तालहरू पनि आयुधजिवी (हतियार चलाएर जिविका चलाउने योद्धा) थिए । इसाको आठौं शताव्दीमा हेप्तालहरू हुणसँग मिसिएका थिए । हुणहरू उत्तर र दक्षिणबाट आएर यहाँको पर्वतीय क्षेत्रमा ससाना राज्य खडा गरे । हेप्तालहरूले पनि ससाना राज्य खडा गरे । हेप्तालहरू क्षेत्रीय कहलाए भने हुणहरू मगर कहलाए ।

सोझा, इमान्दार र स्वाभिमानी मगरहरूमा देखिएको अर्को महत्त्वपूर्ण विशेषता हो, लडाकुपन । उनीहरूको यस्तो लडाकुपन र योद्धा व्यक्तित्त्व देख्दा जनकलाल शर्माले उल्लेख गरेजस्तै मगरहरूको पुर्खा हुण हुनु सम्भव छ ।

नमासिने जात
नेपालका आदिवासी जनजातिहरूमध्ये सबैभन्दा ठूलो जनसङ्ख्यामा रहेका मगरहरू नेपालका सबै जसो ठाउँमा छरिएर रहेका छन् । युद्ध लड्दै जाँदा उतै घरबास गरेपछि उनीहरू नेपालका सबै जसो ठाउँहरूमा छरिएर रहेको भए पनि उनीहरूको मूलथलोलाई मगरात भनिन्छ । मगरहरूमा पनि अठार र बाह्र मगरात रहेको छ । साविकको राजनीतिक विभाजनअनुसार अञ्चललाई हेर्ने हो भने राप्ती र धौलागिरी अठार र गण्डकी र लुम्बिनी बाह्र मगरातको मूलथलोको रूपमा चिनिन्छ ।

पहिले मगरहरूलाई मासिने मतवाली जातिका रूपमा लिइन्थ्यो । मानिसलाई सजाय दिँदा मार्न, बेच्न र दाश बनाउन पाइने जातिलाई मासिने जाति र त्यसो गर्न नपाइने जातिलाई नमासिने जातिका रूपमा विभाजन गरिएको थियो ।

मगरहरूका नाममा वि.सं. १८७९ असोज वदी ८ मा राजा राजेन्द्रविक्रम शाहले रणोद्योत शाह, भीमसेन थापामार्फत् एक लालमोहर जारी गरी नमासिने जातिका रूपमा घोषित गरेका थिए । इतिहासकार दिनेशराज पन्तले ‘पूर्णिमा’ पूर्णिमा पूर्णाङ्क १९ (कात्तिक–पुस २०२५ः२२४)मा यो लालमोहर प्रकाशित गरेका छन् । लालमोहरमा लेखिएको छः

आगे भेरिपूर्व मेचिपश्चिम भर मुलूक्का मगरहरूके श्रीबुबाज्युबाट अपुतालि चाकचकुइ माफ गरिबक्सनुभयाको रहे आज हांमिबाट फन्र्याउलो बाक्स्योग्बास्योसमेत माफ गरि औ विराउंमाफिकका षतमा दंड सासना गर्नु. जीय नमासनु भनि थिति बाँधि तावापत्र गरिबक्स्यौं ।

प्रतिक्रिया दिनुहोस्