हनीट्र्याप अंग्रेजी शब्द हो । ‘हनी’को अर्थ ‘मह’ र ‘ट्रयाप’को अर्थ ‘जाल’ हुन्छ । महजस्तै मीठो माध्यमबाट कसैलाई जालमा पारिन्छ भने त्यसलाई सामान्य बुझाइमा ‘हनीट्र्याप’ भनिन्छ । सुन्दा यो शब्द जति सरल र सूक्ष्म छ, त्यति नै बृहत् र फराकिलो छ ।
अंग्रेजी शब्द हनीट्र्याप नेपालमा कसरी सुरु भयो त ? यसको अध्ययन गर्दा प्रहरीले कुनै घटना वा व्यक्तिको अनुसन्धान गर्दा प्रयोग गरेको पाइन्छ । प्रहरीले घटनाका प्रमाणहरू संकलन गर्न शंकास्पद व्यक्तिलाई विभिन्न प्रलोभन देखाई हनीट्र्यापमा पार्ने गरेको छ ।
त्यस्तै राजनीतिज्ञहरूले आफ्नो स्वार्थ पूरा गर्न र राजनीतिक लाभ लिन जनतालाई हनीट्र्यापमा पार्ने गरेका छन् । देशको परिस्थिति, सामाजिक कुरीति, महँगाइ, कमजोर आर्थिक हैसियत, साक्षरताको कमीको कारण हनीट्र्याप बढ्दो छ ।
विदेशतिर नियाल्ने हो भने स्क्यामरहरूले राम्रो जागिर दिलाइदिने नाममा, राम्रो घर वा कोठा खोजिदिने नाममा, घरमै बसीबसी राम्रो आम्दानी गराइदिने नाममा, चिठ्ठा परेको नाममा यसको प्रयोग गरेको पाइन्छ । हाम्रोमा भने अनैतिक वा अवैध यौन क्रियाकलापमा फसाई आर्थिक लाभ लिन यसको प्रयोग हुने गरेको छ ।
अनुचित लाभ लिनको लागि सामाजिक सञ्जालको माध्यमबाट सम्पूर्ण जानकारी गोप्यरूपमा संकलन गर्दछन् । त्यसपछि कसरी जालमा फसाउने भनेर योजना बनाउँछन् । विशेष गरी आर्थिकरूपमा बलियो भएका र पारिवारिक बन्धनमा परेका विवाहित व्यक्तिहरू उनीहरूको छनोटमा पर्दछन् ।
यो काम एक्लैले गर्न असम्भव हुन्छ । त्यसैले संगठन बनाई हनीट्र्यापमा पार्ने गरेको पाइन्छ । भित्री रूपमा काम गर्ने व्यक्तिहरू शारीरिक रुपमा जस्ता भएपनि हुन्छ । तर, बाहिरी रूपमा देखा पर्ने व्यक्तिको रूपरङ्ग निकै लोभलाग्दा र मनमोहक हुन्छन् । जसले गर्दा अमुक व्यक्तिलाई ट्रयापमा पार्न सजिलो हुन्छ ।
सङ्गठित रुपमा परिचालित हनी यानकी सुन्दर व्यक्तिले सुरुमा सामाजिक सञ्जालबाटै छनोटमा परेका अपरिचित व्यक्तिसँग साथी बनाउने गर्छन् । साथी बनाउनु ट्रयापमा पार्ने पहिलो चरण हो । साथीको नाताबाट सम्बन्ध अगाडि बढाउँछन् । प्रेममा परिणत गर्छन् । प्रेम सम्बन्धलाई प्रगाढ बनाउने नाममा शारीरिक सम्बन्ध पनि राख्छन् ।
अपरिचित व्यक्तिलाई साथी बनाउनु ट्रयापमा पार्ने पहिलो चरण हो । साथीबाट प्रेममा परिणत गर्छन् । प्रेम सम्बन्धलाई प्रगाढ बनाउने नाममा शारीरिक सम्बन्ध राख्छन् । शारीरिक सम्बन्ध राख्नु उनीहरूको ठूलो उपलब्धि हो । शारीरिक सम्बन्ध पैसा कमाउने माध्यम बन्छ । र, आर्थिक लेनदेनको बार्गेनिङ सुरु हुन्छ ।
शारीरिक सम्बन्ध राख्नु उनीहरूको एउटा ठूलो उपलब्धि हो । साथी हुँदै प्रमी वा प्रेमिकाको नाटक गरेर ट्रयापमा पारेपछि ब्ल्याकमेल सुरु गर्छन् । उनीहरूबीच भएको शारीरिक सम्बन्ध पैसा कमाउने माध्यम बन्छ । र, आर्थिक लेनदेनबाट समाप्त गर्छन् ।
हनीट्र्याप गर्ने व्यक्तिले आर्थिक विषयलाई अगाडि बढाउनका लागि आफ्नो आपराधिक सङ्गठनलाई पारिवारिक नातागोताको रुपमा चिनाउँछन् । त्यसपछि पैसा सौदाबाजी सुरु हुन्छ । दुईजनाबीच भएको वार्तालाप, कही कतै होटलमा भेटेको त्यसको अडियो–भिडियो रेकड तथा फोटो देखाउँदै तर्साउँछन् ।
यदि उनीहरूको माग बमोजिम पैसा नदिए प्रहरीमा जाने धम्की दिन्छन् । जबरजस्ती करणीको मुद्दा लगाएर जीवनभर जेलमा कुहाइदिने, पारिवारिक जीवनसमेत तहसनहस बनाइदिने धम्की दिन्छन् । दबाब दिन्छन् ।
यसरी दबाब दिएपछि ट्रयापमा पर्ने व्यक्ति आफ्नो पारिवारिक जीवन बचाउन र नाजायज सम्बन्धबाट छुटकारा पाउन, जेल जानबाट बच्नका लागि उनीहरूको कुरा मान्न तयार हुन्छन् । मागे जति रकम दिन्छन् ।
०८०।०४।२८ मा एक अनलाइन हनीट्र्यापकै विषयमा समाचार छापिएको थियो । जसमा भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा एकजना महिलालाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
उक्त महिलाले आफू अविवाहित भएको भनी विवाह गर्ने नाटक गरेका थिए । ती महिलाले पहिला नै चारवटा नाटकीय विवाह गरिसकेको उनका श्रीमानले पत्ता लगाएका रहेछन् । विवाहमा केटाले २५ तोला सुन र करिब १५ लाख खर्च गरेका रहेछन् । विवाह गरेको केही समयमै उनले ससुरा र बूढाको सम्पत्ति आफ्नो नाममा बनाए ।
त्यसपछि केही सम्पत्ति आफ्नो ऋण तिर्न भन्दै बेच्न लगाए । बाँकी रहेको पैसा कुम्ल्याएर उनी जापान गए । जापानैदेखि श्रीमानलाई डिभोर्स गर्न दबाब दिन थाले । त्यसपछि उनका श्रीमानले भक्तपुर प्रहरीमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता गराए ।
भक्तपुर जिल्ला अदालतले प्राप्त प्रमाणबाट ती महिला कसुरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठायो । त्यसपछि उनले विभिन्न अदालत चहारे । तर, जिल्ला अदालतकै आदेश सदर भयो । त्यसपश्चात् जेल चलान भए ।
आफू थुनाबाट बाहिर निस्कन नपाएपछि जेलबाटै श्रीमानलाई वैवाहिक बलात्कारको आरोप लगाई मुद्दा दायर गरे । जुन मुद्दा हालसम्म विचाराधीन छ ।
त्यस्तै गरी, जिल्ला प्रहरी परिसर ललितपुरले गत साउनमा हनीट्र्यापको उजुरीकै आधारमा चार व्यक्तिलाई समात्यो । जसमा एकजना केटीले फेसबुकमा आफ्नो नाम परिवर्तन गरी फ्रेन्ड रिक्वेस्ट पठाएर केटा साथीहरू बनाउने गरेका थिए ।
म्यासेन्जरबाट कुराकानी गरी ती केटाहरूलाई होटल जान अनुरोध गर्ने, होटलमा गएर वार्तालाप गर्ने गरेका रहेछन् । होटलमा गरेको कुरा आफ्नो आफन्तलाई थाहा भएको भन्दै केटाहरूलाई ट्रयापमा पार्ने गरेका रहेछन् ।
ती महिलाले ‘आफूहरुको कुरा दाजु–भाउजूलाई थाहा भएको र उनीहरूले भनेबमोजिम गर्नुस्’ भन्दै केटाहरूलाई फसाउने गरेका थिए । उनले दाजु–भाउजू भन्दै आपराधिक सङ्गठनका व्यक्तिहरूसँग कुरा गर्न लगाउने गरेका थिए । ती व्यक्तिहरूले विभिन्न धम्की र दबाब दिएपछि केटाहरूले बाध्य भएर चेक दिएका थिए ।
पीडित दुईजना पुरुषले भने ती महिलाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि ती महिलालाई प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा कारबाही चलायो ।
माथिका यी दुई घटना त प्रतिनिधि घटना मात्रै हुन् । यस्ता ट्रयाप संघीय राजधानीमा मात्रै नभइ नेपालमा विभिन्न सहरहरूमा भइरहेका छन् । ०७९।०८।२५ मा दाङमा पनि हनीट्र्यापमा पार्ने तीन जना पक्राउ परेका थिए ।
दाङको घटना पनि भक्तपुर र ललितपुरको जस्तै रहेको छ । पहिला साथी बनाउने, त्यसपछि प्रेममा फसाउने र ट्रयापमा पर्ने । पीडितले पहिलो पटक ती महिलालाई १४ लाख बुझाएका रहेछन् । त्यसपछि पनि निरन्तर धम्की दिँदै मानसिक यातना दिन थालेपछि पीडितले प्रहरीमा गएर उजुरी दिएका थिए ।
त्यसैगरी नेपालगन्जमा यस्ता घटना वकिलले नै मिलाएको पाइएको छ । एक महिलाले १२ लाख लिएपछि अब उप्रान्त पैसा नमाग्ने, जबरजस्ती करणीको आरोप नलगाउने भनेर कागजै गरेका थिए ।
यसरी नठगियोस् भनेर मुलुकी अपराध संहिता २०७४ मा विभिन्न कानुनी प्रावधानहरूको व्यवस्था छ । मुलुकी अपराध संहिता २०७४ दफा २५३ ले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने भनेको छ । एक्सटर्सन भनेको कसैले कुनै व्यक्तिलाई डर–त्रास देखाइ लाभ लिनु हो ।
दफा २५३ (क)मा आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अंगभंग गर्ने वा गम्भीर चोट पुर्याउने डर वा त्रास देखाएमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।
२५३ (ख) मा कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डर वा त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना र माथि उल्लिखित (क) र (ख) मा बाहेक अन्य अवस्थामा आपराधिक लाभ लिएमा एक वर्षसम्म कैद र दश हजार जरिबाना हुने व्यवस्था गरेको छ ।
कानुनमा विभिन्न थरीका व्यवस्था भएपनि हनीट्र्याप गर्ने समूहहरु दिनहुँ फैलिरहेका छन् । यस्ता आपराधिक समूह बढ्नुको मुख्य कारण भनेको यसप्रति कसैको ध्यान नजानु नै हो ।
समस्याको किनारा लगाउन समस्याको जरासम्म पुग्नैपर्छ । हनीट्र्यापमा पर्नेहरु कानुनबाटै पनि पीडित हुने गरेको पाइन्छ । किनभने बलात्कार जस्तो गम्भीर आरोप लगाइदिने धम्की र सो विषयमा उजुरी दिन जाँदा आफै पक्राउ पर्ने त होइन भन्ने उनीहरूमा त्रास हुने गरेको पाइन्छ । यस्ता मानसिकताका कारण धेरै पीडितहरूले त उजुरी नै दिँदैनन् ।
त्यसकारण जाहेरी लिने निकायदेखि कानुनको पालना गराउने निकायसम्म गम्भीर हुनुपर्ने देखिन्छ । महिला–पुरुषमा भेदभाव गर्नु हुँदैन । सबैको गुनासो सुनेर निष्पक्ष छानबिन गर्नुपर्छ । छानबिनको दयारा फराकिलो बनाउनुपर्छ । समयसापेक्ष राज्यका निकायहरू पनि चल्नु पर्दछ । नत्र, यस्ता अपराधहरू मौलाएर जानेछ । यसप्रति राज्य बेलैमा सजग हुन जरुरी छ ।
(लेखक शाह अधिवक्ता हुन् ।)