Logo
Logo

निराशाको तुवाँलोभित्र समाजवादी यात्रा


सिद्धिचरण भट्टराई

3.2k
Shares

साम्प्रदायिक सद्भाव भड्काउन नेपथ्यमा कोही छ ? कान्तिपुर दैनिकले सम्पादकीय मार्फत एउटा प्रश्न तर्सायो । उसले सम्पादकीयमा लेखेको छ– आर्थिक र राजनीतिक एजेन्डाअनुसार नै सत्ता प्राप्तिको उद्देश्य हासिल हुने हो । कसैले साम्प्रदायिक सद्भाव भड्काएर सत्तामा पुग्ने भ्याङ्ग त खोजेको छैन ? प्रश्न यतातिर सोझाएको छ । यो प्रश्न अहिले सबैको मनमा उब्जेको प्रश्न हो ।

अहिले मुलुकमा एजेण्डाभन्दा अनुहारबाट समाधान निकाल्न खोज्ने मनोविज्ञान स्थापित गर्न खोजिँदैछ । सामाजिक सञ्जालले हिजोको ओलीको हिरोइज्ममा समाधान देख्यो । त्यो विधानविरुद्ध एम्बुसमा पुगेर पतन भयो ।

अहिले आप्रवासी र देशवासी युवामा लोकप्रियतावादको मुखुन्डोभित्र केही दलहरू नयाँजस्तै देखिन्छन् । तर, एजेण्डा ‘नयाँ बोतलमा पुरानै रक्सी’ छ । नयाँ अनुहारले आफ्ना मर्काहरूको समाधान गरिदेलान् कि भन्ने केहीको आशा छ । त्यसैले नयाँ भनाउँदाहरूले जनताको आशालाई लाभमा बदल्ने चेष्टा गरिरहेका छन् ।

यो सामाजिक मनोदशाभित्र नेकपा एकीकृत समाजवादीका एजेण्डा पत्याउन कति लाग्ला त्यो फरक कुरा हो । तर, यो पार्टी मुलुक बनाउने एजेण्डा र दृष्टिकोणसहित नयाँ बाम विकल्पको रुपमा उदाउँदैछ । यसको अभियान पूर्वबाट शुरु भइसकेको छ । त्यो हो– राष्ट्रिय समाजवादी जागरण यात्रा ।

अबको क्रान्ति समाजवादी हो । र, हाम्रो बाटो समाजवाद । तर, त्यहाँ कसरी पुगिन्छ त ? यो प्रश्नको उत्तर समाजवादी जागरण अभियानले दिन खोजेको छ । तर, यसबारे मूलधारका मिडियाले सबैको ध्यान खिच्ने गरी समाचार छापेका छैनन् । बहसका विषय बनाउन सकेका छैनन् ।

त्यतिमात्र हैन, मूलधारको मिडियाले मुलुकको समस्याको समाधान पस्कने पार्टीको आलोचना वा समर्थनको प्रतिक्रिया र सुझावलाई पनि ठाउँ दिने गरेको पाइँदैन । साम्प्रदायिक र धर्मको नाममा लिएर ब्युँतनु खोजेको पुनरुत्थानवादीहरू पछाडि धकेलिदिन्छन् । यसले उज्यालोतिर लैजाने अवसरभन्दा समाजलाई पछाडि फर्काएर अँध्यारो सुरुंगतर्फ लाने प्रोत्साहन गरिरहेको छ ।

लाखौ युवा विदेश पलायन भए । देश वृद्धाश्रम बन्ने खतरामा छ । देश भ्रष्टाचारले डुबिसक्यो । सुशासन छैन । उद्योग धन्दा बन्द हुँदै छन् । अर्थतन्त्र चलायमान छैन । व्यापार घाटा बढेको बढ्यै छ । मूल्यवृद्धि अकासिएको छ । रोजगारी अवसर सिर्जना हुन सकेको छैन । जनता रोजगारीबाट दिनहुँ हात धोइरहेका छन् ।

केही सीमित व्यक्ति दिनहुँ धनी हुँदै गइरहेका छन् । गरिब झन गरिब हुँदैछन् । आजको मुख्य समस्या यही हो । समस्या सबैलाई थाहा छ । यो सबैले भोगेकै विषय हो । तर, समाधानको बाटो खोज्न कसै लागेका छैनन् । समाधानबारे चर्चा समेत हुँदैन ।

संविधानमा मौलिक हक छ । त्यसमा धेरै अधिकार छन् । मावि तहसम्म निशुल्क शिक्षा । आधारभुत स्वास्थ्य । आवासको व्यवस्था । मानव अधिकार । रोजगारी । यी सबै संविधानले दिएको अधिकार हो । जुन अधिकार पाउन ठूलो र लामो संघर्ष गरिएको छ ।

संविधान कार्यन्वयन गर्दै जाने हो भने हाम्रो यात्रा समाजवादउन्मुख हुनेछ । संविधान कार्यन्वयनमा लाने कुशल शिल्पकारको खाँचो छ । तर, यो शिल्पकार अवतारवादको रुपमा उदाउन सम्भव छैन । दलीय व्यवस्थामा दलको नीति र कार्यक्रमले मात्रै त्यो सम्भव हुन्छ ।

त्यसैले अहिले त्यसको पार्टीको खोजी गर्नुपर्छ । लोकतन्त्रिक र निर्णय गर्न सक्ने क्षमताको पार्टी विकास हुनुपर्छ । मुलुकलाई अहिले यस्तो पार्टीको अभाव खट्किरहेको छ ।

नेकपा एमालेजस्तो सङ्गठित पार्टीमा ओलीको अवतारवादी हावी भयो । ओली संविधान कार्यन्वयन गर्नेभन्दा मास्ने तिर लागे । एजेण्डा भुलेपछि दुई तिहाइको सरकार हुँदा पनि ओली बेलगाम घोडा जस्ता भए ।

नवौँ महाधिवेशनपछि त एमाले सिद्धान्त वेवारिसे भयो । ‘सुखि नेपाली, समृद्ध नेपाल’को नारा त दियो । तर, त्यहाँ पुग्ने बाटो खन्ने योजना बनाएन । सामन्तवाद बदल्ने पुँजीवादी क्रान्तिको रुपमा रहेको जनताको बहुदलीय जनवादभन्दा अरु सिद्धान्त भएन । त्यसबेला ३० वर्षभित्र नेपाललाई विकसित राष्ट्रको सूचीमा लैजाने सपना देख्यो । तर, बाटो अन्यत्रै मोडियो ।

मुलुकलाई विकसित राष्ट्र बनाउन हरेक पार्टी कमिटीलाई आर्थिक र सामाजिक रूपान्तरणको एजेण्डा दिनुपर्ने थियो । नेतृत्व निर्माण पनि सोही मूल्यांकन आधारमा गरिनुपर्थ्यो । त्यति गर्न सकेको भए पार्टीभित्र गुट जन्मने थिएन ।

आर्थिक र सामाजिक रूपान्तरणको एजेण्डा दिन सकेको भए समृद्धि बढाउँथ्यो । तर, यता ध्यान जान सकेन । गुट र उपगुटमै पार्टी अलमलियो । नेताहरु व्यक्तिगत स्वार्थमा लाखे । पार्टीको अन्तरविरोध बढ्दै गयो । संसद् विघटनमा पुग्यो । त्यसपछि नेकपा एसको जन्म भयो । नवीन एजेण्डासहित । राजनीतिक दुर्घटना सच्चाउने लक्ष्यसहित ।

अहिले नेकपा एस मेचीमहाकाली समाजवादी जागरण अभियान छ । यसको मुख्य उद्देश्य भने वैचारिक खाडल पुर्ने हो । भरपर्दो वाम विकल्प बनाउने हो । यसका लागि के–के एजेण्डा के छन् ? प्रश्न उठ्न सक्छ ।

एकीकृत समाजवादीले आफ्नो एजेण्डा एउटा पर्चामार्फत सार्वजनिक गरेको छ । तीनका महत्वपूर्ण बुँदाहरूमा छलफल गरौँ । बहस गरौँ ।
लक्ष्यः उत्पादक पुँजी र रोजगारी । आगामी १० वर्षमा श्रम गर्न सक्ने सबै नेपालीलाई रोजगारी दिने । र, गरिबी उन्मूलन गर्ने । यसका लागि ठोस लक्ष्य र उद्देश्यहरू तय भएका छन् ।

जस्तो, कृषकले उत्पादन गरका बस्तुको उचित मूल्य पाउने ग्यारेण्टी गर्ने । कृषकलाई मार नपर्ने गरी मूल्य तोक्ने । कृषकले उत्पादन गरेको बस्तु सरकारी डिपोहरूले अनिवार्य खरिद गर्ने । र, बजार व्यवस्थापन गर्ने । यसबाट कृषि क्षेत्रका ५१ प्रतिशत बेरोजगारी र अर्धबेरोजगारी हल गर्न सकिन्छ ।

नेपाली उद्योगमा विश्वको उद्योगसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने । यो अहिले असम्भव जस्तो देखिन्छ । तर, समाजवादको यात्राले यो सम्भव छ । त्यसको मुल आधार हो– जलश्रोत । प्रचुर विद्युत उत्पादन । अन्य देशमा उर्जा महँगो छ । नेपालमा सस्तो दरमा विद्युत दिएर वैदेशिक लगानी भित्र्याउन सकिन्छ । औद्योगिकीकरणको अभियान चलाउन सकिन्छ ।

समाजवादी अभियान भन्छ– राष्ट्रिय पुँजी निर्माणको प्रचुर सम्भावना छ । त्यसको लागि सरकारले उपयुक्त वातावरण बनाउनु पर्छ । हरेक लगानी उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ । अनुदान, त्यसले के उत्पादन गर्छ र कति रोजगारी दिन्छ भन्ने हेरेर मात्रै दिनुपर्छ । विप्रेषण र गैरआवासीय पुँजी र ज्ञानलाई औद्योगिकीकरणको अभियानमा जोड्नुपर्छ ।

रोजगारी सिर्जनाको अर्को क्षेत्र हो पर्यटन । यो क्षेत्रमा विकास गर्ने सके मुलुकलाई ठूलो योगदान दिनेछ । संसारको अग्लो शिखर सगरमाथा मात्रै हैन, धार्मिक आस्था केन्द्र पनि रहेका छन् । बौद्ध धर्म आस्थाको केन्द्र बुद्ध जन्मभूमि लुम्बिनी, हिन्दुको आस्था पशुपतिनाथ र जानकी मन्दिरजस्ता धार्मिक स्थलहरू छन् । जसले धार्मिक पर्यटन भित्र्याउ सकिन्छ ।

वार्षिक ४० लाख पर्यटक भित्राउन सके १० लाखले रोजगारी पाउने छन् । त्यसको लागि भिसा प्रणालीलाई सहज बनाउने र पर्यटनका आकर्षक प्याकेजहरू ल्याउनुपर्छ । यसले विदेशी मुद्रा भित्रिन्छ ।

विकासका पूर्वाधारका काममा आगामी केही दशक मूलभूत लगानी गर्नुपर्छ । तर अहिलेको मोडलमा विकास खर्च गर्नु हुँदैन । स्थानीय रोजगारीलाई पहिलो शर्त बनाउने र बढिभन्दा बढि मानिसले काम पाउने मोडल स्थापित गर्न जरुरी छ । सार्वजनिक खरिद ऐनका दलालतन्त्र पोस्ने प्रावधान हटाउनुपर्छ ।

आगामी १० वर्षमा उच्च शिक्षा निशुल्क बनाउनुपर्छ । शिक्षा व्यवहारिक बनाउनुपर्छ । सीपयुक्त नागरिक तयारी गर्नुपर्छ । स्वदेशमै युवाशक्ति खपत गर्नुपर्छ । विश्वविद्यालयहरूले विश्व बजारमा चाहिने जनशक्ति उत्पादन गर्नुपर्छ ।

विश्व बजारमा चाहिने जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय नहुन अहिले लाखौँ विद्यार्थी पलायन भइरहेका छन् । हाम्रा विश्वविद्यालयहरूले विदेशबाट विद्यार्थी तान्न सकिरहेको छैन । त्यसको लागि संरचनागत सुधार गर्नुपर्छ । त्यो एजेण्डा समाजवादीसँग छ ।

राज्यको लगानीबाट उत्पादित जनशक्तिलाई निश्चित समय देशको सेवा गराउन सक्नुपर्छ । यी सबै कुरा हासिल गर्न सुशासन कायम हुन्छ । उच्च नैतिक धरातलमा उभिएर मात्र त्यो उपलब्धि हासिल गर्न सकिन्छ ।

समाजवादी नैतिकतामा उभिएको पार्टी सदस्यहरूबाट नेतृत्व चयन गर्नुपर्छ । नेतृत्वसँग समाजलाई देशको पक्षमा उभ्याउने कला हुनुपर्छ । हरेक पालिकाहरू र वडाहरूमा रहेका पार्टीले देशलाई पुराउने योगदानको सूचक तयार गर्नुपर्छ । कार्यकर्ताको मूल्यांकन पनि हुनुपर्छ । यसले पार्टीभित्र स्वार्थ गुटहरू जन्मिने छैनन् ।

यसले ठोस काम गर्ने र उपलब्धि चुम्ने बानी बस्ने छ । यसले ठूला गफ चुट्ने कार्यकर्ताको उपदान हुने छैन । यसरी पार्टी निर्माण भयो मुद्दाहरूमा बहस हुनेछ । समस्याको समाधानका उपाय निस्कने छ ।

त्यसपछि संविधानले देखाएको समाजवाद, विकास, सुशासन र रोजगारी सिर्जना ल्याउन सकिन्छ । राष्ट्रिय पुँजी वृद्धि गरेर वितरणयोग्य अवस्था बनाउनु नै समाजवादको आधार हो । समाजवादीको मेचीमहाकाली यात्राले एउटा आशातित पार्टी निर्माण गरोस् । शुभयात्रा कमरेडहरू ।

(नेकपा एसको २०८० असौज १४ देखि २८ मेचीमहाकाली जागरण यात्राका सन्दर्भमा )

प्रतिक्रिया दिनुहोस्