Logo
Logo
इलाम चिनाउने गीत-१

शब्द, संगीत र स्वरमा इलामको अनुपम सुन्दरता


83k
Shares

‘इलामे सहर चियाबारी राम्रो त्यहीँ पर्यो घर हाम्रो’… कुनै समय रेडियो नेपालमा खुबै गुन्जियो यो गीत । गंगाराज मुकारुङको शब्द रहेको उक्त गीतमा त्यस बेलाका चर्चित गायक तथा सङ्गीतकार बुलु मुकारुङ र कुन्ती मोक्तानको स्वर छ ।

गीत हिट भयो । सबैको मुखमा झुन्डियो । र, गुनगुनाउन थाले । गीतले पूर्वको पर्यटकीय जिल्ला इलामलाई थप चर्चामा ल्यायो । इलाम चिनाउने गीतहरूमध्ये सबैभन्दा चर्चित र पुरानो गीत हो यो । त्यसयता इलाम चिनाउने थुप्रै गीत आए । र, आइरहेका छन् ।

त्यसो त इलाम भन्ने सुन्ने बित्तिकै धेरैको मुखबाट प्वाक्क निस्कन्छ– आहा ! झुल्के घाम । चियाबारीको राजधानी । नागबेली बाटो । बादलुको घुम्टो । प्राकृतिक सुन्दरताको खानी । पहाडकी रानी । जति धेरै उपनाम दिए पनि अपुग लाग्ने !

इलाम हरित कृषिको जिल्ला पनि हो । मनमोहक सुन्दरताले भरिपूर्ण इलाम सबैको रोजाइमा पर्छ । नेपालको मुख्य पर्यटकीय गन्तव्यमध्ये एक ।

विभिन्न जातजातिको बसोबास । सांस्कृतिक धरोहरको धनी । प्राचीन मठमन्दिर र गुम्बा । अनेक प्रजातिका चरा । किसिम किसिमका पुतली । दुर्लभ रेड पान्डा । माई पोखरी, हाँस पोखरी । यी सबैले सबैलाई लोभ्याउँछन् ।

इलाम, लोपोन्मुख लेप्चा जातिको बसोबास रहेको एक मात्र जिल्ला पनि हो । साथै, इलाम ‘आठ अ’ले समेत प्रसिद्ध छ । अलैँची, अदुवा, अर्थोडक्स चिया, अकबरे खोर्सानी, ओलन (दूध), अम्लिसो, आलु र अतिथि सत्कार ।

सायद त्यसैले होला भूपी शेरचनले कविता लेखेका थिए– ‘हरियो भरियो इलामलाई देख्दा, नेपालभरि अलिअलि इलम छर्न मन लाग्यो ।’

इलामलाई सबैले आआफ्नै तरिकाले व्याख्या गरेका छन् । इतिहासविद् युद्धप्रसाद वैद्य भन्छन्– ‘नकुदिएको हीरा, यसलाई कुद्न बाँकी छ ।’ प्रसिद्ध लेखक कर्ण शाक्य भने ‘अल्छी लागे इलाम घुम्न जानु’ भन्छन् ।

इलामबारे लेख्ने लेखक, इलामको चर्चा गर्ने नेता र इलामेली गीत गाउने गायक धेरै छन् । यहाँ चर्चा गरौँ गीतको । इलामलाई चिनाउने थुप्रै गीत छन् । तीमध्ये यस पटक ८१ गीतको चर्चा-

१. इलामे सहर
गीत–संगीत प्रेमीले धेरै गुनगुनाउने पुरानो र चर्चित गीत हो यो । यो गीत नगुनगुनाउने सायदै होलान् । गीत नेपाली सेनाका पूर्व महासेनानी गंगाराज मुकारुङले लेखेका हुन् । गीतमा कुन्ती मोक्तान र बुलु मुकारुङको स्वर छ ।

यसको रिमिक्स भर्सन पनि छ । जसमा राजु लामा र सिन्धु मल्लको स्वर रहेको छ । पछिल्लो पटक सुनिता थेगिम र अशोक मुकारुङले यो गीतलाई रिमेक गरेका छन् । जसले गाए पनि यो गीतलाई उत्तिकै मन पराइएका छ ।

२. बादलुको घुम्टोले
बुद्धवीर लामाको शब्द, दिनेश सुब्बाको संगीत र यम बरालको स्वर रहेको यो गीत पनि चर्चित छ । यही गीतले आफूलाई चिनाएको गायक बराल बताउँछन् । गीतमा इलामको मौसमको बखान गरिएको छ । छिनछिनमा बदलिरहने मौसम, परिवेश र चियाबारी गीतको मुख्य विषय बनेको छ ।

३. रेसमैको पछ्यौरी
रोशन गुरुङ र भीमराज राईको स्वर रहेको यो लोकप्रिय गीत हो । जहाँ झुल्के घाम हेर्न अन्तु डाँडा जान आह्वान गरिएको छ । गीतमा चियाबारी, माइबेनी, पञ्चमी, माइपोखरी र नयाँ बजारको वर्णन छ । भीमराजको शब्द र गणेश गुरुङको सङ्गीत रहेको यो गीतलाई सुमन थेबेले रिमेक गरेका छन् ।

४. इलामले सम्झायो माया
लेखनाथ पोखरेलको शब्द, गणेश गुरुङको संगीत र रोशन गुरुङको स्वर रहेको यो गीतले पनि इलामलाई चिनाएको छ । यसमा श्रीअन्तु, माई पोखरी, गजुरमुखी, सन्दकपुर, पाथीभरा, माईखोला, इलाम बजार, चिया, अलैँचीका साथै अम्लिसोको वर्णन गरिएको छ ।

५. इलामैको न्यानो बस्ती
टेक सुब्बाको शब्द, वरिष्ठ गायक तथा सङ्गीतकार बलराम समालको संगीत र स्वर रहेको यो कर्णप्रिय गीत हो । यस गीतले परदेशमा रहँदा इलामलाई सम्झाउने गर्छ ।

६. इलामको बसाइँमा
तारा ढुरकापानीको शब्द, डेनी निरौलाको संगीत र जगदीश समालको स्वर रहेको यो गीतले इलामकै वर्णन गरेको छ । यस गीतमा इलामको स्वच्छ हावापानीको व्याख्या गरिएको छ ।

७. इलाम हाम्रो गौरव
कोमल निरौलाको शब्द र डेनी निरौलाको संगीत रहेको यो गीतले इलामको ऐतिहासिक पर्यटकीय गन्तव्यको वर्णन गरेको छ । गीतमा झुमा निरौला, जुना प्रसाईँ, शर्मिला आचार्य, टिका प्रसाईँ, कमल श्रेष्ठ, कृष्ण भट्टराई र डेनी निरौलाको स्वर रहेको छ ।

८. मेरो प्यारो इलाम जन्म गाउँ
अञ्जु पन्तले गाएको यो गीत निकै लोकप्रिय छ । मेल भर्सनमा सुन्दर योङहाङले गाएका छन् । गीतमा इलाम घुम्न आउने र सबैले चियाबारीको गीत गाउने गरेको दर्साइएको छ ।

९. मंगलबारे डाँडामा
वरिष्ठ लोकगायक देवी गौतमद्वारा संकलित यो गीतमा उनैको स्वर रहेको छ । गीतले इलामका गाउँबेंसीमा घन्काइने लोक भाकाको प्रतिनिधित्व गर्छ । गीतमा मंगलबारे, श्रीअन्तु, नवमीडाँडालगायतका व्याख्या गरिएको छ ।

१०. हाम्रो यो ग्रिन इलाम
दीपक लिम्बू र सहिमा श्रेष्ठको स्वर रहेको यो गीतले युवा पुस्तालाई इलाम तान्ने गर्छ । गीतले इलामे माया, अचार र सिलामको व्याख्या गरेको छ । साथै, इलाम घुम्न अनुरोध गरिएको छ । दीपेन दुलालको शब्द रहेको यस गीतमा उज्ज्वल लिम्बूको संगीत छ ।

११. इलाम राम्रो सलल
प्राज्ञ कोमल निरौलाको शब्द–संगीतमा रहेको यो गीत उनकै छोरी झुमा निरौलाले गाएका छन् । गीतले इलामको प्राकृतिक, पर्यटकीय र पुरातात्त्विक सुन्दरताबारे बखान गरेको छ ।

१२. बिर्सियौँ क्यारे
जगदीश समालको स्वर रहेको यो गीतले मायालुलाई इलाम घुम्न बोलाएको छ । गीतले दसैँ छेका इलामको मौसम राम्रो हुने र घुम्न उपयुक्त हुने भनेको छ । गीतमा माधव गुरुङको शब्द र समालको संगीत रहेको छ ।

१३. इलाम राम्रो चियाबारी
वसन्त थाम्सुहाङको शब्द, पारस मुकारुङको संगीत र भूपेन्द्र राईको स्वर रहेको यो गीत पनि लोकप्रिय छ । गीतमा इलाम र भोजपुरको साइनो जोडिएको छ । इलामको चियाबारी र भोजपुरको ट्याम्केमैयुमको वर्णन छ ।

१४. अन्तुबाट झुल्क्यो घाम
बालकेशर तामाङको शब्द, अशोक लोहोरुङको संगीत र मिलन नेवारको स्वर रहेको यो गीतले पनि इलाम चिनाएको छ । गीतमा श्रीअन्तु, इलाम बजार, सन्दकपुर, थामडाँडा लगायतको ठाउँ र रेड पान्डाको व्याख्या गरिएको छ ।

१५. आँगनको फूल
मिलन नेवारकै स्वर रहेको यो गीत पनि चर्चित छ । गीत इलाममा जन्मे–हुर्केर परदेशिएकाहरूको लागि बनाइएको हो । यसले पनि इलामकै वर्णन गरेको छ ।

१६. इलाम हाम्रो शान
यो गीत अहिलेका युवा पुस्तामाझ लोकप्रिय छ । मुकेश राईले लेखेको गीतमा मन थुलुङले संगीत भरेका छन् । सुनिता थेगिम र थुलुङले गाएको गीतमा इलामे माटोको चर्चा छ ।

१७. घुम्नलाई जाऊँ इलाम
टीका थेगिमको शब्द, उत्तमजंग लिम्बूको संगीत र अनु चौधरीको स्वर रहेको यो गीत पनि लोकप्रिय छ । गीतले इलामको सुन्दरता बयान गर्दै इलाम घुम्न आह्वान गरेको छ ।

१८. पहाडकी रानी
यो गीत मेल र फिमेल दुवै भर्सनमा छ । मेलमा प्रवीण श्रेष्ठ र फिमेलमा मेलिना राईको स्वर छ । प्रवीण श्रेष्ठको शब्द रहेको उक्त गीतमा डेनी निरौलाको संगीत छ । गीतले इलामको भालु ढुङ्गा, गजुरमुखी लगायतको बखान गरेको छ ।

१९. जाऊँ घुम्न इलामतिर
मेलिना राईकै स्वर रहेको यो गीतले पनि इलामकै सुन्दरता बखान गरेको छ । साथै गीतमा लोपोन्मुख लेप्चा जातिको पनि चर्चा छ । गीत अनुजा लेप्चाले लेखेका हुन् भने रमेश सेन्चुरीको संगीत रहेको छ ।

२०. झुल्क्यो घाम
अहिलेका युवा पुस्ताले अत्यन्तै मन पराएको गीत हो, यो । गीतमा होमनाथ न्यौपानेको शब्द र भूगोल दहालको स्वर रहेको छ । गीतले अन्तुबाट घाम झुल्किने र घामसँगै इलामेलीहरू ब्युँझिने व्याख्या गरेको छ ।

२१. घुम्न जाउँला कन्याम
यो गीतमा रचना रिमाल र सुशील भट्टराईको स्वर छ । प्रेम चम्लागाईँले लेखेको उक्त गीतमा विनोद गहतराजले संगीत भरेका छन् । गीतले इलामको कन्याम घुम्न प्रेरित गर्छ ।

२२. पूर्वमा राम्रो इलाम
यसमा पनि रचना रिमालकै स्वर रहेको छ । साथै, केशव राईले उनलाई साथ दिएका छन् । गीतमा सन्देश तामाङको शब्द र दुर्गा साउदको संगीत रहेको छ ।

२३. कार्तिके मेला
राजेशपायल राई र सुनिता थेगिमको स्वर रहेको यो गीत निकै चर्चित छ । गीतमा हरिकृष्ण खनालको शब्द र डिआर अटुको संगीत रहेको छ । गीतले गजुरमुखीमा लाग्ने कात्तिके मेलाको वर्णन गरेको छ ।

२४. पानी मीठो इलाम बजारको
सञ्जीवनीको स्वर रहेको यो अति लोकप्रिय गीत हो । निलम आङबुहाङको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतले इलामको हावापानीको व्याख्या गरेको छ । साथै, मायाको मिठास कुरा पनि गरिएको छ ।

२५. चियाबारीमा माया मोहनी
उमाकान्त गुरुङको शब्द, छोक गुरुङको सङ्गीत र कुबेर राईको स्वर रहेको यो गीत निकै मार्मिक छ । गीतले इलाम घुम्न प्रेरित गर्छ ।

२६. इलामैको डाँडा पाखा
कुबेर राईकै स्वर रहेको यो पुरानो गीत हो । गीतले इलाम बजार, बिहीबारे हाट र माईखोलालगायतको व्याख्या गरेको छ ।

२७. इलामको शान माई भ्याली
नेपालको चर्चित फुटबल प्रतियोगितामध्ये माई भ्याली गोल्ड कप एक हो । यो गीत यसै गोल्ड कपमा आधारित छ । गीतले खेलाडी र दर्शकलाई उत्साहित बनाउँछ । वसन्त थाम्सुहाङको शब्द र पारस मुकारुङको सङ्गीत रहको छ । त्यस्तै भीषण मुकारुङ, सरला राई, मेलिना राई, सागर संसार राई, निश्चल राई र राजेश पुमा राईको स्वर रहेको छ ।

२८. चियाबारीको काखैमा इलाम
इन्द्र गुरुङले गाएको यो गीतले इलामका सुन्दर ठाउँहरूको बखान गरेको छ । साथै, गीतले इलाम घुम्न आग्रह गरेको छ ।

२९. इलामको डाँडा पाखा
तुलसी बस्नेतको शब्द, मीरा रानाको सङ्गीत र रोशन गुरुङको स्वर रहेको यो गीत विशेषगरी परदेशिएकाहरूको लागि बनाइएको हो । इलाममा जन्मेर परदेशिन खोज्नेहरूलाई इलामै बस्न गीतले आग्रह गरेको छ ।

३०. हाँसिरहूँ बोलिरहूँ लाग्यो
यो गीतमा महेन्द्र लिङदमको शब्द, निश्चल आचार्यको सङ्गीत र सत्यकला राईको स्वरमा रहेको छ । सत्यकलासँगै महेन्द्र लिङदम र निश्चल आचार्यको पनि स्वर छ । गीतमा इलाम बजार र माया पिरतीको कुरा गरिएको छ ।

३१. क्या राम्रो चियाबारी
पूर्वेली लोकभाकामै रहेको गीत इन्द्र गुरुङ र रूपा गुरुङले गाएका छन् । प्रदेश जाने वा लाहुरेहरू छुट्टीमा आउँदा गाउँघरमा नाच्दै गाइने यो गीत निक्कै लोकप्रिय छ ।

३२. माईजोगमाई हाम्रो शान
यो गीत माईजोगमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितबहादुर राईले रचेका हुन् । गीतमा माईजोगमाई गाउँपालिका परिधि समेटिएको छ । गीतमा इन्द्र गुरुङ, सञ्जय तुम्रोक, सुनिता थेगिम र रूपा गुरुङको स्वर छ । अशोक लोहोरुङको सङ्गीत रहेको गीतले जातजातिको कला संस्कृति र पर्यटकीय स्थानहरूको वर्णन गरेको छ ।

३३. सूर्योदय नगर गान
इलामको सूर्योदय नगरपालिकाले पाँचौँ नगर सभाबाट पारित यो गीत इलामेली गीत मात्र नभएर नगरगान पनि हो । गीतमा नगरपालिका भित्रका सबै क्षेत्रको व्याख्या छ । गीतले सूर्योदय नगरपालिका घुम्न प्रेरित गराउँछ ।

३४. मेरो गाउँ चुलाचुली
इलामको चुलाचुलीलाई इलामले नदेखेको झापाले हेपेको ठाउँ भन्ने गरिन्थ्यो । यो, ठाउँ इलामका अन्य ठाउँभन्दा भिन्न छ । गतीले चुलाचुलीको बखान गरेको छ । गीतमा दीपक राईको शब्द, महेन्द्र राईको सङ्गीत र विजय साङपाङको स्वर रहेको छ ।

३५. ढाप पोखरीले खुलेको छ
सन्तोषभक्त राजलवटले लेखेको यो गीतमा बलराम समालको स्वर र सङ्गीत रहेको छ । यसले जमुनामा रहेको ढाप पोखरीसँगै सन्दकपुर, भालुढुंगा, पानीटार लगायतका पर्यटकीय गन्तव्यहरूको वर्णन गरेको छ ।

३६. माईपोखरी
सन्तोषभक्त राजवलटकै शब्द रहेको यो गीतमा पनि बलराम समालकै सङ्गीत र भूपेन्द्र राईको स्वर छ । गीतले माइपोखरीलगायत पर्यटकीय क्षेत्रलाई केन्द्रित गरी माया पिरतीबारे व्याख्या गरेको छ ।

३७. सुकिलुम्बा एयरपोर्टमै
यो गीत पनि सन्तोषभक्त राजवलटकै हो । गीतमा झुमा निरौलाको स्वर र डेनी निरौलाको सङ्गीत रहेको छ । गीतले इलामको एकमात्र एयरपोर्ट ‘सुकिलुम्बा’को वर्णन गरेको छ ।

३८. निष्ठुरीले छाडेर
पूर्वेली लोक भाकामा रहेको यो पुरानो गीत हो । उषा किरण अधिकारी र विनोद गहतराजको स्वर रहेको यस गीतमा शिशिर काफ्लेको शब्द–सङ्गीत रहेको छ । वियोगान्त र लभस्टोरीलाई समेट्ने गीतले इलामको गाथा बोकेको छ ।

३९. सिरिरि हावाले उडाई लगेछ
सिरिरि हावाले उडाई लगेछ पछ्यौरी तिम्रो चियाको बोटैमा, मेरो मन चोरी लग्यो घुम्न जाँदा इलामै बजारमा बोलको यो गीतलाई द–ब्रोजले प्रस्तुत गरेका छन् । यसले पनि इलामको गुणगान गरेको छ ।

४०. यो हाम्रो माङमालुङ
राजेश पायल राईको स्वर रहेको यो गीत निकै मार्मिक छ । यसमा बटुवाको कथा छ । शरण छिनामको सङ्गीत रहको गीतले इलामको माङसेबुङ गाउँपालिकास्थित माङमालुङलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्नुपर्ने सन्देश दिएको छ । माङमालुङ पर्यटन महोत्सवलाई सफल बनाउन सुदीप राईले रचेको यो गीत लोकप्रिय छ ।

४१. घुम्न आउनु हाम्रो इलाम
रुपन राईको शब्द र बलराम समालको सङ्गीत रहेको यो गीतले इलाम घुम्न आउन अनुरोध गरेको छ । गीतमा संगीतकार समालसँगै सपनी राईको स्वर रहेको छ ।

४२. माईखोला दोभान
बलराम समाल र सपनी राईकै स्वर रहेको यस गीतमा शब्द र सङ्गीत पनि समालकै छ । लोक भाकामा रहेको गीतले इलामको पर्यटकीय क्षेत्रको वर्णन गरेको छ ।

४३. घुमाउन लैजाउँकी पूर्वको कन्याम
विष्णुमाया मगरको शब्द रहेको यो गीतले कन्यामको व्याख्या गरेको छ । गीतमा सपनी राईसँगै इन्द्र गुरुङको स्वर रहेको छ ।

४४. इलाम बजार सानो गाउँ
दार्जिलिङका गायक दीपेश सुब्बाको शब्द, सङ्गीत र स्वरमा सजिएको यो गीतले इलामको विभिन्न ठाउँको व्याख्या गरेको छ । यस गीतले पनि इलाम घुम्न प्रेरित गर्छ ।

४५. इलामको चियाबारी बुट्टामा
यो गीत सुन्ने र नाच्ने उत्तिकै छन् । प्रेम चौलागाईँको शब्द, राजनराज सिवाकोटीको सङ्गीत र मिलन नेवारको स्वर छ । मिलनलाई रमेश प्रसाईँले साथ दिएका छन् । इलामको चियाबारी, लारुम्बा लगायतका ठाउँको व्याख्या गरिएको छ ।

४६. इलाममा नपुगी मीठो चिया भेटिन्न
यो गीतले इलामको चियाको बखान गरेको छ । गीतमा रामबाबु सुवेदीको शब्द, रामेश श्रेष्ठ र रत्न शोभा महर्जनको स्वर रहेको छ । गीतले इलामको चियासामु अरू चिया फिक्का बताएको छ । गीतमा रामेशकै सङ्गीत छ ।

४७. इलाम सम्झे
यो गीत शाखा अधिकृत अशोक बान्तवा राईले लेखेका हुन् । उनी, इलाममै जन्मेका हुन् । तत्कालीन इलामका ४८ वटै गा.वि.सा घुमेपछि उनले यो गीत लेखेका हुन् । गीतमा राजेश चाम्लिङको स्वर र सुमन दियालीको सङ्गीत रहेको छ । गीतमा इलामको चर्चा छ ।

४८. मुटुभरि माया साक्षी भेट्न आउनु
राजेश चाम्लिङको स्वर रहेको यो गीतमा शब्द–सङ्गीत पनि उनकै छ । यो गीतले मायालुसँग इलाम घुम्न आउन निम्तो दिन्छ ।

४९. इलामैको पानीटार
यो गीत इलाम देउमाईस्थित पानीटार केन्द्रित छ । अवि योङहाङको शब्द, मीना ताम्लिङको सङ्गीत र गोमा योङहाङको स्वर रहेको गीतले पानीटारसँगै इलामका विभिन्न ठाउँको वर्णन गरेको छ ।

५०. इभाङैको डाँडामा
यो गीतमा जनम खम्बु र विमला राईको स्वर रहेको छ । गीतले इलामको माईबगर, देउमाई किनारा, माङमालुङ र इलामको वर्णन गरेको छ । राज चाम्लिङको सङ्गीत रहेको गीतमा जीवनका भोगाइ समेटिएको छ ।

५१. इलामैको गावैं रमाइलो
गणेश पराजुलीको शब्द–संगीतमा र यशोदा पराजुलीको स्वरमा रहेको यो गीतले गाउँहरूको वर्णन गरेको छ । साथै इलामको रमाइलो परिवेश पनि समेटिएको छ ।

५२. इलामे मायाले
यो, गीतलाई अहिलेको पुस्ताले एकदमै रुचाएको छ । अर्जुन सिगु इलामेलीको शब्द रहेको यो गीतमा विक्रम थापाको सङ्गीत र स्वर छ । गीतले इलामको प्राकृतिक सुन्दरताको वर्णन गरेको छ ।

५३. देउमाईको दोभान
यो पुरानो लोकदोहोरी हो । युवराज पोर्तेल र मधुमालतीको स्वर रहेको गीतमा इलामको भाव छ । गीतमा रुक्मिना पोख्रेलको शब्द–सङ्गीत रहेको छ । गीतले देउमाई दोभान र इलामको वर्णन गरेको छ ।

५४. इलाम हाम्रो चियाबारी
पूर्व प्रधानमन्त्री झलनाथ खनालको परिकल्पना रहेको यो गीतमा इलामको प्रकृति र विकास समेटिएको छ । मिलन तिम्सिनाको र यम बरालको स्वर रहेको गीतको उद्देश्य पर्यटक भित्र्याउने हो ।

५५. इलाम बजार घुमौँला
यो गीतमा अनिल बिरानीको शब्द, कृष्णप्रसाद गौतमको सङ्गीत र अनिल बिरानीका साथै माण्डवी त्रिपाठीको स्वर रहेको छ । गीतले इलाम चिनाउने प्रयास गरेको छ ।

५६. इलाम बजार आउनु है
यो लोक गीतले इलाम घुम्न आउन निम्तो दिन्छ । यसले पनि इलामकै वर्णन गरेको छ । देवी घर्ती मगर र टंकमणि भट्टराईको स्वर रहेका गीतमा भट्टराईकै शब्द–सङ्गीत रहेको छ ।

५७. इलाम घुम्न जाँदा
चूडामणि पौडेलको शब्द–सङ्गीत र उदास शंकरको स्वर रहेको यो अर्को इलामेली गीत हो । यसमा पनि इलामको वर्णनसँगै माया पिरतीको प्रसङ्ग उठाइएको छ ।

५८. इलाम बजार, माया नमार
योगेन राईको शब्द र शान्तिराम राईको सङ्गीत रहेको यो पुरानो इलामेली गीत हो । राजेश पायल राई र पार्वती राईको स्वर रहेको गीत पूर्वेली लोक भाकामा छ । यसले इलामको वर्णन गरेको छ ।

५९. चियाबारीको छेउछेउमा
देवी गौतमको शब्द–सङ्गीत रहेको यो पूर्वेली लोक गीतले पनि इलामकै वर्णन गरेको छ । गीतमा देवी गौतम, उषा किरण अधिकारी र कोपिला गौतमको स्वर रहेको छ । गीतमा इलामको गजुरमुखीमा लाग्ने कात्तिके मेलाको बयान छ ।

६०. माथि है पर्यो देउराली डाँडा
देवी गौतमको शब्द–संगीतमा रहेको इलामको वर्णन गर्ने यो अर्को गीत हो । गीतमा गौतमसँगै उषा किरण अधिकारीको स्वर रहेको छ । यो गीतले इलामको समाज र किसानको व्याख्या गरेको छ ।

६१. घुम्न आउनु देउमाई इलाम
यो, गीत देउमाई नगरको पर्यटन विकासका लागि बनाइएको हो । यो गीतले देउमाई इलाम घुम्ने निम्तो दिएको छ । गीतमा विमल गौतमको शब्द–सङ्गीत रहेको छ ।

६२. स्वर्गसरि इलाम
यो गीतमा ‘स्वर्ग भन्ने ठाउँ कतै छ भने त्यो इलाम हो’ भन्ने बखान गरिएको छ । गौतम डंगोल ‘सन्देश’को शब्द रहेको यो गीतलाई झुमा निरौला र भीषण निरौलाले गाएका हुन् । सङ्गीत पनि झुमा र भीषणले नै गरेका छन् ।

६३. इलाम फिक्कल
मायालु र कन्यामको चियाबारीको गुणगान गर्ने यो गीतले युवा पुस्ताको मन जितेको छ । गीतमा मुस्कानमोहन तिम्सिनाको शब्द, शान्तिराम राईको सङ्गीत र सचिन राईको स्वर रहेको छ ।

६४. सरर हावा चल्या
पूर्वेली लोकलयमा रहेको यो गीतले इलामको बखानसँगै सामाजिक जनजीवनको वर्णन गरेको छ । गीतमा रोवार्ड सिप्थुङखा राईको शब्द, सुनिल राईको सङ्गीत र राज लिम्बूको स्वर रहेको छ ।

६५. माङ्सेबुङको डाँडामा
इलाम चिनाउने यो अर्को गीत हो । यसमा लालक्षितिजको शब्द रहेको छ भने ब्रविन शेर्माको सङ्गीत छ । गीत शेर्माले नै गाएका हुन् । गीतले माङ्सेबुङको किरात धर्म र लारुम्बाको महत्त्वलाई उजागर गरेको छ ।

६६. सुतेकालाई उठाउने फाल्गुनन्द
यो गीतमा १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको बखान गरिएको छ । गीतले लिङदेनले दिएका ज्ञानलाई आत्मसाथ गर्ने प्रेरित गर्छ । गीतमा लाल क्षितिज लिम्बूको शब्द–संगीत रहेको छ । गीत श्रेयासी चेम्जोङ र ब्रविन शेर्माले गाएका छन् ।

६७. लाम्दाक सेवारो
यो गीत लिम्बू भाषाको हो । गीतले विशेष गरी माङ्सेबुङको लारुम्बामा आउने पर्यटक तथा भक्तजनलाई स्वागत गर्छ । शब्द–संगीत डिल्ली शेर्माको रहेको छ भने स्वर ब्रविन शेर्माको छ ।

६८. इलाम बजार घुम्न आउनु
इलाम घुम्न निम्तो दिने यो अर्को गीत हो । पूर्वेली लोक भाकामा रहेको गीत नयाँ पुस्तामाझ निक्कै चर्चित छ । यो गीतमा वाइवाको शब्द र जिविहाङ राईको संगीत रहेको छ । जिविहाङसँगै अमृता सम्बाहाङफेले गाएका छन् ।

६९. पुवाखोला, माईखोला
रोशन हाङखिमको शब्द–संगीत रहेको यो गीत सुनिता थेगिम र रोशन हाङखिमले गाएका छन् । गीतले माया पिरतीको कुरासँगै इलाम घुम्न प्रेरित गर्छ ।

७०. इलाममै घुम्न जाऊँ डाँडापारि
यो पनि इलाममा घुम्न प्रेरित गर्ने अर्को गीत हो । यसले इलामको विभिन्न पाटोको वर्णन गरेको छ । रमेश राईले गाएको यो गीतमा सुरेन्द्र भट्टराईले संगीत भरेका छन् ।

७१. इलाम चमैता हेर्नलाई जाऊँ आजै
२०५९ सालतिर रेकर्ड भएको यो गीतमा इलामको पर्यटन प्रवर्द्धन गर्ने प्रयास गरिएको छ । प्रकाश बस्नेतको शब्द–संगीत रहेको गीतमा झुमा निरौलाको स्वर छ ।

७२. आमचोकमाथि रवि बजार
राजेश पायल राई र सुनिता थेगिमको स्वर यो अर्को इलामेली गीत हो । हर्कबहादुर योङहाङको शब्द र राजन मगरको संगीत रहेको गीत पूर्वेली भाकामा छ । गीतले इलामको एकतप्पा, आमचोक र पश्चिम इलामको वर्णन गरेको छ ।

७३. इलामै गाउँ एकतप्पा
हर्कबहादुर योङहाङकै शब्दमा रहेको यो अर्को इलामेली गीत हो । पुष्कर सुनुवारको संगीत रहेको उक्त गीत विनिषा पौडेल र नितिज गजुरेलले गाएका छन् । यसमा पनि इलामको वर्णन गरिएको छ ।

७४. स्वर्गै लाग्यो तिम्रो इलाम
इलामलाई मायालुसँग तुलना गरिएको यो गीत प्रकाश थुलुङले लेखेका हुन् । गीतमा मन थुलुङको संगीत र अपसन लिम्बूको स्वर रहेको छ । यसमा इलामका रमाइला गन्तव्यहरूको चर्चा गरिएको छ ।

७५. घुम्न आको इलाम सहर
यो चाहिँ इलाम घुम्न गएकाहरूको प्रतिनिधित्व गरेर लेखिएको गीत हो । विवश माबोहाङको शब्द, राजु आङदेम्बेको संगीत रहेको उक्त गीतमा चोत्लुङहाङ केदेम लिम्बू र थोक्फेला लिम्बूको स्वर रहेको छ ।

७६. इलाम हो मेरो गाउँ
यो इलामेली गीत स्वस्तिका लिम्बू र राजशुक्र लिम्बूले गाएका छन् । गीतको संगीत पनि राजशुक्रले नै भरेका छन् । यसमा पनि इलामकै वर्णन छ ।

७७. माथि है पर्यो लुम्दे सिरान
खोल्से जेठाको शब्द, सुच्चा राईको संगीत रहेको यो गीतमा गंगा फियाक र मदन लिम्बूको स्वर रहेको छ । यसले इलामको फाकफोकथुम लगायतका स्थानहरूको वर्णन गरेको छ ।

७८. इलामैको माईपोखरी
माईपोखरीको वर्णन गर्ने यो अर्को गीत हो । गीत माण्डवी त्रिपाठी र टेकवीर योङहाङ लिम्बूले गाएका छन् । गीतमा टेकवीरकै शब्द–संगीत रहेको छ ।

७९. इलाम छाडी काठमाडौं सारुँला
यो पनि इलामेली गीत नै हो । पूर्वेली भाकामा रहेको यो गीतमा इन्द्र योङहाङको शब्द–संगीत रहेको छ । स्वर पनि उनकै रहेको छ । गीतले माया पिरतीसँगै सामाजिक जनजीवनको वर्णन गरेको छ ।

८०. बेली चमेली चिया इलामको
यो, पुरानो इलामेली लोकदोहोरी हो । गीतमा कुबेर राई, पूजन प्रधान, मनु राई र गोमा प्रधानको स्वर रहेको छ । मुनाकै शब्द–संगीत रहेको यो गीतले इलामको चियाको विषय उठान गरेको छ ।

८१. सुन्तला जुनार धनकुटाको, चिया इलामको
अरू जिल्लासँग साइनो गाँसिएको यो अर्को इलामेली गीत हो । यस गीतमा पनि कुबेर राई, पूजन प्रधान, मनु राई र गोमा प्रधानको स्वर रहेको छ । यसमा पूजन प्रधानको शब्द–संगीत रहेको छ ।

(इलामबारे लेखिएका–गाइएका गीतहरूको खोजी तथा सङ्कलन जारी रहनेछ । कुनै गीत छुटेमा समेट्दै जानेछौँ । छुटेका गीतहरू भए उपलब्ध गराउनु हुनेछ भन्ने अपेक्षा गरिएको छ ।)

प्रतिक्रिया दिनुहोस्