काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको ध्यान पनि नयाँ जहाज खरिद गरेर नेपाल वायुसेवा निगमलाई टाट पल्टाउनेतर्फ उन्मुख देखिन्छ । निगमको अवस्था सुधार गर्न पर्यटनमन्त्री सुदन किरातीले २०७९ चैतमा क्षेत्रीको संयोजकत्वमा एउटा समिति गठन गरेको थियो । उक्त समितिले हालै मन्त्रालयमा बुझाएको प्रतिवेदनको निष्कर्ष भनेकै नयाँ जहाज खरिद गर्नुपर्ने भन्ने देखिन्छ ।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी जहाज किन्न लिएको ऋण तिर्न नसकेर कालोसूचीमा परेको निगमलाई क्षेत्रीको समितिले सोल्टी होटलको निगमको १ करोड ३ लाख ३३ हजार ६९९ कित्ता शेयर बेचेर भए पनि नयाँ जहाज किन्नपर्ने हाँस्यास्पद सुझाव दिएका छन् ।
प्रतिवेदनमा भनिएको छ– ‘निगमको सोल्टी होटल लिमिटेडको शेयर कित्ता स्वामित्व संख्या १ करोड ३ लाख ३३ हजार ६ सय ९९ छ, भदौ १९ मा उक्त शेयरको बजार मूल्य प्रतिकित्ता ४ सय ४३ रुपैयाँ छ । यस आधारमा कुल बजार मूल्य ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ पुगेकाले उक्त शेयर बिक्री गरी प्राप्त हुने रकम नयाँ जहाज खरिद गर्न उपयोग गर्न सकिने देखिन्छ’, भनिएको छ ।
पूर्वगभर्नर र राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भएका क्षेत्रीले यस्तो ‘तोरीलाउरे’ प्रतिवेदन देलान् भन्ने कसैले सोचेका थिएनन् । उनको प्रतिवेदन हेर्दा निगम सुधारका लागि चाल्नुपर्ने कुरा भन्दा निगमलाई धरासायी बनाउने खालको सुझाव समेटिएको छ ।
पर्यटनमन्त्री किरातीले सार्वजनिकरुपमा नयाँ विमान खरिद गर्नुपर्ने कुरा पटक–पटक सार्वजनिकरुपमा दोहो¥याइरहेका छन् । जहाज खरिदको विरोध गर्नेहरुलाई मन्त्री किरातीले ‘देशद्रोही’को आरोप लगाउने गरेका छन् । सार्वजनिकरुपमा मन्त्रीको बोली र क्षेत्री समितिको नयाँ जहाज किन्ने सुझाव हेर्दा उक्त प्रतिवेदनमा क्षेत्रीले हस्ताक्षर मात्र गरेका हुन्, प्रतिवेदन अरु कसैले तयार गरेकोजस्तो देखिन्छ । किनभने, क्षेत्री समितिमा सदस्यहरुको हैसियत दलाल र बिचौलिया भूमिकामा रहेका छन् । ती दलालहरुले सेटिङमा कुनै व्यापारीलाई सोल्टीको शेयर बेच्न जहाज किन्ने बहाना बनाएको हुनसक्ने निगम कर्मचारीहरुले दृष्टिलाई बताए ।
निगमको खास समस्या जहाज होइन, व्यवस्थापन हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी भ्रष्ट र कमिशनखोर हुन् । स्त्रीलम्पट अधिकारीले ३० वर्ष निगममा जागिर खाँदा के–के गरे भन्ने कुरा निगमका कर्मचारीहरुले बिर्सिएका छैनन् । त्यस्ता भ्रष्ट व्यक्तिलाई तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले आर्थिक प्रलोभनमा परेर कार्यकारी अध्यक्ष नियुक्त गर्नु नै निगमको लागि अभिशाप बन्यो ।
त्यसमाथि दुई वर्ष अगाडि तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले उनलाई मन्त्रिपरिषद्बाट बर्खास्त गरिसकेका छन् । सर्वोच्च अदालतको टेकोमा अडिएका अधिकारीले जहाजको इन्जिन भाडा र मर्मतमा सुरेशलाल श्रेष्ठ (इजरायली कम्पनीको नेपाली एजेन्ट)सँग मिलेर करोडौं कमिशन खाएका छन् भने निगमको न्यारोबडी र वाइडबडी जहाज पटक–पटक बिग्रिएर थन्किँदा निगमलाई अर्बौंको नोक्सान भएको छ । भएका जहाजलाई समयमै मर्मतसम्भार गरेर नियमित उडान गर्नुपर्नेमा जहाज थन्क्याएर अर्बौं रुपैयाँ नोक्सान गर्ने कार्यकारी अध्यक्ष अधिकारीलाई हटाउनुपर्ने कुरामा क्षेत्रीले आँखा चिम्लिएका छन् । क्षेत्री सोझा र इमान्दार भए पनि उनका छट्टु सदस्यहरुले अधिकारीबाट मोटो रकम लिएर भ्रष्ट अधिकारीलाई संरक्षण गरेका छन् ।
क्षेत्रीले आफ्नो प्रतिवेदनमा निगमको ऋण तिर्न सहुलियत दरको ऋण प्राप्त गर्ने उपायको खोजी गर्नुपर्ने सुझाव पनि दिएका छन् । उनलाई यो सुझाव अध्यक्ष अधिकारीले दिएका हुन् । केही अन्तर्राष्ट्रिय माफियाहरुले अधिकारीलाई पटक–पटक भेटेर सहुलियत दरमा ऋण दिने प्रस्ताव गरेको निगम कर्मचारीले दृष्टिलाई बताएका छन् ।
निगम डुब्नुको एउटै कारण भ्रष्ट व्यवस्थापन हो । अधिकारीको कार्यकालमा निगमका जहाज कतिपटक बिग्रियो, ती जहाज मर्मत गर्न कति रकम खर्च भयो, आफ्नो इन्जिन थन्क्याएर भाडाको इन्जिन प्रयोग गर्दा निगमलाई कति व्ययभार भयो भन्ने कुरा क्षेत्रीको प्रतिवेदनमा उल्लेख नहुनुले उक्त प्रतिवेदन अधिकारीसँगको सेटिङमा तयारी गरेको अनुमान गरिन्छ । सेटिङमा माहिर अधिकारीले बालुवाटारमा नयाँ जहाज खरिदबाट करोडौं कमिशन दिने प्रलोभन देखाएर पद जोगाइरहेका छन् । निगमसँग भएका जहाजबाट मुनाफा कमाएर नयाँ जहाज थप्नु स्वभाविकै भए पनि निगमसँग भएका जहाज थन्क्याएर नयाँ जहाज किन्ने प्रस्ताव नै शंकास्पद छ ।
निगमको कुल ऋण ४८ अर्ब ३ करोड छ । उक्त ऋण कसरी तिर्ने भन्ने कुरा प्रतिवेदनमा उल्लेख छैन । प्रतिवेदनको हरेक पानामा नयाँ जहाज किन्ने कुरा उल्लेख गरिएबाट क्षेत्री पनि कमिशन एजेन्टकै चक्करमा परे कि भन्ने आशंका छ ।
क्षेत्रीले आफ्नो प्रतिवेदनमा निगमको ऋण तिर्न सहुलियत दरको ऋण प्राप्त गर्ने उपायको खोजी गर्नुपर्ने सुझाव पनि दिएका छन् । उनलाई यो सुझाव अध्यक्ष अधिकारीले दिएका हुन् । केही अन्तर्राष्ट्रिय माफियाहरुले अधिकारीलाई पटक–पटक भेटेर सहुलियत दरमा ऋण दिने प्रस्ताव गरेको निगम कर्मचारीले दृष्टिलाई बताएका छन् ।