Logo
Logo

सुनका मालिक बेपत्ता, विचौलिया र भरिया थुनामा


3k
Shares

काठमाडौं ।राजश्व अनुसन्धान विभागले बरामद गरेको करिब ६१ किलो सुन तस्करीको मुद्दामा जिल्ला अदालत काठमाडौंले आरोपीहरु मध्ये १ जना बाहेक सबैलाई थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले रुकमिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिएर अन्य २५ जनालाई पुर्पक्षका लागि पठाएको हो ।

फाइल तस्बिर

सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले २९ जनामाथि मुद्दा चलाएको थियो । जसमध्ये ३ जना फरार छन् । पक्राउ परेर थुनामा पठाइएका २५ जनामध्ये ७ जना चिनियाँ नागरिक छन् । जिल्ला अदालतले उनीहरु सबैलाई थुनामा पठाउने आदेश गरेको हो ।

अदालतले मूल बिचौलिया, भरिया, कार्गो व्यवसायी सबैलाई थुनामा पठाउने आदेश गरेको हो । तस्करीमा मूल व्यक्ति दाओजिन वाङ, मिस ली र मिस्टर लिनलाई हाङसोङलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । उनीहरु चीनमै रहेको प्रहरीको दाबी छ । साथै, भारततर्फ तस्करीको सुन किन्ने मूलव्यक्ति पनि अझै टुंगिसकेको छैन ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदन अनुसार सात कानुन अन्तगर्तको कसूरमा रहेर मुद्दा चलाउन राय दिइएको थियो । प्रतिवेदनमा भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको थियो । सरकारी वकिल कार्यालयले पनि सोही मुताविक अदालतमा मुद्दा दायर गरेको थियो ।

सुन तस्करी प्रकरणमा नेपाली र चिनियाँ मूलका नागरिकहरू बिचौलियाका रूपमा प्रयोग भएको पाइएको थियो । हङकङबाट सुन नेपाल ल्याउँदा नेपाली र चिनियाँ मूलका नागरिकहरू बिचौलियाका रूपमा प्रयोग भएको पाइएको सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख थियो ।

अभियोगपत्रअनुसार तस्करीमा संलग्न मुख्य व्यक्तिहरू मिस ली र मिस्टर लिन रहे पनि नेपाल सुन ल्याउने चिनियाँ नागरिकहरूले योजनाबद्ध रूपमा चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ, तिब्बतियन मूलका भारतीय नागरिक थुप्तेन छिरिङ, नेपाली नागरिकहरू किशोर बस्नेत, सुमन खरेल, शिव सर्राफ र हर्कराज राईलाई प्रयोग गरेको देखिएको थियो । राजनीतिको उच्च तहमा पहुँच राख्ने दाओजिन वाङ पनि तस्करीमा प्रयोग भएका थिए । उनी फलफूल व्यवसायीका रूपमा लामो समयदेखि नेपालमा बस्दै आएका व्यक्ति हुन् ।

संगठित अपराधमा हङकङदेखि सुन ल्याई भारतसम्म पु¥याउन लगानी, व्यवस्थापन र बिक्रीसमेत गर्न राजेन्द्रकुमार राई, अशोक लामा, टाँसी भन्ने थुप्तिन छिरिङ, हर्कराज राई, रामकुमार भुजेल, दिलीप भुजेल, लिन झेक्लिन, राजनकुमार श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, सन्तोष चन्द, सरोज श्रेष्ठ, कुमार ढकाल, यादव पराजुली, सुदर्शन गौतम, दावा छिरिङ, नरेश तामाङलाई परिचालन तथा व्यवस्था गर्ने गरेको उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्