Logo
Logo

सहरी विकासको सचिव १५ दिनदेखि खाली, पूर्वसचिव श्रेष्ठको अस्वभाविक चलखेल


945
Shares

काठमाडौं । सहरी विकास मन्त्रालयको सचिव पद १५ दिनदेखि रिक्त छ । असोज ११ गते रविन्द्रनाथ श्रेष्ठ अवकाश भएपछि सहरी विकास मन्त्रालयको सचिव रिक्त भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीन भ्रमणबाट फर्किएपछि सहरी विकास मन्त्रालयको सचिव सरुवा गर्ने निर्णय असोज १४ गते गरे पनि मुख्यसचिवले माइन्युट नगर्दै चलखेल भएको छ । सहरी विकास मन्त्रालयको सचिवमा राष्ट्रिय सतर्कता केन्द्रका सुरेश आचार्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका मणिराम गेलाल र विज्ञान तथा प्रविधि मन्त्रालयकी प्रमिलादेवी बज्राचार्य दाबेदार छन् ।

सहरी विकास मन्त्रालयको सचिव सरुवामा शक्तिकेन्द्रमार्फत् भाँजो हाल्ने काम पूर्व सचिव श्रेष्ठले गरेका छन् । अवकाश हुनु २ दिनअघि असोज ९ गते मध्यराती ४० भन्दा बढी डीईहरुको सरुवा गर्ने क्रममा श्रेष्ठले करोडौं असुली गरेको आरोप छ ।

स्रोतका अनुसार अवकाश भएको भोलिपल्ट असोज १२ मा समेत मन्त्रालयमा आएर उनले विभिन्न फाइल ब्याकडेटमा सदर गरेका थिए ।

सहरी विकास मन्त्री सीता गुरुङलाई प्रभावमा पारी उनले भइसकेको सचिव सरुवा रोकेका छन् । र, विज्ञान प्रबिधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यलाई ल्याएर सहरी विकास मन्त्रालय आफ्नै कन्ट्रोलमा चलाउने पक्षमा उनी छन् ।

श्रेष्ठले जाँदाजाँदै ठूलो आर्थिक चलखेल गरी ठूला ठेक्कामा भेरियसन अर्डर सदर गरी लाभ लिएका छन् । श्रेष्ठले करिब ४० करोडको विभिन्न ठेक्काको भीओ गरेको मन्त्रालय स्रोतले बताएको छ ।

पूर्वसचिव श्रेष्ठले प्रमिलालाई सचिवमा ल्याउने र मन्त्रालय चलाउनका लागि सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठलाई पनि साथमा लिएका छन् ।

सचिव श्रेष्ठ र महानिर्देशक सुरेन्द्रमोहनको सेटिङमा १६ करोड भन्दा बढीको डीपीआर बनाउने जिम्मा आफ्ना निकटका कन्सलटेन्सीलाई दिएका छन् । त्यसको कमिसन उठाउन बाँकी भएको र असोजमा मात्र आउने भएकाले पनि सचिव श्रेष्ठ सिनामंगलमा बैठक राखी आफू अनुकूलको सचिव ल्याउने खेलमा लागेका हुन् ।

यसैगरी सचिव श्रेष्ठले सिंहदरबारभित्र संसद भवनको ठेक्का लगायत हेर्ने जिम्मा प्रकीर्ण तुलाधरलाई दिएका छन् । जाने बेलामा मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा आफ्नै निकट बिनु बज्राचार्य कुँवरलाई ल्याएका थिए ।

सचिव श्रेष्ठ सडक विभागको महानिर्देशकदेखि भौतिक पूर्वाधार र सहरी विकासमा सचिव हुँदा ठेक्का सेटिङ गरी अकूत सम्पत्ति आर्जन गरेकोबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रै उजुरी परेको छ । अख्तियारले उनलाई १३ पन्ने पनि भराइसकेको छ । तर, उनको अकूत सम्पत्ति पुष्टि भए पनि मुद्दा दर्ता गर्न भने बिलम्ब गरिरहेको छ ।

केपी ओलीका निजी सचिव राजेश बज्राचार्यले समेत प्रमिलालाई सहरी विकास मन्त्रालयमा लान रविन्द्रलाई साथ दिएका छन् । एक कांग्रेस नेताका अनुसार मन्त्री कांग्रेसका छन्, तर मन्त्रालय बालकोटबाट सञ्चालित छन् । श्रेष्ठलाई बालकोटले नै सडक विभागको महानिर्देशक र भौतिक पूर्वाधार सचिव बनाएको थियो । सचिव नियुक्ति हुनासाथ तत्कालीन प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्दा ओलीले प्रश्न गरेका थिए– ‘सचिव बढुवा हुँदा कसैले पैसा मागे ?’

प्रतिक्रिया दिनुहोस्