Logo
Logo

जन्मोत्सवः थितिमा कि मितिमा ?


4.2k
Shares

फ्रान्सेली क्रान्तिका नायक जिन ज्याक्स रूसो सन् १७५० भन्दा पहिले सामान्य व्यक्ति थिए । उनको जीवनमा अभूतपूर्व एउटा क्षण आयो ।

‘विज्ञान तथा कलाको प्रगतिले नैतिकतालाई शुद्ध पारेको छ वा भ्रष्ट ?’ भन्ने शीर्षकमा निबन्ध प्रतियोगिताको आयोजना भयो । त्यस प्रतियोगितामा भाग लिएका रूसोले तत्कालीन समाज प्रतिकूल विचार दिए ।

विज्ञान र कलाको प्रगतिले सभ्यताको ह्रास, नैतिकताको नाश र चरित्रको पतन भएको दाबी पेश गरे । यस प्रकारको मौलिक विचार दिएका रूसो आज राजनीतिक शास्त्रमा दार्शनिक व्यक्तित्त्वका रूपमा विश्वविद्यालयका विद्यार्थीहरूले पढ्नुपर्छ ।

ठीक त्यस्तै आज नेपाली समाज प्रविधिको उच्चतम प्रयोग गर्नेमा पुगेको छ । नेपाली समाज आफैँमा प्रगतिशील र अग्रगामी छ । यसमा दुईमत छैन । साथसाथै, नेपाली समाज सतही कुरामा सचेत नबनेको स्थिति पनि छ । सत्य, तत्थ्य भन्दा भ्रममा बाँच्न पुगेको घटना पनि हाम्रो सामु छन् ।

नेपाली समाजले अन्धविश्वासी केही प्रथा, परम्परा र आस्थालाई आज प्रयत्न अनुसरण गरिरहेको छ । जस मध्यको एउटा परम्परा हो जन्मोत्सव ।

प्रविधिको प्रगतिले जन्मोत्सवलाई निक्कै महंगो र भड्कीलो बनाउँदै गएको छ । यस लेखमा जन्मदिन के हो ? के होइन ? जन्मदिन मनाउने प्रचलन कसरी सुरू भयो ? थितिमा कि मितिमा ? जस्ता केही सान्दर्भिक सवालमाथि विमर्श गरौंः

जन्मोत्सव के हो ?
सरदर नौं महिना आमाको कोखमा बसेर धर्तीमा पाइला टेकेको दिन नै जन्मदिन हो । जन्मलाई धर्म र कर्मबाट अलग राखेर भन्ने हो भने जीवन प्राप्त गर्ने प्रक्रिया असाध्यै रहस्यमय छ । अनुसन्धानमूलक छ । जीवन असाध्यै प्रिय छ । अमूल्य छ । त्यसैले पनि जन्मोत्सव मानिसका निम्ति अर्थपूर्ण बन्दै गएको मान्न सकिन्छ ।

तर, विश्वमानव जातीले जन्मोत्सवलाई विभिन्न पक्षसँग जोडेर मनाईरहेको पाइन्छ । आफू जन्मेको दिनलाई आधार मानेर वर्षमा एकदिन मनाईने जन्मोत्सव अत्यन्तै महंगो, देखासिखी, भड्किलो बनाउनु पर्ने खास कारण कारण छैन ।

हिन्दु संस्कारमा जन्मदिन
हिन्दुधर्म र परम्पराअनुसार जन्मदिनको बिहान अष्टचिरञ्जीवी (मार्कण्डेय, व्यास, कृपाचार्य, अश्वत्थामा, परशुराम, बलिराजा, हनुमान र विभीषण)को पूजा गरेर मनाउने प्रचलन छ । शास्त्रले यि आठ जनालाई कहिल्यै नमर्ने बताउँछ ।

को हुन् अष्टचिरञ्जीवी ?
मार्कण्डेयः पुराणअनुसार मार्कण्डय मृकण्डु र मनस्विनीका छोरा थिए । उनी जस्तै आपतविपतमा पनि अविचलित थिए । उनले साधना र तपस्याले काललाई पनि जितेका थिए भनिन्छ ।

व्यासः व्यास पराशर र सत्यवतीका पुत्र थिए । व्यास अठारै पुराणका निर्माता हुन् । उनी वेद वेदाङ्गका मर्मज्ञ पनि थिए ।

कृपाचार्यः कृपाचार्य भारद्वाज कुलमा जन्मिएका थिए । कृपाचार्यले महाभारतको युद्धमा कौरवको पक्ष लिएर लडेका थिए । यिनी साहसी, कर्तव्यपरायण र पराक्रमी थिए ।

अश्वत्थामाः अश्वत्थामा अद्वितीय धनुर्विद्याका ज्ञाता द्रोणाचार्यका पुत्र थिए ।

परशुरामः परशुरामलाई विष्णुका दशमध्ये छैटौं अवतार मानिन्छ । यिनी भृगुवंशी ऋषि जमदग्नि र रेणुकाका सन्तान थिए । यिनलाई परम पितृभक्त मानिन्छ ।

बलिराजाः बलि दैत्यका राजा थिए । दानव कुलमा जन्मेर पनि यिनमा सत्यवादी धारणा थियो भन्ने धार्मिक मान्यता छ । यी पुराणप्रसिद्ध दानी दैत्य राजा थिए । तिहारका देउसी र भैलोमा बलिराजको गुणगान गाइन्छ ।

हनुमानः हनुमान प्रसिद्ध कृति रामायणका एक पात्र हुन् । अर्को अर्थमा रामभक्त एक बाँदर हुन् । वायु र अञ्जनिका छोरा थिए । हनुमानलाई बलवान, वीर र शक्तिशाली बाँदरका रूपमा चिनिन्छ ।

विभीषणः रावणका कान्छा भाइ हुन् । यिनी लंका युद्धमा आफ्ना दाजुको विपक्षमा र रामका पक्षमा लागेका थिए । उनलाई सत्यका पक्षमा लागको र धर्मको जित भएको भन्ने सन्दर्भसँग जोडेर हेरिएको पाइन्छ ।

हिन्दु संस्कार अनुसार जन्मदिनमा पूजा गरिने यी अष्टचिरञ्जीवी कुनै न कुनै विशेष गुणले युक्त छन् भन्ने धार्मिक मान्यता छ । जन्मदिनमा उनीहरूको पूजा गरेर आफ्नो जन्मोत्सव मनाउँदा आफूमा पनि उनीहरूको जस्तै दीर्घजीवन, शक्ति, निपुर्णता, सेवाभाव र सिर्जनशीलता आओस् भन्ने कामना गरिन्छ ।

अर्को महत्वपुर्ण कुरा भनेको हिन्दु परम्परामा तिथिका आधारमा जन्मदिन मनाउने आदिम चलन छ । पञ्चाङ्गमा सौर्य, चन्द्र, बृह्रसपत्यमानको वर्णन छ । जन्मदिन चन्द्रमानअनुसार प्रत्येक वर्ष घुमेर आइपुग्छ । चन्द्रमान सौर्यमान जस्तो ठीक ३६५ दिनमा पर्दैन । चन्द्रमानअनुसार ३६० दिनको एक वर्ष हुन्छ ।

यसरी हेर्दा हिन्दु परम्पराअनुसार जन्मदिन मनाउने हो भने पनि ३६० दिनमै जन्मोत्सव मनाउनु पर्नेहुन्छ । चन्द्रमानको गणनाअनुसार जन्मदिन पर्छ । तर, हामी नेपालीहरूले सौर्यमानअनुसार जन्मदिन मनाउँने गरेका छौं ।

शास्त्रले जन्मदिन तिथिमा पर्छ भन्छ । हामीले मितिमा जन्मदिन मनाउँदै आएको छौं । शास्त्रले मितिको आधारमा मनाइने जन्मदिनलाई जन्मदिन नै मान्दैन । अतः जन्म, मृत्यु र चाँडपर्वहरू तिथिकै आधारमा गणना हुन्छन् ।

खासगरी नेपाली समाजकै सन्दर्भमा भन्दा जंगबहादुर राणा युरोप भ्रमण गरेर स्वदेश फर्किसकेपछि भव्य रूपमा जन्मदिन मनाएको र पछि त्यो नै परम्परा बन्न गएको देखिन्छ । राणाकालदेखि राजतन्त्रसम्म आईपुग्दा शासकहरूले मात्रै जन्मदिन मनाउने गरेको पाइन्छ ।

अर्कोतर्फ पात्रोअनुसार तिथि हेरेर बिहान उज्यालो भएपछि अष्टचिरञ्जीवीको पूजा पाठ गरेर जन्मदिन मनाइन्थ्यो । तर, हामी आज भोलि रातको १२ बजेसम्म ह्यापी बर्थ डे भन्दै गीत गाउँछौं । जीवन उज्यालो होस् भनेर मनाईने जन्मदिनमा मैनबत्ति निभाएर उफ्रिन्छौं । अखण्ड दीप प्रज्ज्वलन गर्ने चलनलाई धोती हानिरहेका छौं ।

दियो निभ्नुलाई अशुभ पनि भन्ने, अनि प्रदीप्त दियो निभाएर शुभ जन्मदिन पनि मनाउने ? यस्तो अन्तरविरोधको सिकार समाज कहिलेसम्म बन्ने ? यसरी हेर्दा हामीले पराया संस्कृतिको प्रसय र प्रचार हुनेगरी जन्मदिन मनाई रहेका छौं । जन्मदिनकै लागि बजारमा रहेको अस्वस्थ केकदेखि अन्य सामानहरू आयात गरिन्छ । यो अर्को पाटो हो ।

जन्मदिनको सुरूवात कहिले भयो ?
हिन्दु संस्कारमा जन्मदिन कथा, किम्वदन्तिका पात्रहरूको नाममा भनौं या उनीहरूकै जस्तो अमरत्वको नाममा जन्मदिन मनाउने प्रचलन चलेको देखिन्छ ।

हिन्दुहरूबीच आफैमा पनि जन्मोत्सव मितिका आधारमा मनाउने कि तिथिका ? यस सवालमा ठूलो मतभेद छ । पूर्वीय सभ्यताको पाटोबाट जन्मदिनबारे माथि केही चर्चा गरियो । अब पश्चिमा संस्कृतिलाई हेरौं ।

१२औं शताब्दीमा इजिप्टको रोमनबाट जन्मदिन मनाउने संस्कृति सुरू भएको मानिन्छ । त्यो समय पुरूषलाई मात्रै जन्मोत्सव मनाउने अनुमति थियो । महिलाले जन्मदिन मनाउन पाउँदैन थिए । त्यस्तै ख्रीष्टियन धर्मावलम्बिले क्रिसमस् निकै भव्य रूपमा मनाउने गर्छन् । के त्यो ठीक छ ?

जन्मदिनबारे बाइबल
विश्वका ख्रीष्टियनहरूले आज जसरी जन्मदिन मनाइरहेका छन्, जुन कुरा बाइबलले नै खण्डर गरेको देखिन्छ । बच्चा जन्मनु एकदमै खुसीको क्षण भएपनि परमेश्वरका सेवकहरूले जन्मदिन मनाए भनेर बाइबलमा कतै उल्लेख गरिएको छैन ।

बाइबलमा दुईवटा जन्मदिनबारे उल्लेख गरिएको छ । ती जन्मदिन मिश्रका फिरऊन र हेरोद एन्तिपसको हो । दुवै अवसरमा नराम्रो घटना भएको भनिन्छ । विशेषगरी हेरोद एन्तिपसको जन्मदिनमा यूहन्नाको टाउको काटिएको थियो भनिन्छ । द वल्ड बुक इन्साइक्लोपीडिया (अङ्ग्रेजी) काअनुसार प्रारम्भिक ख्रीष्टियनहरूले जन्मदिन मनाउनु गैरख्रीष्टियन चलन ठान्थे ।

उदाहरणका लागि हरेक मानिस जन्मिदा एउटा आत्मा आउँछ र त्यसले जिन्दगीभर सुरक्षा प्रदान गर्छ भनी प्राचीन समयका ग्रीकहरू विश्वास गर्थे । यसरी आएको आत्माको त्यस देवसित एउटा रहस्यमय सम्बन्ध हुन्थ्यो जसको जन्मदिनमा उक्त व्यक्ति जन्मेको हुन्थ्यो भनी द लोर अफ बर्थडेज (अङ्ग्रेजी) शीर्षकको पुस्तक बताउँछ ।

जन्मदिन मनाउने चलनको सुरूवात गैरख्रीष्टियन धर्म अनि तन्त्रमन्त्रसित सम्बन्धित भएको भन्दै प्राचिन परमेश्वरका सेवकहरूले जन्मदिन मनाउन इन्कार गरेको भनिन्छ ।

मार्क्सवादी दृष्टिकोणमा जन्मदिन
ठोस् परिस्थितिको ठोस् विश्लेषण माक्र्सवादको चुरो कुरा हो । भौतिकवादीहरू भाग्यवाद, इश्वर र धर्मसँग नभएर पदार्थसँग विश्वास गर्दछन् ।

माक्र्स जन्मेको दिन कति मानिस खुशी या दुःखी के भए ? त्यो इतिहासकै गर्भमा छ । तर, माक्र्सले संसार छोडेको दिन विश्वका अर्बौ मानिसहरू दुःखीत बनेका थिए । साथ साथै उक्तिकै संख्यामा खुःशी पनि ।

माक्र्सवादलाई नवीन रूपमा विकास गर्ने लेनिन्, रोजा र माओ हुन् । माओले ‘पाटीर्मा पूँजीवादी विचारहरूको विरोध गर’ भन्ने लेखमा (माओका सङ्कलित रचनाहरू, भाग ५, पृ.१११) आठ वटा नियम उल्लेख गरेका थिए । उक्त लेखलाई चिनियाँ कम्युनिष्ट पार्टीको सातौं केन्द्रीय समितिको दोस्रो विस्तारित बैठकले पारित गरेको थियो ।

जसमध्य पहिलो नम्बरमा जन्मोत्सवमाथि प्रतिबन्ध थियो । जन्मदिन मनाउने प्रचलन नै सामान्तवादी हुँदै पूँजीवादीहरूले अंगिकार गरेको विभेदकारी परम्परा हो । यो सामान्य जनताले, महिलाले सुरूवात गरेको परम्परा होइन भन्ने माओको भनाई छ ।

कुनै कृति, किम्वदन्ति वा कथाका पात्रको पूजा गर्दा आफूमा पनि उनीहरूकै जस्तो क्षमता आओस् भन्नु जस्तो अज्ञानता अरू केही हुन्छ ? हुँदैन । आफू कस्तो बन्ने ? त्यो आफूमा र वातावरणमा भरपर्छ । जन्मोत्सव मनाउँदैमा दीर्घजीवन हुन्छ ? यो अर्को भ्रम हो ।

अन्त्यमा, माथि विमर्श गरिएका केही सन्दर्भलाई ठोस् विश्लेषण गर्दा यत्ति भन्न सकिन्छ कि जन्म आफैमा खुशीको कुरा हो । हरेक वर्षवृद्धिका अवसरमा धुमधाम गर्नैपर्छ, केक काट्नैपर्छ, फेशबुकमा फोटो राख्नैपर्ने त्यस्तो कुनै कारण देखिँदैन ।

तर, सञ्चार र प्रविधिको विकास र विस्तार अनि मानव स्वतन्त्रताको युग सुरू भएसँगै सबै मानिसहरू आफ्नो हैसियत अनुसार जन्मदिन मनाउन थालेको सत्यलाई नजरअन्दाज भने गर्न सकिन्न । चाँडवाँड जस्तै जन्मदिन पनि हुनेखाने र हुँदाखानेको जस्तो बन्ने पुगेको छ ।

विचार, सिद्धान्त, आन्दोलन, परिवर्तन जस्ता कुरामा स्पष्ट मान्छे यस्ता पूँजीवादी परम्परालाई स्मरण नै गर्दैन । चेतना भया ।

प्रतिक्रिया दिनुहोस्