काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको ठाडो आदेशमा दुई एसपीको सरुवा गरेपछि प्रहरी प्रधान कार्यालयले असन्तुष्टि जनाएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर मुलुकबाहिर रहेको बेला गृहमन्त्री श्रेष्ठको ठाडो आदेशमा प्रचण्डका पिएसओसमेत रहेका दुई एसपीलाई सरुवा गरिएको थियो ।
सामाजिक सद्भाव कायम गर्न नसकेको आरोपमा सर्लाही र बाँकेमा कार्यरत एसपीको कार्यक्षमता कमजोर रहेको आरोपमा सरुवा गरिएको थियो । बाँके र सर्लाहीका प्रहरी प्रमुखको सरुवा गरेर सामाजिक सद्भाव कायम गर्न नसकेको आरोप लगाएको छ । पछिल्लो समय धार्मिक सद्भाव कायम राख्न नसकेको भन्दै बाँकेका एसपी सन्तोषसिंह राठोर र सर्लाहीका एसपी नरेशराज सुवेदीको काज सरुवा गरिएको हो । राठोरको ठाउँमा सुवासचन्द्र बोहरा र सुवेदीको ठाउँमा प्रवीण धिताललाई पठाइएको छ ।
सरुवा गरिएका राठोर र सुवेदी दुवै जना यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षा गार्डको रुपमा खटिएका थिए । दुवै एसपीको प्रचण्ड परिवारसँग राम्रो सम्बन्ध रहेको छ । उनीहरुलाई एक वर्ष पनि नपुगी कार्यस्थलबाट फिर्ता गरिएको हो ।
गृहमन्त्रीका अघोषित सल्लाहकार रहेका पूर्वएआइजी विरेन्द्रबाबु श्रेष्ठको सिफारिसमा धिताल र बोहोरालाई त्यहाँ पठाइएको हो । स्रोतका अनुसार बाँके र सर्लाहीका एसपीलाई त्यही राख्न प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहालले पटक पटक अनुरोध गर्दा पनि नारायणकाजी श्रेष्ठले अटेर गरेको स्रोतको दाबी छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्हालेको गृह प्रशासनमा अहिले अवैध सरुवा बढुवा र आफ्ना मान्छे सेटलको काम भइरहेको स्रोतको दाबी छ । गृहमन्त्रीले सुशासनको कुरा गरेपनि उनीनिकट रहेका कार्यकर्ताहरूले प्रहरीको सरुवामा चलखेल गरिरहेका छन् । विभिन्न घटनामा यसअघि भएका निर्णयलाई उल्ट्याएर आफ्ना मान्छे सरुवा गर्ने गरिएको छ । गृहमन्त्रीकै सचिवालयबाट सोर्स लगाएर कास्कीको वडा प्रहरी कार्यालय बैदाममा डिएसपीको सरुवा गरिएको छ ।