काठमाडौं । पैसा भनेपछि महादेवको तीन नेत्र पनि खुल्छ भन्छन्, प्रधानमन्त्री, मन्त्रीहरुको नखुल्ने कुरै भएन । जताततै आर्थिक मन्दीको चर्चा चलिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पर्यटनमन्त्री सुदन किरातीलाई सिंगापुरबाट २०–२५ अर्ब भित्र्याउन पाए हुन्थ्यो भन्ने चिन्ताले पिरोलेको छ । त्यही रकम भित्र्याउन लारक्याल लामालाई लुम्विनी विकास कोषको उपाध्यक्ष बनाइएको अनुमान छ ।
विदेशीहरु पनि नेपालीभन्दा धेरै चलाख भइसकेका छन् । आफ्नो स्वार्थ पूरा गर्न विदेशीहरुले सत्तानिकट बिचौलियाहरुलाई कसरी प्रयोग गर्छन् भन्ने कुराको एउटा उदाहरण बुद्धको मावली गाउँ रामग्राम हो । त्यहाँ विदेशीले २०, २५ अर्ब लगानी गर्ने प्रस्ताव पर्यटन मन्त्रालयमा पठाएको छ ।
समाचार स्रोतका अनुसार प्रचण्डका घरबेटी भनेर चर्चित ठेकेदार शारदाप्रसाद अधिकारीमार्फत उक्त प्रस्ताव बालुवाटार हुँदै पर्यटन मन्त्रालय पठाइएको हो । उक्त प्रस्तावमा प्रधानमन्त्रीलाई अधिकारीले मनाइसकेका छन् भने पर्यटनमन्त्री किराती एमयुओ गर्न खुट्टा उचालिरहेका छन् ।
स्रोतका अनुसार ठेकेदार अधिकारीको छोरा निकेश अधिकारी संलग्न प्रमेश ल्याण्ड प्रालिले उक्त प्रस्ताव बुझाएको हो । यसको पछाडि मोक्ष फाउन्डेशन छ भनिन्छ । मोक्ष फाउन्डेशन कस्तो संस्था हो र उसले यति धेरै रकम रामग्राममा किन लगानी गर्न खोज्दैछ भन्ने कुरा चासोकोे विषय बनेको छ ।
लुम्विनी विकास कोषअन्तर्गत रहेको रामग्राम पुरातात्विक महत्वको ठाउँ हो । यस ठाउँको विकासका नाममा विदेशीहरु भित्र्याउँदा त्यसले कस्तो असर गर्छ भन्ने कुरा सोच्नु पर्छ । तर सरकार जसरी भए पनि २०, २५ अर्ब ल्याउन हतारिएकोले यसमा सरकारको पनि नियत ठिक देखिन्न ।
हचुवाको भरमा कमिशनको प्रलोभनमा सिंगो रामग्राम विदेशीलाई सुम्पदा भोलिका दिनमा तारागाउँ विकास समितिको हालत व्यहोर्नुपर्ने कुरालाई समयमै ध्यान दिनुपर्छ । कमिशन आउँछ भन्दैमा बुद्धिभूमि विदेशीलाई सुम्पन हतारिनु हुँदैन ।