Logo
Logo

भैरहवाका दर्जनौं सिमेन्ट उद्योग बन्द, बैंकको ब्याज कसरी तिर्ने ? व्यापारीलाई तनाब


171.2k
Shares

भैरहवा । रुपन्देहीको भैरहवा–लुम्बिनी सडकखण्डमा दर्जन ठूला उद्योग छन् । दुई दर्जन बढी साना उद्योग छन् । तर, यस कोरिडोरमा रहेका ठूला उद्योगमध्ये आधाले उत्पादन बन्द गरेका छन् भने बाँकी उद्योग क्षमताको २०–४० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । ‘बन्द गरौं की के गरौं भन्ने दोधारमा हामी छौं’, सिद्धार्थ सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक रोहितकुमार अग्रवालले दृष्टिसँग भने, ‘मार्केट सिथिल छ, विक्री छैन । बजार चलायमान नहुँदा हामी जस्ता धेरै उद्योगी संकटमा छन् ।’

सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्षसमेत रहेका अग्रवालले विकास निर्माण ठप्प हुँदा, ठेकेदारले भुक्तानी नपाउँदा र उपभोक्ताको खर्च गर्नसक्ने क्षमता खस्कँदै जाँदा सबै क्षेत्रमा निरासा छाउँदै गएको बताए । उनका अनुसार अहिले सिद्धार्थ सिमेन्टले ४० प्रतिशत हाराहारी क्षमतामा उद्योग चलाएको छ ।

यही कोरिडोरमा रहेको रिलायन्स पेपर मिल्स् बन्द भएको वर्षदिन भयो । ‘राज्यको उद्योगमैत्री नीति भएन, कर असुल्ने तर सुविधा नदिँदा उद्योगलाई निरन्तर चलाउन सकिएन । त्यसपछि बन्द नै गर्यौं’, सञ्चालक श्यामसुन्दर अग्रवालले भने, ‘विकल्पका व्यवसायमा लगानी गर्ने सोंच अघि बढाएका छौं ।’ उद्योग बन्द भएपछि उनले भैरहवामा मिठाइ पसल खोलेका छन् ।

पेपर मिल्सको छेउमै रहेको रिलायन्स सिमेन्ट इण्डष्ट्रिज पनि बन्द जस्तै छ । बजारमा रहेको उधारो रकम उठाउनकै लागि उद्योग कहिलेकाँही खोले पनि सञ्चालनमा छैन । लुम्बिनी कोरिडोरमा रहेको गोयन्का सिमेन्ट पनि बन्द भएको छ । गोयन्का स्टिल्स् पनि बन्द हुने क्रममा छ ।

यही कोरिडोरमा रहेका नेपाल अम्बुजा सिमेन्ट, वृज सिमेन्ट इण्डष्ट्रिज, जगदम्बा सिमेन्ट, पाठक सिमेन्ट, सुप्रिम सिमेन्टले क्षमताको आधा पनि उत्पादन गरिरहेका छैनन् ।

अर्घाखाँची सिमेन्ट र अम्बे स्टील्स् क्षमताको आधा मात्रै उत्पादन गरिरहेका छन् । ‘सबैतिर मन्दी छ, राज्यले व्यवसायी मैत्री नीति लिएन, अप्ठ्यारो कतैबाट सहयोग छैन, कसरी निजी क्षेत्र तंग्रिन सक्छ’, अर्घाखाँची सिमेन्टका संचालक एवं नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले भने, ‘अबको ६ महिना मुलुकको आर्थिक अवस्था यस्तै रहे अलिअलि चलेका उद्योग पनि बन्द हुन्छन् ।’

बैंकको चर्को ब्याज, कोरोना महामारी, सरकारी नीतिले उद्योग–व्यवसाय धरासायी हुने अवस्थामा पुगेको व्यवसायी बताउँछन् । ‘बैंकले ब्याज छाड्दैन, केही समय रोक भन्दा मान्दैन, सरकारले यसमा न सहजीकरण गर्छ, न त उद्योगीलाई राहत नै दिन्छ, यस्तो अवस्थामा मुलुकको आर्थिक अवस्था कता जान्छ ?’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सरकारसँग प्रश्न गर्दै भने, ‘निजी क्षेत्र डुबे मुलुक डुब्छ, त्यसैले सरकारले पहिला उद्योगी व्यवसायीलाई बचाउनु प¥यो ।’

लुम्बिनी कोरिडोरमा रहेका साना उद्योगका अवस्था पनि उस्तै । केही बन्द भइसकेका छन् भने चलेका पनि मुनाफा कमाउन सकेका त छैनन् नै कर्मचारी पाल्नसमेत धौंधौंमा छन् । लुम्बिनी कोरिडोरका सानाठूला उद्योगमा मात्रै एक खर्ब लगानी रहेको दावी उद्योगीको छ ।

करिडोरमा उद्योगले मात्रै १० हजार बढीलाई रोजगारी दिएका थिए । अहिले धमाधम उद्योग बन्दा हुँदा उद्योगमा काम गरिरहेका मजदुरदेखि माथिल्लो तहका कर्मचारी आधा बढी बेरोजगार बनेका छन् ।

कोरिडोर क्षेत्र मात्रै होइन्, भैरहवा, बुटवल जस्ता ठूला सहरी क्षेत्रको अवस्था र त्यहाँ संचालित व्यवसायको कहानी पनि उस्तै छ । धमाधम सटरहरु खाली भइरहेका छन् । व्यवसाय गर्दै आएका विदेश पलायन हुन थालेका छन् ।

‘बैंकले ब्याज छाड्दैन, केही समय रोक भन्दा मान्दैन, सरकारले यसमा न सहजीकरण गर्छ, न त उद्योगीलाई राहत नै दिन्छ, यस्तो अवस्थामा मुलुकको आर्थिक अवस्था कता जान्छ ?’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सरकारसँग प्रश्न गर्दै भने, ‘निजी क्षेत्र डुबे मुलुक डुब्छ, त्यसैले सरकारले पहिला उद्योगी व्यवसायीलाई बचाउनु प¥यो ।’

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालका अनुसार बुटवलका मुख्य ब्यापारिक र भित्री क्षेत्रमा पछिल्लो ५ महिनामा ३–४ सटर खाली भइसकेका छन् । ‘विक्री नभएपछि र लगानीको प्रतिफल नपाएपछि कसले व्यवसाय गर्छ’, उनले भने, ‘दिनभरी पसल रुघेर बस्दा पनि एकजना ग्राहक नआएपछि व्यवसायी पलायन हुनुको विकल्प छैन ।’

भैरहवाको अवस्था पनि उही हो । बुद्धचोक, देवकोटाचोक, बैंकरोड, नारायणस्थान लगायतका ठाउँमा धमाधम विगतमा व्यापार गर्दै आएकाहरुले छाडेर पलायन भएका छन् । व्यवसाय छाडेर पलायन हुनेमा सबै किसिमका व्यवसायी छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर भैरहवामा पर्यटन क्षेत्रमा मात्रै ३५–४० अर्ब लगानी भएको छ । सानादेखि तारे होटलसम्म यहाँ खुलेका छन् । तर, अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा व्यवसायी बैंकको ब्याज तिर्न नसकेर तनावमा छन् ।

‘उद्घाटन भएको डेढ वर्ष भयो, विमानस्थलमा एउटा पनि अन्तर्राष्ट्रिय उडान नियमित छैन, होटल तथा रेष्टुरेन्ट सुनसान छन्, कसरी बैंकको ब्याज तिर्ने, लगानी सबै बालुवामा पानी जस्तै भयो’, पर्यटन व्यवसायी भोजबहादुर खत्रीले भने, ‘सरकारले हाम्रो समस्या बुझेर समाधान गर्दैन भने तालाचाबी बुझाउनु पर्ने स्थिति नआउला भन्न सकिँदैन ।’

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्र उठ्नै नसक्ने गरी धरासायी हुने अवस्थामा पुगेको बताए । ‘सरकार निजी क्षेत्रको साथमा देखिएन’, उनले भने, ‘हाम्रो पीरमर्का कसैले सुन्दैन, समस्या जहाँका त्यही छन् । बैंकले लखेटेको लखेट्यै छ, सरकारले सहुलियत दिँदैन, निर्माण कार्य ठप्पछ, ठेकेदारले भुक्तानी पाएका छैनन् । बजारमा पैसा छैन । सबै क्षेत्र सुनसान छ ।’

प्रतिक्रिया दिनुहोस्