चितवन, १९ माघ । एक महिनासम्म पनि प्रहरी प्रधान कार्यालयले चितवनमा एसपी खटाएको छैन । जसका कारण निमित्त प्रहरी प्रमुख डीएसपी एकनारायण कोइरालाको असुली बढेको छ । गएको पुस १८ मा चितवनका एसपी दानबहादुर मल्ल रमाना बुझेर हिंडेपछि निमित्त प्रहरी प्रमुखको रुपमा एकनारायण कोइरालाले काम गर्दैआएका छन् ।
निमित्त प्रमुख कोइरालाले एसपी नआएको समयलाई कमाउने अवसरका रुपमा उपयोग गरेका छन् । यौनदुब्यर्वहारका उजुरीमा मिलापत्र गराएर समेत डीएसपी कोइरालाले घुस लिने गरेको आरोप छ । नारायणगढको शहीदचोकभित्र अर्पिता शृंगार पसलका संचालक विमल श्रीवास्तवसँग डीएसपी कोइरालाकै निर्देशनमा घुस असुली मिलापत्र गराइएको छ । जसमा पीडित भनिएकी बिमला थोकर(नाम परिवर्तन)लाई ३ लाख रुपैयाँमा मिल्न दबाब दिएर वडा प्रहरी कार्यालय नारायणगढका सई रविराज ढकाल र कुलप्रसाद अधिकारीले ५ लाख घुस लिएको कुरा प्रहरी कार्यालयभित्रै चर्चा हुने गरेको छ ।
श्रीवास्तवको पसलमा केही युवती काम गर्दैआएका थिए । तिनमा विमलासँग उनको हिमचिम बढ्यो । हिमचिम मायाप्रेममा बदलियो । तर त्यो मायाप्रेम धेरै टिकेन, तीन चार महिनामा उनीहरुबीच झगडा भयो । बिमलाले श्रीवास्तवबिरुद्ध शुक्रबार प्रहरीमा बलात्कार गरेको जाहेरी दिइन् । जाहेरी परेपछि वडा प्रहरी कार्यालय नारायणगढका सई ढकाल र अधिकारीले श्रीवास्तवलाई शनिबार पक्राउ गरे । पक्राउ गरिसकेपछि श्रीवास्तवसँग मोलमोलाई गरी ३ लाख बिमलालाई दिनेगरी प्रहरीले ५ लाख घुस लिएर छाडेको स्रोतको दाबी छ । डीएसपी कोइरालाकै निर्देशनमा सई ढकाल र अधिकारीले श्रीवास्तवबाट उक्त घुस असुली गरी छाडेको स्रोत बताउँछ । स्रोतका अनुसार दिनमा २ देखि ३ वटासम्म यौन दुब्यर्वहारका जाहेरी नारायणगढमा वडा प्रहरीमा पर्ने गरेको र प्रायः सबैमा डीएसपीको निर्देशनमा प्रहरीले घुस असुल्दै छाड्ने गरिएको छ ।श्रीवास्तवलाई पक्राउ गरेको दिन शनिबार वडा प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर रविनबाबु रेग्मी बिदामा थिए ।
चितवनमा एसपी नभएको अवसरलाई डीएसपी कोइरालाले कमाउधन्दामा परिणत गरेको श्रीवास्तव एक दृष्टान्त मात्र हुन् । चितवनका हरेक चोक चोकमा प्रहरीको घुस असुलीले सीमा नै नाघेको चर्चा हुने गरेको छ । डीएसपी कोइरालाले सिपाही श्याम घिमिरेलाई घुमुवाका रुपमा परिचालन गरी ५० ग्राम, १ सय ग्राम लागूऔषध भेटिए पनि पक्राउ नगरी १० हजार घुस असुली छाड्ने गरेका छन् ।
शिवघाटदेखि तलका नारायणगढका होटलबाट पैसा उठाउन पनि तिनै घिमिरेलाई नै खटाइएको छ । उनले डीएसपी कोइरालाको आदेश भन्दै दररेट तोकेर असुली गर्ने गरेका छन् । जिल्लामा दुई वटा डीएसपीको दरबन्दी भए पनि अर्का डीएसपी शालीग्राम शर्मालाई यसअघिका एसपी दानबहादुर मल्लसँग मिलेर कोइरालाले नै सरुवा गराएका थिए । मल्ल र कोइराला मिलेर असुली गरेको बिषयमा शर्मा बाधक भएपछि उनलाई सरुवा भएर जाने परिस्थिति निर्माण गरिएको थियो ।
डीएसपी कोइरालाले विगतमा एसपी मल्लकै जस्तो प्रत्येक चौकीका इन्चार्जबाट रकम तोकेर बुझाउने निर्देशन दिएका छन् । कोइरालाले भनेअनुसार घुस नदिनेलाई एक महिना पनि नपुगी उनले तानेर अर्कोलाई इन्चार्ज बनाएर पठाउने क्रमलाई निरन्तरता दिएका छन् ।
उनले रामनगर, पदमपुर, लोथर, जुगेडी, गोन्द्राङ, पारस बसपार्क, बछ्यौली चौकीमा टेण्डर बुझाउनेहरुलाई मात्र पठाएका छन् । जुन एसपी मल्ल हुँदा गर्दैआएका थिए । उनले मल्लले जस्तै असई इन्चार्ज हुने चौकीको २५ हजार र सई इन्चार्ज हुने चौकीबाट ५० हजार मासिक दिनुपर्ने दर राखेका छन् । चनौली र सौराहामा इन्चार्ज खटाउँदा पनि पैसा असुली गरेको आरोप कोइरालामाथि छ ।