Logo
Logo

सचिव बढुवामा को-को छन् ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २१ माघ । माघ २२ गतेदेखि पाँच सचिव खाली हुँदैछन् । माघ २२ मा गृहमन्त्रालयका सचिव प्रेमकुमार राई, अर्थ मन्त्रालयका सचिव राजन खनाल, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य र नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुर अवकाश हुँदैछन् । यसअघि पुस २१ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव अनिल ठाकुरको अवकाश भइसकेको छ । ठाकुरको अवकाशपछि रिक्त सचिव पदमा वढुवा सिफारिस समितिको हालै बसेको बैठकले बरिष्ठताका आधारमा तीन सहसचिवको नाम सिफारिस गरेको छ ।

सिफारिस भएकामा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराई, ५ नम्बर प्रदेश मन्त्रिपरिषदका सचिव टेकनारायण पाण्डे र बाबुराम पौडेल रहेका छन् । तर सिफारिसमा परेका पौडेलको अवकाश भइसकेको छ । सचिव बढुवा सिफारिस समितिले एक सचिवका लागि तीन जनाको नाम सिफारिस गरेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस भएका तीनमध्ये एक नम्बरमा रहेका दिनेश भट्टराईलाई सचिवमा बढुवा गर्ने छ । माघ २२ गते अवकाश हुने तीन सचिवमध्ये प्रशासन समूहका राई, आचार्य र खनालको सिटमा एकनारायण अर्याल, रामशरण पुडासैनी, टेकनारायण पाण्डेको बढुवा हुनेछ । अर्याल कलकत्ताका महाबाणिज्यदूत छन् । पुडासैनी अर्थमन्त्रालयमा कार्यरत छन् । सरकारले हिजो सोमबार महेश्वर न्यौपानेलाई गृहसचिवमा सरुवा गरेको छ ।

गजेन्द्र ठाकुर अवकाश भएपछि रिक्त पदमा सहरी विकास मन्त्रालयका सहसचिव सागर राई, पर्यटन मन्त्रालयका सुरेश आचार्य र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रामकृष्ण सापकोटा सचिव बढुवाका दाबेदार हुन् ।

आगामी ६ महिनाभित्र ५ सचिव अवकाशको क्रममा छन् । चैत १ मा सुद्ूर पश्चिम प्रदेशका प्रमुख सचिव बालकृष्ण घिमिरे अवकाश हुँदैछन् । त्यस पदमा अर्जुनकुमार पोखरेल बढुवा हुनेछन् । २०७७ जेठ १ मा सूचना तथा संचार प्रविधि सचिव दीपक सुवेदी अवकाश हुनेछन् भने जेठ ७ मा श्रम सचिव विनोद केसी, जेठ १७ मा शिक्षा सचिव महेशप्रसाद दाहाल अवकाश हुँदैछन् ।

 

प्रतिक्रिया दिनुहोस्