Logo
Logo

एनआईसी एशिया र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानीसम्बन्धी समझदारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्तालगायत विभिन्न शुल्क बुझाउन सकिने गरी दुई कम्पनीबीच समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गर्नुभयो । बैंकले डिजिटल भुक्तानीलाई व्यापकता दिँदै आइरहेकामा पछिल्लोपटक सूर्या लाइफ इन्स्योरेन्ससँगको समझदारीले ग्राहक थप लाभान्वित हुने भएका छन् । उक्त समझदारीअनुसार सूर्या लाइफका ग्राहकले यस बैंकका क्यू आर कोड, कोड पिएसओ, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङलगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरुको प्रयोग गरी रकम भुक्तानी गर्न सक्नेछन् ।

समझदारीपश्चात सेवाग्राहीले ठूलो नगद रकम बोक्ने झन्झटबाट मुक्ति पाउनुहुनेछ भने भीड रहित र सरल सेवा पनि प्राप्त गर्न सक्नुहुनेछ । साथै, आगामी दिनहरुमा बैंकले संचालनमा ल्याउने इन्टरनेट भुक्तानी गेटवेलगायत अन्य डिजिटल सेवासमेत सूर्या लाइफ इन्स्योरेन्सका ग्राहकलाई उपलब्ध गराइनेछ । विश्वमा बैंकहरुले डिजिटल सेवालाई जोड दिइरहेकोमा एन आइ सी एशियाले पनि यसै गरि डिजिटल भुक्तानीलाई बढाउँदै लैजाने जनाइएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४१ एटिएम, १०४ वटा एक्स्टेन्सन काउण्टर एवं ४८ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्