एजेन्सी । मान्छेका शोख पनि अनेक । चर्चामा आउन कोही लाखौं, करोडौं रुपैयाँ खर्चेर कुकुर बन्छन् त कोही विरालो । हाल सामाजिक सञ्जालमा यस्तै एउटा युवतीको भिडिओ भाइरल भइरहेको छ । जसमा उनी विरालोजीस्तै देखिएकी छन् ।
हाल इटालीको रोममा बस्ने कियारा डेल एबेट नामकी २२ वर्षीया युवतीले करोडौं रकम खर्च गरेर आफ्नो अनुहारलाई ठ्याक्कै बिरालोजस्तै बनाएकी छिन् । न्युयोर्क पोस्टका अनुसार उनले बिरालोजस्तै बन्नका लागि अनुहारमा २० वटा परिवर्तन गराएकी छिन् ।
एबेटको सानैदेखिको सपना बिरालो जस्तै बन्ने थियो । सोही शोखलाई पूरा गर्नका लागि उनले आफ्नो अनुहार यसरी परिवर्तन गराएकी हुन् । उनले ११ वर्षको उमेरदेखि नै शरीरमा यस्तो बदलाव सुरु गरेकी थिइन् । ११ वर्षको हुँदा नै उनले पहिलोपटक पियरसिङ र स्ट्रेचिङ गराएकी थिइन् ।
त्यसको पाँच वर्षमा उनले सरीरमा ७२ पटक पियरसिङ गराइन् । उनले आफ्नो जिब्रोको अगाडिको भागलाई चिरेर दुई हाँगा बनाएकी छिन् । टाउकोमा पनि मोडिफाइ गरेर दुईवटा सिङ निकालेकी छिन्, जुन बिरालेको कानजस्तै देखिन्छ । यसका साथै उनको टाउको तथा नाकमा पनि धेरै वटा पियरसिङ छन् ।
परेलाको मुनिबाट अतिरिक्त बोसो तथा छाला निकाल्नका लागि उनले कस्मेटिक सर्जरी गरेकी छिन् । उनले आफ्ना दुवै आँखामा पनि टाटु बनाएकी छिन् । समाचारका अनुसार कियारा आफ्नो बिरालोरुपी अनुहारसँग एकदम खुसी छिन् । यसमा उनलाई कुनै पनि समस्या छैन ।
‘मानिसको शरीर कति बदलिन सक्छ अर्थात् तपाईंले वास्तवमा शारीरिक बदलावबाट के हासिल गर्न सक्नुहुन्छ भन्ने कुरा आफैले हेर्नु वास्तवमै पागलपन हो । मलाई लाग्छ कि बिरालो नारी बन्नु मेरो लागि निकै सही छ । किनकि वास्त्वमा एक कार्टुन पात्रको रुपमा देखिन म चाहन्नथें,’ उनले भनेकी छन् ।
उनले आफूलाई बाल्यकालदेखि नै बिरालो निकै मन पर्ने र शारीरिक बदलावबाट क्याट लेडी बन्न सक्छु भन्ने हिम्मत पनि भएकाले त्यसरी परिवर्तन भएको बताएकी छन् ।