Logo
Logo

सेनाका उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा


17.8k
Shares

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । उमेर विवादमा छानविन सुरु भएपछि उनले बिहीबार प्रधानसेनापति प्रभुराम शर्मालाई राजीनामा बुझाएका हुन् ।

उनलाई जंगी अड्डाले केही दिनअघि रथीमा बढुवाका लागि सिफारिस गरेको थियो । तर, उमेर विवाद पेचिलो बन्दै गएपछि उनले बिहीबार प्रधानसेनापति शर्मासमक्ष राजीनामा बुझाएको स्रोतले जानकारी दियो ।

सैनिक स्रोतका अनुसार बिहीबार राति सेनाको कानुन हेर्ने प्राड विवाकले उपरथी पाण्डेको उमेर विवादको विषयमा छलफल समेत गरेको थियो । उक्त छलफलपछि नैतिक दबावमा परेका पाण्डेले बिहीबारै राजीनामा दिएको स्रोत बताउँछ ।

उपरथी पाण्डेको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा जन्ममिति फरक परेको भन्दै बढुवा सिफारिसप्रति विभिन्न निकायमा उजुरीसमेत परेको थियो ।

पाण्डे २०४३ सालमा सेनाको अधिकृत क्याडेटमा भर्ना हुँदा उनको नागरिकता प्रमणपत्रमा जन्म मिति २३ मंसिर २०२३ उल्लेख छ । तर उनको शैक्षिक प्रमाणपत्रमा भने जन्ममिति १२ माघ २०२१ उल्लेख भएको विषय बाहिर आएपछि विवाद सुरु भएको थियो ।

पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ माघ १२ गते उल्लेख भएको तर उनले नागरिकतामा जन्म मिति सच्याएर २०२३ मंसिर १३ गते बनाएको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्