Logo
Logo

भिडियो खेलाएर किशोरी बेच्न खोज्ने प्रहरी फन्दामा


- दृष्टि न्युज/संवाददाता

0
Shares

गोरखा, २७ माघ । किशोरीलाई बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ वर्षीय भीमबहादुर ढकाल र सोही ठाउँका ३९ वर्षीय रामबाबु दुतराजलाई पक्राउ गरेको हो ।
यही माघ २४ गते ललाइफकाइ किशोरीलाई बिक्रीका लागि लगेको र बालिकाले शंका लागि भागेर घर फर्किएपछि घटना सार्वजनिक भएको गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । उनले भने, ‘एक किशोरीलाई भिडियोमा खेल्न राम्रो कमाइ हुन्छ भनेर २३ गते भिडियो समेत खिचेर २४ गते चितवनतर्फ लगेका रहेछन् । पछि उनी आफैँ भागी घर फर्किएर आमालाई घटनाबारे जानकारी गराएपछि सबै थाहा भयो ।’
पीडित किशोरीकी आामाले आफन्तसँगको सल्लाहमा ढकाल र दुतराजविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खतिवडाले बताए । ‘कक्षा ९ मा अध्ययनरत बालिकालाई तिम्रो उचाइ पनि रहेछ, हत्केला पनि राम्रो छ, चितवन गयौ भने भाग्य चम्किन्छ, रु एक करोड पाउँछौ भनेर लगेको पाइयो’, उनले भने ।
पीडित परिवारले दिएको जाहेरीको आधारमा घटनामा संलग्न दुवैलाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनेको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अभियुक्तलाई गाउँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध बेचबिखन तथा मानव ओसारपसार कसुरअन्तर्गत प्रहरीले अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्