काठमाडौं । अन्तर्राष्ट्रिय अदालतको न्यायाधीशमा पाँच न्यायकर्ता निर्वाचित भएका छन्।
सुरक्षा परिषद् र महासभाले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) को न्यायाधीशका रूपमा पाँचजना न्यायधीशलाई निर्वाचित न्यायाधीशहरूको स्थानमा चयन गरेको हो।
सुरक्षा परिषद् र महासभाले उम्मेद्वारहरूमा सहमति जनाएपछि प्रतिष्ठित न्यायविद् बोगदान–लुसियन ओरेस्कु रोमानिया, हिलारी चाल्र्सवर्थ अष्ट्रेलिया, सारा हल क्लेभल्याण्ड संयुक्त राज्य अमेरिका, जुआन म्यानुअल गोमेज रोब्लेडो भेर्डुज्को मेक्सिको; र डायर त्लादी दक्षिण अफ्रिकाका न्यायाधीश निर्वाचित भएका हुन्।
पाँचमध्ये अष्ट्रेलियाका चाल्र्सवर्थ पुनः निर्वाचित भएका हुन्। रसियाका किरिल गेभोर्जियनले पनि पुनः निर्वाचित हुने आश गरेपनि असफल भए। यस वर्ष पाँच पदका लागि नौ जनाको उम्मेदवारी परेको थियो।
रुसका गेभोर्जियनबाहेक, जाम्बियाका चालोका बियानी, इजिप्टका अहमद अमीन फथाल्ला र प्रजातान्त्रिक गणतन्त्र कंगोका एन्टोइन केसिया–म्बे मिन्डुआ – तीन अन्य दावेदारहरू पर्याप्त मत प्राप्त गर्न असफल भए।
संयुक्त राष्ट्र संघको प्रमुख न्यायिक अंग अन्तर्राष्ट्रिय न्यायालयको विधानअन्तर्गत, आईसीजे न्यायाधीशहरूको चयन सुरक्षा परिषद् र महासभामा गोप्य मतदानबाट हुन्छ। निर्वाचित हुनका लागि उम्मेदवारले दुवै सदनमा पूर्ण बहुमत प्राप्त गर्नुपर्छ।
दुई सदनमा मतदान एकैसाथ तर छुट्टाछुट्टै हुनुपर्छ। यस वर्ष महासभाले पहिलो चरणको मतदानमा निर्णायक परिणाम प्राप्त गरेको छ। तर, सुरक्षा परिषद्ले निर्णायक परिणाम प्राप्त गर्न पाँचौँ प्रयास गर्नुपरेको थियो।