Logo
Logo

रियो वर्षकै उत्कृष्ट कुकुर, बेस्ट हेन्डलर रोजलाई


441
Shares

काठमाडौं । नेपाल प्रहरीले वीरगन्जस्थित केनाइन शाखाबाट अपराध अनुसन्धानमा खटिँदै आएको रियो नाम गरेको कुकुरलाई वर्षको उत्कृष्ट घोषणा गरेको छ ।

गत असार २९ गते रौतहटको देवाही गोनाही नगरपालिका–६ का ३५ वर्षीय जगरनाथ साहको हत्या घटनामा सफल ‘ट्रयाक’ लिएको रियोलाई कुकुर तिहारका दिन आइतबार प्रहरीले उत्कृष्ट कुकुर घोषणा गरेको हो ।

आफ्नै घरमा सुतेका बेला धारिलो हतियार प्रयोग गरी हत्या गरिएको घटनाको सूचना पाएलगत्तै प्रहरीले रियोलाई घटनास्थलमा प्रयोग गरेको थियो ।

यस्तै, पर्साको जगरनाथपुरकी कान्तिदेवी मुखियाको हत्या घटनामा समेत प्रहरीले रियोलाई नै प्रयोग गरेको थियो । उक्त घटनामा रियोले शंकास्पद दुईजनालाई संकेत गरेको थियो । उक्त घटनाबारे प्रहरीले अझै अनुसन्धान गरिरहेको छ ।

त्यस्तै बेस्ट हेन्डलर महाराजगन्जस्थित केनाइन महाशाखाको बेल्जियम शेफर्ड रोजलाई दिइएको छ । साढे दुई वर्षीय रोजलाई पछिल्लो समय विभिन्न अपराध अनुसन्धानका घटना र प्रहरीले आयोजना गरेका प्रदर्शनमा प्रयोग गरिँदै आएको छ ।

गएको भदौ ३० गते काठमाडौंको गैरीगाँउमा चारजनाको सामूहिक हत्या गरिएको थियो । सो घटनामा प्रहरीले रोजलाई नै प्रयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्