बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताएका छन् ।
‘गाजाको स्थितिलाई चाँडै शान्त पार्न र मध्यपूर्वमा चाँडोभन्दा चाँडो शान्ति पुनःस्थापना गर्न मिलेर काम गरौँ’, बेइजिङमा प्यालेस्टिनी प्राधिकरण, इन्डोनेसिया, इजिप्ट, साउदी अरब र जोर्डनका विदेशमन्त्रीहरूलाई उनले भने, ‘गाजामा मानवीय विपत्ति देखापरेको छ, त्यहाँको अवस्थाले विश्वका सबै मुलुकलाई असर गर्छ, यसले मानवीय भावनाको सही र गलत तथा मानवताको तल्लो अवस्थामाथि प्रश्न उठाउँछ, विश्व समुदायले यो त्रासदीलाई बढ्नबाट रोक्न प्रभावकारी उपायमार्फत तत्काल कदम चल्नुपर्छ ।’
हमासले अक्टोबर ७ मा हमला गरेपछि इजराइलले गाजाको शासक हमासलाई नष्ट गर्ने वाचा गरेको छ । इजराइलमाथि हमासले गरेको अहिलेसम्मको सबैभन्दा भयानक उक्त हमलामा एक हजार दुई सय सर्वसाधारण मारिएका थिए । त्यस्तै हमासले दुई सय ४० जनालाई बन्धक बनाएको छ ।
इजराइलको लगातारको हवाई हमला र स्थल कारवाहीमा कम्तीमा १३ हजार मारिएको गाजास्थित हमास सरकारले बताएको छ । दुवै पक्षका मारिनेमा अधिकांश सर्वसाधारण छन् ।
चीनले आइतबार राति विदेशमन्त्रीहरूको प्रतिनिधिमण्डलको घोषणा गरेको थियो जसमा इस्लामिक सहयोग सङ्गठनका महासचिव पनि संलग्न छन् । बेइजिङले हालको प्यालेस्टिनी–इजराइल सङ्घर्षको न्यूनीकरणलाई प्रवर्द्धन गर्ने, सर्वसाधारणको सुरक्षा गर्ने र प्यालेस्टिनी मुद्दाको न्यायोचित समाधान गर्ने वार्ताको लक्ष्य रहेको बताएको छ ।
‘अरब र मुस्लिम मुलुकहरूको चीन असल मित्र र भाइ हो’, विदेशमन्त्री वाङले भने, ‘हामीले सधैँ अरब र मुस्लिम मुलुकहरूको वैध अधिकार र हितको दृढताका साथ रक्षा गरेका छौँ, साथै प्यालेस्टिनी जनताको वैध राष्ट्रिय अधिकार र हित पुनःस्थापित गर्ने प्रयासलाई सधैँ दृढताका साथ समर्थन गरेका छौँ ।’