Logo
Logo

आफू ढलेर देशको शिर उँचो पार्ने म्याक्सवेल


6.4k
Shares

काठमाडौं । तेस्रोपटक आईसीसी एकदिवसीय विश्वकप जित्ने भारतको सपना यसपटक पनि अधुरै रह्यो । घरेलु मैदानमा सानदार प्रदर्शन गरेपनि फाइनलमा भारत अष्ट्रेलियासँग ६ विकेटले पराजित हुन पुग्यो । 

घरेलु मैदान, लाखौं दर्शक, उत्कृष्ट लय, विश्वकपमा सर्वाधिक रन र विकेट लिने आफ्नो खेलाडी रहेपनि भारत फाइनलमा चुक्यो । आइतबार राति सम्पन्न नरेन्द्र मोदी स्टेडियम जितको लागि २ सय ४१ रनको समान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । 

उपाधि भिडन्त अघिसम्म भारतले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । फाइनलमा भने यी दुवै पक्षमा कमजोर साबित भयो । ब्याटिङ क्रममा भारतीय ब्याटरले ठूलो योगफल जोड्न सकेनन् । बलिङमा सुरुवाती तीन विकेट लिएपनि त्यसपछि मार्नुस र ट्रभिजको साझेदारी तोड्न सकेनन् । 

भारत शीर्षस्थानमा रहँदै सेमिफाइनल पुग्दा अष्ट्रेलिया भने तेस्रो स्थानमा रहेर अघि बढेको थियो । सेमिफाइनलमा भारतले न्युजिल्याण्डलाई सहजै हराउँदा अष्ट्रेलियाले दक्षिण अफ्रिकामाथि जित निकाल्न संघर्ष गर्नुपरेको थियो ।

उच्च लयमा भएकाले यसपटकको उपाधि भारतले जित्ने धेरैको विश्वास थियो । भारतले समूह चरणको शतप्रतिशत जित निकालेको थियो । भारत ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट देखिएको थियो । 

तर, नकआउट चरणमा उत्कृष्ट खेल्ने अस्ट्रेलियासामु भारत निरिह बन्यो । नकआउट चरणमा उत्कृष्ट प्रर्दशनकै गर्ने अष्ट्रेलियाको संस्कार नै बसेको छ । लिगमा जति खराब खेलेपनि नक आउटमा अष्ट्रेलिया आफ्नो लयमा आउँछ । 

म्याक्सवेलको त्यो दोहोरो शतक
अष्ट्रेलिया झन्डै समूह चरणबाटै आउट भएको थियो । तर, घाइते अलराउण्डर ग्लेन म्याक्सवेलले दोहोरो शतक प्रहार गरेपछि अष्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको थियो ।

अष्ट्रेलियाले समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग खेलेको थियो । जितको लागि २९२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाको सुरुवाती ब्याटिङ खराब थियो । अस्ट्रेलियाले चार विकेटको क्षतिमा जम्मा ४९ रन बनाउन सकेको अवस्थामा म्याक्सवेल मैदान प्रवेश गरेका थिए । यो बेला अस्ट्रेलियाका लागि जित असम्भवजस्तै थियो ।

त्यसमा पनि म्याक्सवेल अजमातुल्लाह ओमरजाईको ह्याट्रिक बल सामना गर्न आएका थिए । पहिलो बलमै भएको एलबीडब्यू अपिलले अष्ट्रेलियन फ्यानहरुलाई झन् झस्कायो । तर उनलाई डीआरसले जोगायो ।

तैपनि अष्ट्रेलियाको विकेट पतनको सिलसिला भने रोकिएन । अष्ट्रेलिया १८ ओभर ३ बलमा ९१ रन जोड्दा ७ विकेट गुमाएको खराब अवस्थामा थियो । जसले गर्दा अफगानिस्तानले सहज जित हात पार्ने सबैको अनुमान थियो । त्यसबेला म्याक्सवेल ‘कि गर कि मर’को स्थितिमा थिए । त्यसैमाथि घाइते । 

‘घाइते बाघ’ खतरनाक हुन्छ भन्थे । घाइते म्याक्सवेल त्यस्तै भएर निस्किए । म्याक्सवेललाई न अफगानिस्तानका बलरहरूले रोक्न सके । न त ढाड र जिउ दुखेको समस्याले नै । उनी उभिन नसकेर मैदानमै केही बेर ढले पनि । रन लिन पनि कुद्न नसक्ने भए । एकै स्थानमा उभिएर चौका र छक्का बर्साउन थाले ।

जितको लागि एक सय रन आवश्यक परेको बेला नै उनी दौडनका लागि सङ्घर्ष गर्नुपर्ने भइसकेका थिए । त्यो लक्ष्य ७५ मा झर्दा उनी शट खेल्नलाई मुस्किलले खुट्टा चलाउन सक्ने अवस्थामा थिए ।

तर त्यसले उनको खेललाई फरक पारेको देखिएन । उनले १२८ बलमा २०१ नटआउटको स्कोर बनाउँदै अष्ट्रेलियालाई सेमिफाइनल पुर्याएका थिए । खेलका दौरान घाइते बनेका म्याक्सवेलले २१ चौका र दश छक्का प्रहार गरेका थिए । 

यस खेलमा म्याक्सवेलले धेरै कीर्तिमान बनाए । उनी एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो अष्ट्रेलियन र समग्रमा ९ औं ब्याट्सम्यान बने । उनी दोहोरो सतक जोड्ने पहिलो गैरओपनर ब्याट्सम्यान पनि बने। म्याक्सवेलले एकदिवसीय क्रिकेटको रन चेजमा सर्वाधिक रन बनाए ।

अष्ट्रेलियाका लागि उच्चतम् व्यक्तिगत स्कोर र विश्वकपमा सबैभन्दा छिटो दोहोरो शतकको कीर्तिमान म्याक्सवेलको नाममा बन्यो ।

लिग चरणमा जोसँग हार्यो नकआउटमा उसैमाथि जित

अष्ट्रेलिया सुरुवाती दुई खेलमा हारेको थियो । त्यस हारले अष्ट्रेलियाका खेलाडीले धेरै आलोचना पनि खेप्नु पर्यो । समूह चरणको खेलमा अष्ट्रेलिया भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो । 

अष्ट्रेलिया समूह चरणको खेलमा जोसँग हार्यो सेमिफाइनल र फाइनमा उसैसँग पर्यो । प्रतियोगिताको पहिलो खेलमा अष्ट्रेलिया भारतसँग ६ विकेटले पराजित भएको थियो । 

समूह चरणमा भारत र अष्ट्रेलियाबीच गत असोज २१ गते भारतको चेन्नईमा भएको थियो । उक्त खेलमा टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रन बनाएको थियो । भारतले दुई सय रनको विजय लक्ष्य ४१ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १ सय ३४ रनले पराजित भएको थियो । गत असोज २५ गते भएको खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेटमा ३ सय ११ रन बनाएको थियो । जबाफी ब्याटिङ गरेको अष्ट्रेलिया १ सय ७७ रन अलआउट भएको थियो ।

गत कात्तिक ३० गते भएको सेमिफाइनलको खेलमा भने अष्ट्रेलियाले दक्षिण अफ्रिकामाथि ३ विकेटको जित निकालेको थियो । फाइनल प्रवेशको लागि दक्षिण अफ्रिकाले २१३ रनको लक्ष्य दिएको थियो, जसलाई अष्ट्रेलियाले अन्तिम १६ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टाएको थियो ।

फाइनलमा भारत दुवै पटक पराजित 
अहिलेसम्म भारत चारपटक एकदिवसीय क्रिकेटको फाइनल खेलेको छ । चारपटक फाइनल खेल्दा दुई जित र दुई हार बेहोरेको छ । फाइनमा दुबै पटक अष्ट्रेलियासँग नै हारेको छ । 

यसअघि सन २००३ मा उपाधिको लागि भारत र अष्ट्रेलिया भिडेको थियो । त्यसबेला भारत अष्ट्रेलियासँग २५ रनले पराजित भएको थियो । २० वर्षपछि भारतलाई बदला लिने अवसर मिलेको थियो । तर, भारत चुक्यो । यसपटक पनि भारत ६ विकेटले पराजित हुन पुग्यो । 

प्रतिक्रिया दिनुहोस्