काठमाडौं । विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमबार अर्मेनियाको येरेभान प्रस्थान गरेको छ ।
नोभेम्बर २३ देखि डिसेम्बर ४ तारिखसम्म हुने १६ वर्षमुनिको उमेरसमूहको प्रतियोगितामा पुरुष ७० केजीमा नुर्बु थेन्डुप शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । नुर्बुको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।
प्रशिक्षकमा लालबहादुर पौडेल रहेका छन् । त्यसअघि टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
विदाइका अवसरमा बक्सिङ महासंघका उपाध्यक्ष ओमनारायण श्रेष्ठले प्रतियोगितामा नुर्बुलाई एक ‘बाउट’ जितका लागि २५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे ।