काठमाडौं । बेलाबखत नेपाल आयल नियममा अनौठा गतिविधि हुने गरेका छन् । भारतीय आयल कर्पोरेशनले तेलको मूल्य पठाउँदा केही रुपैयाँ बढाएकामा नेपालमा भने समायोजनको नाममा ह्वात्तै मूल्य बढाएर सर्वसाधारणको चुल्होमा महँगीको मार पार्नेदेखि कहिले पेट्रोलपम्पलाई तेल वितरण नगरी सर्वसाधारणलाई दुःख दिने गरेका छन् ।
यसपल्टको तिहारमा पनि नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीको व्यवस्थापकीय कमजोरीका कारण देशका विभिन्न भागमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव बनाइएको थियो । निगममा पेट्रोल र डिजेल नभएर भएको नभई निगमले पेट्रोलपम्पहरुलाई तेल नदिएर कृत्रिम अभाव बनाइएको स्रोतले जनाएको छ ।
कर्मचारीको अभाव र चाड लागेको भन्दै निगमले तेल दिन रोकेपछि पोखरा, सुनसरी, भैरहवालगायतका पेट्रोलपम्पहरुले तेल दिन छाडेका छन् ।
अहिले पनि यी क्षेत्रमा निगमले तेल नदिएको भन्दै पम्पहरुले पर्याप्त तेल दिएका छैनन् । कतिपयले त पम्प नै बन्द गरेका छन् । देशका विभिन्न सहरबाट निगममा तेल नभएको गुनासो आउँदा पनि कार्यकारी निर्देशन थानीले वास्ता गरेका छैनन् । उनी भने त्यसलाई यो सामान्य घटनाक्रम हो भन्दै कानमा तेल हालेर बसेका छन् ।
निगमका भण्डारणमा भने पर्याप्त पेट्रोल र डिजेल रहेको छ । तिहारको केही दिन र तिहार सकिए पनि छठको कारण देखाएर निगमका अधिकांश डिपोले पम्पलाई तेल दिइएको थिएन । दशैँपछि तिहार बिदाका लागि भनेर निर्देशक थानीले निगमका महत्वपूर्ण विभागका निर्देशकहरूलाई विदेश घुम्न पठाएका थिए ।
काठमाडौँ र काठमाडौँबाहिर तेलको हाहाकार हुँदा नेपाल आयल निगमका उच्च अधिकारी भने विदेश घुमघाममा व्यस्त भएका थिए । अधिकांश विभागीय प्रमुखहरु इण्डोनेशियाको राजधानी बाली पुगेका थिए ।
निगम कर्मचारीका अनुसार निगमको योजना प्रशासन तथा मानव संशाधन विकास विभाग निर्देशक निर्मला आचार्य, योजना प्रशासन तथा मानव संशाधन विकास विभाग प्रबन्धक दीपकप्रसाद घिमिरे, योजना प्रशासन तथा मानव संशाधन विकास विभाग कार्यरत तथा नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियन ट्रेड युनियन अध्यक्ष तथा उपप्रबन्धक विकास बखती बालीमा घुुमघाम गरिरहेका थिए ।
यस्तै आपूर्ति तथा वितरण विभाग (एलपीजी ग्यास तथा एभिएशन विभाग) निर्देशक दीपक बराल, गुणस्तर नियन्त्रण तथा अनुगमन विभाग (आन्तरिक नियन्त्रण तथा अनुगमन विभाग)मा कार्यरत निर्देशक बिनी श्रेष्ठ र नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघ अध्यक्ष मधुमास पुन बाली घुमघाममा छन् । उनीहरूलाई बाली घुमघामको प्रबन्ध निगमका कार्यकारी निर्देशक उनै थानीले गरेका हुन् । उनीहरू गत नोभेम्बर १५ मा बाली गएका थिए ।
विभागीय प्रमुख नहुँदा यसको व्यवस्थापन कसरी गर्ने भन्ने अन्योल डिपोहरूमा थियो । कार्यकारी निर्देशक थानीको मनोमानीले पटक–पटक उपभोक्तासमेत मारमा परेका थिए । यसअघि डिजेल र पेट्रोलको मूल्य घटाउँदा पनि पम्पहरुले बिनाजानकारी मूल्य घटाएको भन्दै तेल बिक्री बन्द गरेका थिए । थानीले पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समायोजनमा आनाकानी गर्दै आएका छन् ।
भारतीय आयल निगमलाई तिर्ने बक्यौता धेरै रहेको बहाना बनाउँदै उनले लामो समय मूल्य घटेर आउँदा पनि समायोजन गर्न आनाकानी गर्दै आएका थिए ।