दृष्टि साप्ताहिकले आफ्नो चार दशक लामो यात्रा तय गरेको छ । यो लामो यात्रामा अनेकौँ आरोह–अवरोह, उकाली–ओराली, भञ्ज्याङ–चौतारी, नेटा–कुइनेटा पार गरेको दृष्टि आफैँ पनि इतिहासका अनेकौँ घटनाको साक्षी बसेको छ । कयौं घटनाको रिपोर्ताज गरेको छ, कयौं घटनाको शल्यक्रिया गर्दै समवेत दृष्टिकोण प्रस्तुत गरेको छ ।
यसो गर्दै जाँदा दृष्टि आफूमात्रै बदलिएको छैन, नेपालको राजनीतिक, सामाजिक, आर्थिक र धार्मिक स्वतन्त्रतालाई आजको रूपमा ल्याउन पनि दृष्टिको यथेष्ठ योगदान छ ।
दृष्टि यो अंकसँगै पाँचाँै दशकको यात्रामा छ । आज दृष्टि जहाँ छ, हिजोको इतिहासको विरासत लिएर उभिएको छ र भोलि जहाँ पुग्नेछ, त्यतिबेला पनि आजसहितको इतिहासको विरासत बोकेरै उभिने छ । ‘विगत हेर्न सकिन्छ, फेर्न सकिँदैन’, समयको यो नियतिको कठघरामा दृष्टि उभिन्छ नै, नउभिई धरै छैन । यसरी उभिने दृष्टि पहिलो पनि होइन र अन्तिम पनि हुँदैन ।
हिजोको दृष्टिको कुरा गरौँ । यो सुरू हुँदा निरंकुश, तानाशाही पञ्चायती व्यवस्था थियो । बोल्ने, लेख्नेलगायतको अभिव्यक्ति स्वतन्त्रताको अभ्यास तजबिजी थियो । सक्रिय राजतन्त्र भएको त्यतिबेला राजा र राजपरिवारका बारेमा टीका–टिप्पणी नै गर्न नपाइने संवैधानिक व्यवस्था थियो । त्यस्तो अवस्थामा दृष्टिमाथि राज्यविरुद्धको अभियोग लगाइएको थुप्रै उदाहरण छन् । ‘दृष्टि’ कार्यालय वरपर सादा पोशाकका प्रहरीहरुले पहरा दिन्थे । दृष्टिमा कार्यरत पत्रकारहरु कतिबेला पक्राउ पर्थे थाहै हुन्न थियो ।
दृष्टिसामु चुनौतीका अजंग पहाडहरू उभिएकै छन् । चुनौतीका ती पहाडलाई मैदानमा बदल्नु छ । यो काम सहज छैन । तर, चार दशकदेखि निरन्तर संघर्षरत दृष्टिलाई थाहा छ, ती चुनौतीका पहाड पन्छाएर अवसरको मैदान बनाउने अभिभारा फेरि पनि दृष्टिकै हो ।
देशभरि जासुसहरूको संयन्त्र बिछ्याइएको थियो, कोही पनि कुनै पनि बेला शान्ति सुरक्षामा असर पुर्याएको भन्दै गायब पारिने, पक्राउ पर्न सकिने अवस्था थियो । गाउँगाउँसम्मै पञ्च र पुलिस मिलेर राजाका नाममा निरंकुशतन्त्र चलाएका थिए । उनीहरूले जे भन्थे, त्यही कानुन हुन्थ्यो ।
सञ्चार माध्यमहरूको संख्या सीमित थियो । सरकारी सञ्चार माध्यममा एएम मात्र भएको रेडियो नेपाल, गोरखापत्र, दी राइजिङ नेपाल थिए भने निजी क्षेत्रमा सीमित संख्यामा राजधानी केन्द्रित छापामाध्यम थिए । मोफसलको पत्रकारिता नाममात्रको थियो । प्रविधि, पहुँच, मानव संशाधन र क्षमताको आधारमा त्यतिबेलाको पत्रकारिता एक किसिमको आदिम युगकै थियो भने पनि हुन्छ ।
त्यतिबेलाका पत्रपत्रिका या त पञ्चायत समर्थक हुन्थे या त पञ्चायतइतर समर्थक । पञ्चायत इतरमा पनि कांग्रेस समर्थक र कम्युनिष्ट समर्थक गरी दुई कित्तामा बाँडिएका हुन्थे । जसले पत्रिका दर्ता गथ्र्यो, उसले आफ्नै विचारको पक्षपोषण गथ्र्यो । पत्रिका दर्ता गर्न सजिलो थिएन, सम्पादक र प्रकाशकको राजनीतिक आस्था र पृष्ठभूमिको आधारमा दर्ता हुने र नहुने हुन्थ्यो । राजाका नाममा प्रशासन लगाएर पञ्चायतइतर पत्रपत्रिकालाई कुनै पनि बेला बन्द गराइदिन सक्थे । यो सबै अनुभवहरु पार गर्दै दृष्टि यहाँसम्म आइपुगेको छ ।
तर, जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ भनेझैं जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय पनि हुन्छ । राजाका नाममा अत्याचार बढेसँगै जनता पनि विस्तारै त्यसविरूद्ध संगठित हुँदै थिए । दलहरू भूमिगत भएर राजनीतिक अभियान सञ्चालन गरिरहेका थिए । ती अभियानलाई वाणी र गति दिन यो वा त्यो नामका पत्रपत्रिका निस्किरहेका हुन्थे । कुनै बन्द गरियो भने फेरि अर्को नाममा प्रकाशन सुरु हुन्थे ।
‘दृष्टि’ पनि त्यही क्रममा सुरु भएको पञ्चायतइतर त्यसमा पनि वामपन्थी खेमाको पक्षपोषण गर्ने एक मिशन पत्रिका हो । त्यसयताका चार दशक यो त्यही खेमामा रहेर निरन्तररूपमा त्यही मिशन पत्रकारिता गरिरहेको छ । यसको सुरुको मिशन जे थियो, रूपमा समयअनुसार परिवर्तन भए पनि सारमा परिवर्तन भएको छैन । यद्यपि, त्यसयता नेपालमा राजनीतिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, शैक्षिकलगायतका यावत क्षेत्रमा आनका तान परिवर्तन भएको छ ।
परिवर्तनको क्रममा राम्रा पनि हुन्छन्, नराम्रा पनि । यो परिवर्तनको शास्वत नियम नै हो । तर, सन्दर्भको कशीमा समयसापेक्ष भएर सोच्दा नेपालको परिवर्तन सकारात्मक दिशामै छ । यद्यपि, अधिकारमुखी सोचको स्कुलिङ र स्रोत र साधनसँग तालमेल नमिल्ने असीमित चाहनाको बीचमा परेको ठूलो खाल्डो पुर्न नसक्दा कतिपयलाई पुरानै ठीक लाग्न सक्छ ।
पञ्चायत र राजशाहीबाट पोसिएका र अहिले त्यो खोसिएकालाई त्यस्तो लाग्नु स्वाभाविक पनि हो । तर, आमजनताले के बुझ्न जरूरी छ भने आजको भन्दा हिजो कुनै पनि अर्थमा उम्दा थिएन । हिजो त्यस्तो थियो कि भन्ने लागेका कतिपय कुरा पनि आज भइसक्दा त्यस्तो नलाग्ने भइसकेका हुन्थे । सबै कुरा समय र स्थानले बनाउने सन्दर्भले निर्णय गर्ने कुरा हो । तर, हामी नेपालीमा नौ दिनमा नौलो र बीस दिनमा बिस्र्याे हुने आदतको रोग छ । यो एक किसिमको भ्रमको रोग हो । र, यसको निदान छैन ।
यसको अर्थ अहिले नेपालमा रामराज्य छ भन्ने होइन । तर, आजको विश्व जहाँ छ, शासन व्यवस्था, पद्धति र न्यूनतम मानवअधिकारका मुद्दामा नेपाल त्यहीँ छ, एक इञ्च पनि पछि छैन । यस कोणबाट हेर्दा नेपाल असान्दर्भिक भएको छैन, नेपालीले हीनतावोध गर्नुपर्ने अवस्था छैन ।
नेपालमा आवधिक निर्वाचनसहितको बहुदलीय लोकतन्त्र छ । अनेकौँ कमी–कमजोरीका बीच पनि यो शासन पद्धतिको विकल्प छैन । शासन पद्धतिको सन्दर्भमा आजको राजनीतिशास्त्रको पछिल्लो मुकाम यही नै हो । धेरैमा हुने भनेको लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो ।
दृष्टि आज पनि यही फ्रेमवर्कमा रहेर नेपाली जनताको सुसूचित हुने अधिकारको पक्षमा मिशन पत्रकारिता गरिरहेको छ । सत्तालाई कठघरामा उभ्याएर बेथिति, व्यविचारविरूद्ध प्रश्न गरिरहेको छ । ट्रेजरी बेञ्चमा होइन, विपक्षी बेञ्चमा रहेर आवाजविहीनलाई आवाज दिइरहेको छ । राज्यको चौथो अंगको एक जिम्मेवार सदस्यका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ ।
यसो गर्दा दृष्टि र यस्तो मिशन पत्रकारिता गर्नेहरू चौतर्फी घेराबन्दीमा छन् । एकातिर व्यावसायिक पत्रकारिताका नाममा ठूला कर्पोरेट हाउसहरू व्यापार गरिरहेका छन् । यिनीहरूलाई दृष्टिहरूले गरेको कठिनतम् मिशन पत्रकारिताले ल्याएको लोकतान्त्रिक बारीमा यो वा त्यो नामका विकासे आलु रोपेर बारी नै कब्जा गर्नु छ । यिनीहरूले गर्ने पत्रकारिता भनेको नाफाको व्यापार मात्र हो । जुन दिन नोक्सान हुन थाल्छ, त्यो दिन यिनीहरूले मिडिया हाउस नामका आ–आफ्ना दोकान बन्द गर्नेछन् ।
अर्कोतिर सामाजिक सञ्जाल, युट्युबलगायतका वैकल्पिक सञ्चारमाध्यम सूचनाको नाममा भ्रमको बिजारे लिएर आएका छन् । यही बीचमा नेपालमा केही नै हुँदैन र केही नै भएको छैन भन्ने खालको भाष्य निर्माण भएको छ । ‘पुराना जति सबै चोर हुन्, सबै सके’ भन्दै नयाँको महिमामण्डन र लोकरिझ्याइँको दमाहा बजाइएको छ । लाइक, भ्युज, टिआरपी आदिका नाममा जे–जस्तो पनि लेख्न, देखाउन सक्नेहरूको भीड छ । यसले अर्को खालको भ्रान्ति सिर्जना गरेर अराजक समाजको निर्माण गर्दैछ ।
अर्थात्, एकातिर पत्रकारिताको नाममा व्यापार, अर्कोतिर प्रविधि–सञ्चारको नाममा अराजकता । अहिले नेपालको जिम्मेवार पत्रकारिता यी दुई ऐझेरूहरूको मारमा छ । त्यसको मारमा परेर इतिहासमा अहम् योगदान गरेका कतिपय पत्रपत्रिकाको नामोनिशान नै मेटिसकेको छ । यद्यपि, दृष्टि सत्तिसालझँै उही मिशनका साथ पाँचौँ दशकको यात्रामा छ ।
कुनैबेला लेटर प्रेसबाट निस्कने दृष्टि आज रंगीन कलेबरसहित अत्याधुनिक अफसेट प्रविधिमा उपलब्ध छ । सात दिनमा निस्कने दृष्टि आज छिनछिनमा अनलाइन संस्करणमा आइरहेको छ । विशुद्ध वामपन्थी खेमा त्यो पनि एउटा पार्टी विशेषको नजिक रहेर मिशन पत्रकारिता गर्ने दृष्टिले त्यो घेरालाई फराकिलो बनाएको छ ।
यद्यपि, दृष्टिका सामु अझै पनि चुनौतीका अजंग पहाडहरू उभिएकै छन् । चुनौतीका ती पहाडलाई अवसरका मैदानमा बदल्नु छ । यो काम आफैँमा सहज छैन । तर, दृष्टिलाई थाहा छ, ती चुनौतीका पहाड पन्छाएर अवसरको मैदान बनाउने अभिभारा फेरि पनि दृष्टि र दृष्टिहरूकै हो । पत्रकारिताका नाममा आएका यी वा तीखाले फौबन्जारहरू त्यो चुनौती सामना गर्न आएकै होइनन् ।
यो स्तम्भकार विभिन्न कालखण्डमा विभिन्न जिम्मेवारी लिएर दृष्टि–यात्रामा जोडिएको छ । केही आरोह–अवरोह र तीता–मीठा अनुभव पनि छन् । यात्रा हो, त्यस्तो भैहाल्छ । तर जे भए पनि हाम्रो मिशन अहिले पनि एउटै छ । यो स्तम्भकार साँचो मनले समृद्ध नेपाल र सुखी नेपाली देख्न चाहन्छ । त्यसको पहिलो शर्त राजनीतिक स्थायित्व नै हो र त्यसका लागि नेपाल वैचारिक आधारमा वामपन्थी र दक्षिणपन्थी दुई ध्रुवमा ध्रुवीकरण नभई सम्भव नै छैन ।
यो स्तम्भकार सामाजिक न्यायको पक्षपाती हो र त्यसको मार्गचित्र वामपन्थ नै हो भन्ने उसको दृढ विश्वास छ । त्यही विश्वासका साथ सामाजिक न्यायको पक्षमा मिशन पत्रकारिता गरिरहन चाहन्छ । दृष्टि पनि यो मूलधाराबाट बाहिर छैन । यसैले यो स्तम्भकार परदेशमा रहेर पनि ‘बिलोम’ लिएर मंगलबार पाठकहरूसँग जोडिदै आएको छ र समयसन्दर्भ साथ दिएमा जोडिरहने प्रतिबद्धता व्यक्त गर्दछ ।
पाँचौँ दशकको यात्रामा निस्केको दृष्टिलाई सफलताको अगणित शुभकामना !