काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।
रुपन्देहीको भैरहवामा आजदेखि शुरु छैटौं लुम्विनी प्रादेशिक महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रको अर्वौ रुपैयाँ लगानी जोखिममा परेको बताए ।
उनले भने, ‘विमानस्थल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन, अहिले निजी क्षेत्रको मात्र हैन सरकारकै लगानी जोखिममा परेको छ ।’
विमानस्थल सञ्चालनसँगै गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकको आकर्षण केन्द्र बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
उनले भने, ‘विमानस्थल बनेपछि, व्यावसायिक गतिविधि बढ्ला भनेर आसपासमा करोडौं रुपैयाँ लगानी गरेकाहरुको लगानी जोखिममा परेको छ। यतातर्फ सरकार र सम्बन्धित सबै निकायको ध्यान जान जरुरी छ ।’
अर्को प्रसंगमा अध्यक्ष मल्लले सार्वजनिक निजी साझेदारीमार्फत भैरहवा सेजलाई सञ्चालनमा ल्याउनुपर्ने बताए। भैरहवा सेजमा उद्यमी व्यवसायीको सहभागिता गराउन विभिन्न नीतिगत समस्या रहेको उनको भनाइ छ।
यद्यपि, भैरहवा सेजमा साना तथा मझौला उद्यमी एवं घरेलु उत्पादनको प्रवद्र्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
मुलुककै सबैभन्दा धेरै राजश्व संकलन गर्ने भन्सार नाकामध्ये रुपन्देही पनि एउटा भएको भन्दै उनले खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई भने नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
रुपन्देहीमा स्थानीय उद्योग, व्यापार, कृषि तथा पर्यटकीय गतिविधि विस्तारका लागि महोत्सव निकै फलदायी भएकोे अध्यक्ष मल्लको भनाइ छ ।